सुनको मूल्य बढ्ने क्रममा ब्रेक, मंगलबार ५ सयले घटेर प्रतितोला ७५ हजार ५ सय, अझै घट्ला ?

काठमाडौं। एक सातादेखि निरन्तर उकालो लागेको सुनको मूल्य मंगलबार ५ सय रूपैयाँले घटेको छ। सोमबार ७६ हजार रूपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार प्रतितोला ७५ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै तेजाबी सुनको मूल्यमा ५ सय घटेर प्रतितोला ७५ हजार २ सय कायम भएको छ भने चाँदी २० रूपैयाँले घटेर ९ सय रूपैयाँ कायम भएको छ। इरान र अमेरिकाबीच जारी विवादका कारण सेयर बजारमा कमी आई लगानीकर्ता सुनतर्फ आकर्षित हुँदा निरन्तर उकालो लागेको सुनको मूल्य दुई देशबीच वार्ताको पहल सुरू भएसँगै  घटेको व्यवसायीले बताएका छन्। 

महासंघका अध्यक्ष मोहनकुमार सुनारका अनुसार दुई देश बीच जारी विवाद समाधानका लागि वार्ताको पहल सुरू भएको असर अन्तर्राष्ट्रिय बजारमा परेको हो। त्यसैले सुनको भाउ उकालो लाग्ने क्रममा ब्रेक लागेको देखिएको उनले बताए। सुनचाँदीको बजार भाउ घट्दै जानेमा व्यवसायी ढुक्क भने देखिएका छैनन् ।

स्रोत: bizmandu.com

You can share this post!