नेपाल र मलेसियामा एकैपटक मनाउँदैछन् भ्रमण वर्ष, मलेसियाबाट नेपालले के सिक्न सक्छ?

२९ वर्ष पहिले जब मलेशियामा पहिलोपटक ‘भिजिट मलेशिया इयर क्याम्पेन’ लञ्च भयो तत्कालीन प्रधानमन्त्री डा महाथिर मोहम्मदले उद्घोष गरेका थिए- ‘भविष्यमा पर्यटन क्षेत्र मलेशियाको महत्वपूर्ण उद्योग बन्नेछ।’

आज महाथिरले भनेको सत्य बनिसकेको छ। मलेशियाले पर्यटकीय हबका रूपमा विश्वको ध्यान आफूतिर तानिरहेको छ।

गत बुधबार दशरथ रंथशालामा भिजिट नेपाल २०२० को भब्य शुभारम्भ भयो। एशियाकै अर्को देश मलेशियाले पनि भिजिट मलेसिया २०२० सुरू गर्‍यो। धेरैभन्दा धेरै पर्यटक भित्र्याउने लक्ष्यका दृष्टिले सन् २०२० नेपालका लागि मात्र नभइ मलेशियाका लागि पनि महत्वपूर्ण वर्ष हो ।

नेपालमा पर्यटन बोर्ड नेतृत्वविहीन रहेको अवस्थामा चलचित्र नायक राजेश हमाललाई ब्राण्ड एम्बेसडर बनाएर सुरू गरिएको भिजिट नेपाल २०२० को तयारी मात्र होइन, शुभारम्भको इभेन्टबारे पर्यटन क्षेत्र सम्बद्धहरूले नै असन्तुष्टी पोखे।

शुभारम्भ कार्यक्रमलाई बढी औपचारिक बनाइएको तथा नयाँपन दिन नसकेको गुनासो रह्यो । दशरथ रंगशालामै भएपनि नेपालका घुम्न लायकका ठाउँहरुबारे पर्याप्त जानकारी सहितका स्टलहरू तथा खानाका परिकारहरू राखेर ‘टुरिजम फेस्टिवल’ का रूपमा भिजिट नेपाल २०२० को सुरुवात गर्न सकिन्थ्यो।  

Image result for visit nepal 2020 opening ceremony in kathmandu

सरकारसँग अझै पनि विदेशी पर्यटकहरूलाई नेपाल आउँदा २०२० मा दिने सुविधा वा प्याकेज के तयार छ भनेर सोध्दा प्रष्ट जवाफ छैन। नेपालसँग  भ्रमण वर्षका लागि पर्यटककलाई दिन कुनै पनि प्याकेज बनिसकेको छैन, जसका कारण उनीहरू यहाँ आउन लालायित होउन् ? पहिलो पर्यटकलाई टोपी खादा वा माला लगाएरमात्र भ्रमण वर्ष सफल हुन्छ ? वा भिजिट नेपाल लेखिएका टिसर्ट र क्याप लगाएर घुम्दैमा देश विदेशमा नेपालको पर्यटन प्रवर्द्धन हुन्छ ?

हालै नेपाल घुमेर त्रिभुवन विमानस्थलबाट बाहिरिएका पर्यटककले ट्वाइलेटबारे ब्यङ्ग्य गर्दै ट्वीट गरे- ‘काठमाडौं विमानस्थलको ट्वाइलेट प्रयोग गर्नु गल्ती भएछ। अब यो फोहोर पखाल्न अर्को २० वर्ष लाग्छ।’

देश टेक्ने पहिलो स्थल भनेकै विमानस्थल हो। यति ठूलो पर्यटकीय वर्ष मनाउँदा आकर्षक प्याकेजका त कुरै छाडौं अन्तर्राष्ट्रिय विमानस्थको शौचालयसमेत सफा नहुँदा पर्यटकले नेपालको कस्तो छवि बोकेर फिर्ता जालान् !

के गर्दैछ मलेशिया?

