सुदूरपश्चिममा गौराको रौनक बढ्दै

काठमाडौँ ०३ भदौ :  आज बाट सुदूरपश्चिममा गौरा पर्वको रौनक सुरु भएको छ आज महिलाहरुले बिहानै स्नान गरी घर घरमा बिरुडा राख्दछन् । पहिलो दिन मास, गहत, गहुँ, केराउ र गुराउँस गरी पाँच प्रकारका अन्न मिश्रित पञ्चबिरूडा शुद्ध र सफा कोठामा भिजाएर राख्ने चलन रहिआएको छ । गौरा पर्वको पहिलो दिन गौरा पर्व मनाउने समुदायका महिलाहरूले निराहार वर्त रही आआफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ’बिरुडा’ अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गरिन्छ । अष्टमीको दिन व्रत बस्ने महिलाहरूले अभिशेष गरेको दुबो धागो (रातो, पहेँलो र कालो धागोबाट बनाइएको मालारपोते) लगाउने र फेर्ने चलन छ । विरुडालाई पूजाआजा पश्चात् भगवानको प्रसाद मानेर खाने गरिन्छ ।  अन्तिम दिन गोरालाई नाच्दै, गाउँदै पवित्र स्थानमा लगि सेलाइन्छ । जुन दिन गोरा सेलाइन्छ सोही दिन फल फट्काने (फलफूललाई कपडाको माध्यमले माथि आकाश तिर फाल्ने) गरिन्छ र जसलाई आकाशबाट भुइमा खस्न नपाउँदै छोप्ने चलन छ र जसलाई भगवानको प्रसाद मान्ने चलन छ ।एक सातासम्म मनाइने यो पर्वलाई काम पछिको विश्राम र आफन्तजनसँगको भेटघाटको अवसरका रुपमा पनि लिने गरिन्छ । गौरा पर्वकै अवसरमा गाउँघर देउडामय बन्दै गइरहेका छन् । खासगरी सुदूर पश्चिमकै विशेष पहिचान तथा मौलिकताको रुपमा रहेको देउडा गौरा अवधी भर खेल्ने गरिन्छ ।

You can share this post!