क्यानको निर्वाचनमा चन्द समूह बलियो बन्दै

काठमाडौँ, ०८ असोज : नेपाल क्रिकेट संघ (क्यान) को आगामी शुक्रबार र शनिबार हुने निर्वाचनमा विनयराज पाण्डे र चतुरबहादुर चन्दले नेतृत्वका लागि आफ्नो दाबेदारी प्रस्तुत गरेका छन्। पाण्डे क्यानका पूर्व अध्यक्ष हुन् भने चन्द चार वर्षअघि क्यानको अध्यक्षमा चुनिए पनि राष्ट्रिय खेलकुद परिषद्ले मान्यता दिएको थिएन।खेलकुद परिदषद्ले चन्दलाई मान्यता नदिएर रमेश सिलवालको नेतृत्वमा अर्कै समिति बनाएपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले २०७३ वैशाखमा क्यानलाई निलम्बन गरेको थियो। अब निर्वाचित हुने क्यानको केन्द्रीय समितिले अनुरोध गरेपछि आइसिसीले निलम्बन फुकुवा गर्नेछ। आगामी असोज २६ गते अस्ट्रेलियामा बस्ने आइसिसीको बोर्ड बैठकमा प्रस्ताव गए निलम्बन फुकुवा हुनेछ ।

क्यानको निर्वाचनमा ५९ जना भोटर रहेका छन्। प्रत्येक जिल्ला क्रिकेट संघबाट आएका ३९ जना र प्रदेशबाट छनोट भएका २० जनाले १७ सदस्यीय क्यानको केन्द्रीय समितिका लागि मतदान गर्नेछन्। जसमा चन्द समूह बलियो देखिएको छ। चार वर्षअघि प्रतिनिधि बनेका अधिकांस सदस्य अहिले पनि निर्वाचनका लागि छनोट भएका छन्।’चार वर्षअघि प्रतिनिधि रहनु भएका ९० प्रतिशत भन्दा बढी अहिले पनि निर्वाचनका लागि आउँदै हुनुहुन्छ,’ अध्यक्षका दाबेदार चन्दले भने, ‘पुराना साथीहरुले फेरि पनि हामीलाई मत दिनु हुनेछ भन्ने विश्वास छ।’ २ जना मात्र अध्यक्षमा उठेको अवस्थामा विजयी हुन चाहिने ३० मत आरामले आउने चन्दको आँकलन छ। केन्द्रीय कार्यसमितिको पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष १–१ जना हुनेछन्। बाँकी १३ जना सदस्य हुनेछन्। राष्ट्रिय खेलकुद परिषद्ले आफ्ना २ जना सदस्यलाई पदेन सदस्यका रुपमा मनोनित गर्ने बाहेक सबै निर्वाचित हुनु पर्नेछ। चन्दसंग लामो समय क्रिकेट क्षेत्रको अनुभव भएको र कुशल संगठन गर्ने तथा सबैलाई मिलाएर लैजान सक्ने क्षमता रहेको क्रिकेट समर्थकहरु बताउछन। चन्द क्रिकेट खेलाडी र क्रिकेट समर्थकहरुले पनि रुचाइएका व्यक्ति हुन् । चन्दका समर्थकहरुले सामाजिक संजालमा #IAMWITHCHATURB.CHAND’ र #ISUPPORTCHATURB.CHAND भनेर ह्यास ट्याग अभियान पनि चलाएका छन् ।

You can share this post!