मलेशियामा ‘भिजिट मलेशिया’ लाई त्यहाँको सरकारले राष्ट्रिय अभियानका रुपमा नै मनाउन लागेको छ।

मलेशियामा प्रधानमन्त्री महाथिर मोहम्मदले ‘भिजिट ट्रुली एशिया मलेशिया २०२०’ थिमसहित भिजिट मलेशिया कार्यक्रमको लोगो सार्वजनिक गर्दा नै भनिसकेका छन्- ‘सन् २०२० मा मलेशियाको राष्ट्रिय मिसन नै अन्तर्राष्ट्रिय टुरिस्टहरूलाई आकर्षित गर्न सिंगो देश अघि बढ्ने छ।’

मलेशियाली सरकारले सन् २०२० मा तीन करोड अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। यसबाट उसले देशमा २५ अर्ब अमेरिकी डलर भित्रिने अपेक्षा गरेको छ।

त्यसैले ‘भिजिट मलेशिया’ का लागि चुस्त तयारी छ। मलेशियाले चीन र भारतका पर्यटकका लागि १५ दिने निःशुल्क पर्यटकीय भिसा प्रावधान नै ल्याएको छ।

यसबाट चीन र भारतका पर्यटकहरुले बढीमा १५ दिनका लागि इलेक्ट्रोनिक ट्राभल रजिस्ट्रेसन एण्ड इन्फर्मेसन सिस्टम प्रयोग गरी ब्यक्तिगत वा कुनै ट्राभल एजेन्सीको मद्दतले मलेशियामा प्रवेश गर्न पाउँछन्।

एकपटक यसमा रजिष्टर्ड भइसकेपछि पर्यटकले तीन महिना भित्र मलेशिया घुमिसक्नुपर्ने प्रावधान छ। १५ दिने निःशुल्क भिसाको अवधि लम्ब्याउन भने सकिँदैन। प्रवेश र वहिर्गमन आधिकारिक एयरपोर्ट र इमिग्रेसन कन्ट्रोल पोष्टबाटै हुनुपर्ने पनि कानुनी व्यवस्था गरिएको छ।  यो नयाँ व्यवस्थाबाट मलेशियाले  भारत र चीनबाट मात्रै थप ७ प्रतिशत पर्यटक भित्र्याउने अपेक्षा गरेको छ।

‘सन् २०१९ को जनवरीदेखि सेप्टेम्बरसम्म मलेशियामा २ करोड ४१ लाख पर्यटक चीनबाट र ५ लाख ३९ हजार १६७ पर्यटक भारतबाट आएका थिए,’ टुरिजम मलेशियाका डाइरेक्टर जनरल मुसा युसुफले सञ्चामाध्यमहरूमा भनेका छन्,  ‘सन् २०२० मा हामी ३ करोड २६ लाख चिनियाँ तथा ६ लाख ८३ हजार भारतीय पर्यटकले मलेशिया भ्रमण गर्ने गरी तयारी गरिरहेका छौं।’ मलेशियाले पर्यटकलाई आकर्षित गर्न नयाँ नयाँ गन्तब्यहरूको प्रवर्द्धन तथा नयाँ पुस्ताका पर्यटकहरूलाई आकर्षित गर्न चाहेको छ।

प्रतिष्पर्धी देश मानिएका फिलिपिन्स र थाइल्याण्डलाई चुनौतीका रूपमा लिँदै मलेशिया भारत र चीनका पर्यटकलाई आफूतिर तान्न प्रयासरत छ।

सन् २०१८ मा मलेशियाले २ करोड ५८ लाख पर्यटक भित्र्याएको थियो। सन् २०१९ को पहिलो ५ महिनामै त्यहाँ अन्तर्राष्ट्रिय पर्यटक ४.८ प्रतिशतले बढिसकेको थियो। सन् २०१९ को पहिलो त्रैमासको तथ्यांकले मलेशियाको कुल टुरिजम रेभेन्यू अघिल्लो वर्षभन्दा १६.९ प्रतिशतले बढेको देखाएको छ।

‘टप हन्ड्रेड सिटिज डेस्टिसनेसन २०१८’ रिपोर्टले बताए अनुसार विश्वकै सबैभन्दा बढी पर्यटकले घुमेका सहरमध्ये मलेशियाको राजधानी क्वालालम्पुर नवौं स्थानमा छ ।

