आज देखि नाटक “गुम्फन” शिल्पि थिएटरमा!

भाद्र ५, लामो समयको मौनतापछि थियटर भिलेज नयाँ नाटक लिएर आफ्ना दर्शकमाझ आएको छ । लाजिम्पाटमा अबस्थित आफ्नै नाटकगृह भत्किएपछी अन्तराष्ट्रिय मञ्चमा बाहेक नेपाली मञ्चमा यसका कुनै पनि नाटक मञ्चन भएका थिएनन् ।

चारुमती, सान्दाजुको महाभारत, सिंहदरबारको टेण्डर, मालीनी, ह्यामलेट, यार्मा जस्ता नाटकहरु राष्ट्रिय तथा अन्तराष्ट्र्यि स्तरमा मञ्चन गरिसकेको थिएटर भिलेजको यो पछिल्लो नाटक “गुम्फन” लाई दिलिप रानाभाटले निर्देशन गर्दैछन् । उक्त नाटक शिल्पी नाटकघर बत्तिसपुतलीमा भदौ ५ देखी २९ सम्म मञ्चन भईरहेको छ ।

एलिसा सालोको फिनिस नाटक “रयादेस्सवारा” बाट प्रभावित यस नाटकलाई नेली केइनानेन र लिया अब्सेसको अंगेजी अनुबाद “फलिङ” बाट जिवेश रायमाझीद्दारा नेपालीमा अनुवाद गरीएको हो । तर यसलाई नेपाली परिवेश र अहिलेको सामाजिक परिस्थितिसगँ जोड्न निर्देशक आफैले अनुकरण गरी निर्देशन गरेका हुन ।

भर्खरै किशोराबस्था पार गरेकी एलिना दुःखी हुनुपर्ने कुनै कारण छैन । अलिअलि मोटोपन बाहेक उनको अरु कुनै समस्या छैन । तर एक्लो युवा भएकै कारणले यी कुराहरुले मानिसलाई असर गरिरहेका हुन्छन् । त्यसपछी उनि आफ्नो साथीको पासवर्ड प्रयोग गरेर अनलाइन गार्डेनमा पुग्छिन् । जहाँ तपाँई जे चाहानुहुन्छ त्यो बन्न सक्नुहुन्छ । गार्डेनमा एलिना र डार्क फ्लोको भेट हुन्छ जसले एलिनालाई राम्रोसंग बुझ्छ । जबकी डार्क फ्लो आफै पनि एलिना जस्तै निराश हुन्छ ।

यो साइबर संसारमा हराएर आफ्नो ब्यतिगत जिवन, आफन्तसंगको सम्बन्ध तथा मानवियतानै गुमाइरहेको यो पुस्ताले प्रत्यक्ष जिवनमा आफ्नो समस्यासंग जुध्ला त?

नाटक यसै सेरोफेरोमा आधारित छ ।

राजनैतिक नाटक मात्रै धेरै भइरहेको अहिलेको समयमा युवापुुस्तालाई लक्षित गरेर खासै नाटकहरु हुँदैनन् यस्तो अवस्थामा युवापुस्तालाईनै लक्षित गरी उनिहरुकै कथामा नाटक गर्ने सोचेर यो नाटक तयार पारीएको निर्देशक रानाभाट बताउछन् ।

यसअघि सिंहदरबारको टेण्डर तथा झिमिक् झिमिक् झ्याप्प निर्देशन गरेर युवा निर्देशकका रुपमा आफ्नो पहिचान बनाइसकेका उनको यो तेश्रो निर्देशन हो ।

दिपेश राईको सहनिर्देशन तथा  बिमल सुवेदीको मञ्च तथा प्रकाश परिकल्पना रहेको यस  नाटकमा अभिषेक गैरे, आयुष्ना गिरी, इष्टु कार्की, एच. के अधिकारी, गुगल लामा, पि. बि. एस रिदम सुनुवार, प्रमोद खड्का, बिजेश गौतम, मदन सुवेदी, संगिता थापा लगायतको अभिनय छ ।

साजन कुमार सुनुवार ब्यवस्थापक रहेको नाटकमा श्रवण रानाको प्रकाश परिचालन रहने छ भने दिपेश राई निर्देशन सहयोगी छन् ।

यो नाटक भदौ ६ देखि २९ सम्म मङ्गलबार बाहेक शिल्पी थिएटर, बत्तीसपुतलीमा प्रदशन हुनेछ ।

विपुल पाण्डे

You can share this post!