आइजिपी खनालको अमेरिका भ्रमण अस्वीकृत आइजिपीलाई थाहै नदिई एआइजी सरुवा

Image result for igp of nepal sarbendra khanal

सरकारले प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालको अमेरिका भ्रमण अस्वीकृत गरेको छ । उनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकारले उनको विदेश भ्रमण रोकिदिएको स्रोतले बतायो ।  हरेक वर्ष २६ देखि २९ अक्टोबरसम्म अमेरिकाको सिकागोमा विश्वका प्रहरी प्रमुखहरूको सम्मेलन हुँदै आएको छ ।

सम्मेलनमा केही वर्षयता प्रहरी अधिकारीहरूको नियमित सहभागिता रहँदै आएको छ । तर, सरकारले नै यस वर्ष महानिरीक्षकको भ्रमण रोकेको छ । मंगलबारको मन्त्रिपरिषद्को बैठकमा भ्रमणसम्बन्धी प्रस्ताव अस्वीकृत भएको हो ।

प्रहरी महानिरीक्षकको विदेश भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत हुनुपर्छ । चिलीमा १६ अक्टोबरदेखि हुन लागेको इन्टरपोलको सम्मेलनमा भने महानिरीक्षक खनाल जाने सम्भावना छ ।  विनाकुनै कारण उनको भ्रमण अस्वीकृत भएपछि गृह मन्त्रालयका अधिकारीले आश्चर्य मानेका छन् । 

आइजिपीलाई थाहै नदिई एआइजी सरुवा 
मंगलबारको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका एआइजीहरूको सरुवासमेत गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत एआइजी पुष्कर कार्कीलाई प्रहरी मुख्यालयमा सरुवा गरिएको छ । उनलाई मानव स्रोत तथा प्रशासन र कार्य तथा अपराध अनुसन्धान गरी दुईवटा विभागको नेतृत्व हेर्ने गरी मुख्यालयमा सरुवा गरिएको हो । त्यस्तै, मुख्यालयका एआइजी ठूले राईलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ । 

हाल नेपाल प्रहरीमा तीन मात्र एआइजी छन् । अर्का एआइजी धिरु बस्न्यातलाई राष्ट्रिय सुरक्षा परिषद्को कार्यालयमा काजमा राखिएको छ । प्रतिष्ठानको कार्यकारी निर्देशकका रूपमा कार्यरत रहँदा आर्थिक अनियमितताको उजुरी प्रधानमन्त्री कार्यालयमा परेपछि उनलाई जिम्मेवारी दिइएको छैन ।  

स्रोतका अनुसार एआइजी सरुवाबारे प्रहरी महानिरीक्षक मात्र नभई गृह मन्त्रालयका अधिकारीलाई समेत जानकारी थिएन । सामान्यतया यस्ता सरुवामा प्रहरी प्रधान कार्यालय हुँदै गृहले मन्त्रिपरिषद्मा प्रस्ताव लगेपछि निर्णय हुन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो प्रस्तावमा प्रहरीका एआइजीको सरुवा भएको स्रोत बताउँछ । ‘प्रहरी मुख्यालय कमजोर भएको बुझाइका आधारमा एआइजी पुष्कर कार्कीलाई मुख्यालयमा सरुवा गरिएको सुनिन्छ,’ गृह मन्त्रालयका एक अधिकारीले भने, ‘यसले सरकार प्रहरी महानिरीक्षकको कार्यशैलीसँग खुसी छैन भन्ने देखाउँछ ।’ 

आइजिपी खनाल र एआइजी कार्कीबीच व्यक्तिगत सम्बन्ध राम्रो छैन । सोही कारण खनालले आफूअनुकूलका एआइजी राईलाई मुख्यालयमा राखेर कार्कीलाई प्रतिष्ठानमा सरुवा गराएका थिए । प्रहरी मुख्यालयमा कार्यरत एआइजीसँग आइजिपीले बिहानदेखि बेलुकासम्म सरसल्लाह लिनुपर्ने हुन्छ । प्रहरीका सरुवा–बढुवादेखि दैनिक अप्रेसनका काम हेर्नुपर्ने हुँदा नियमित आइजिपीसँग सरसल्लाह गर्नुपर्ने हुन्छ । आइजिपी बढुवामा दुवै प्रतिस्पर्धी भएकाले उनीहरूको सम्बन्ध बिग्रिएको थियो । 

विभूषण दिन अस्वीकार 
प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षक खनाललाई विभूषणको सिफारिस गरेको थियो । तर, विभूषण सूचीबाट उनको नाम काटिएको छ । प्रधानमन्त्री असन्तुष्ट भएर नै नाम काटिएको स्रोत बताउँछ । विभूषणसम्बन्धी कार्यविधिअनुसार उनले यस वर्ष विभूषण पाउनुपर्ने थियो । उनले अघिल्लो वर्ष पनि पाएका थिएनन् । खनालले आगामी माघमा अनिवार्य अवकाश पाउँदै छन् । हरेक आइजिपीलाई पदमा हुँदा विभूषण दिने परम्परा छ । 

प्रहरीका कपडालगायत बन्दोबस्तीका सामान खरिदमा अनियमितता आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत प्रहरी नेतृत्वमाथि छानबिन गरेका कारण पनि प्रहरी महानिरीक्षक खनाल पछिल्लो समय समस्यामा परेका छन् । #आइजिपी खनाल# अमेरिका भ्रमण# अस्वीकृत
Source: nayapatrikadaily.com

You can share this post!