प्रधानमन्त्री महाथिरले पर्यटन क्षेत्रमा सकारात्मक बृद्धि भइरहेको भन्दै मलेशियाली नागरिकहरू चुप लागेर बस्ने समय नभएको र यो उत्कृष्ट प्रदर्शनलाई निरन्तर कायम राख्नुपर्ने भन्दै नागरिकको हौसला बढाइरहेका छन्।

सन् २०२० मा मलेशियाले इको टुरिजमका साथै कला र संस्कृति लक्षित क्याम्पेन बनाएको छ।

‘हाम्रो हस्पिटालिटी केवल स्लोगान मात्र होइन। हामी सबैको संयुक्त प्रयासले यसलाई हासिल गर्नुपर्ने हो। कुनै पनि ठाउँको सुन्दरताले आकर्षण गर्नु यौटा पक्ष हो, तर हस्पिटालिटीले मानिसलाई बस्न र फर्कँदा यहाँको राम्रो सम्झना लिएर जाने बनाउँछ,’  महाथिरले भनेका छन्, ‘हामी चाहन्छौं हाम्रो हस्पिटालिटी यस्तो हो जसले गर्दा पर्यटक यहाँबाट फर्कँदा प्रकृति र संस्कृतिमात्र होइन यहाँका मानिसहरूलाई पनि सम्झेर जाउन्।’

भिजिट मलेशियाको नयाँ लोगोमा मलेशियाको विविध संस्कृति कला सम्पदालाई झल्काइएको छ। मलेशियाले आफूलाई ‘नट टु बी मिस्ड’ होलिडे डेस्टिनेसनका रूपमा अफरहरू दिएर आकर्षित गरिरहेको छ।

टुरिजम मलेशियाले मलेशिया एयरलाइन्स, एयर एशिया, फायर फ्लाइ, मालिन्दो एयर र मलेशिया एयरपोर्ट होल्डिङ लगायतसँग संयुक्त प्रवर्द्धनको संयुक्त साझेदारीमा पर्यटकलाई विभिन्न अफरहरू दिएको छ।

घरेलु एयरलाइन्सका साथै उनीहरूले कोन्डोर एयर, एयर अरेबिया र बुसान एयरसँग पनि साझेदारी गरेका छन्। उनीहरुले मलेशियाका लागि बिभिन्न अन्तर्राष्ट्रिय गन्तब्यहरूबाट नयाँ रुट ल्याउने छन्।

भारत र चीनका नागरिकहरुका लागि अन एराइभल भिसा सुविधा मलेशियाका १३ वटा विविध इन्ट्री प्वाइन्टहरूबाट उपलब्ध गराउने तयारी भएको छ।

अन्तर्राष्ट्रिय अभ्यास

संयुक्त राष्ट्र संघको वर्ल्ड टुरिजम् अर्गनाइजेसन ब्यारोमिटरले संकेत गरे अनुसार सन् २०१९ को जनवरीदेखि सेप्टेम्बरसम्म विश्वभर नै अन्तर्राष्ट्रिय पर्यटकको चहलपहल ४ प्रतिशतले बढेको छ।

पर्यटकहरूको वृद्धिमा निरन्तरताले वैश्विक आर्थिक वृद्धि तथा विकास सम्भाव्यता तथा अवसरहरूको ठूलो सम्भावना रहेको अध्ययनले बताएको छ । तर  विश्वभर नै पर्यटन क्षेत्रको दीगोपन नै मुख्य चुनौतीका रूपमा देखिएको छ ।

सन् २०१८ को तथ्यांक हेर्ने हो भने अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रबाट विश्वले १.७ ट्रिलियन अमेरिकी डलर रेभेन्यू प्राप्त गर्न सफल भयो।

हाल अन्तर्राष्ट्रिय पर्यटन क्षेत्र विश्वकै तेस्रो ठूलो निर्यात क्षेत्र हो। इन्धन र केमिकलको पहिलो र दोस्रो बढी निर्यात हुने गरेको छ। विश्व बजारमा वर्सेनि इन्धनबाट २.४ ट्रिलियन र केमिकलबाट २.२ ट्रिलियन अमेरिकी डलरको निर्यात कारोबार हुने गर्छ।

Source: bizmandu.com

You can share this post!