माईतिघर मण्डलामा कार्यक्रम गरे प्रहरीको डण्डा, सिफलचौरदेखि गोदावरीसम्म तोकियो ‘विरोध प्रदर्शन स्थल’

काठमाडौं– राज्यलाई जनताको आवाज सुनाउने केन्द्रको रुपमा चिनिएको काठमाडौंको शान्ति बाटिका र माईतिघर मण्डलामा आगामी साउन १ गतेदेखि सरकारले भेला हुन् र विरोध प्रदर्शन गर्न समेत रोक लगाएको छ । बिहिबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले माईतिघर र शान्तिबाटिका लगायत उपत्यकामा यसअघि नारा–जुलुस हुने क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको जानकारी दिएका छन् ।

केही दिनअघि नागरिक अभियन्ता डा.गोविन्द केसीले सरकारले चाल्न लागेको त्यस्तो कदम नरोके अनसन बस्ने भन्दै दिएको चेतावनीलाई हाँसेर उडाउँदै गृहमन्त्री बादलले भने, ‘सरकारलाई अधिनायकवादी भनेर डा. केसीले भन्ने कुरा मात्र हो,अधिनायकवाद भनेको के हो ?’

‘मलाई त्यहि केटी चाहिन्छ भन्नु अधिानायकवाद हो’ डा. केसीतर्फ संकेत गर्दै मन्त्री थापाले भने, ‘अब साउन १ गतेबाट सरकारले तोकेको ठाउँमा मात्र विरोध प्रदर्शन गर्न पाईन्छ, अन्यथा कारवाही हुन्छ ।’ डा.केसीले माईतिघर मण्डलालाई निषेधित क्षेत्र घोषणाको तयारी गरेर सरकारले अधिनायकवादी चरित्र देखाएको आरोप लगाएका थिए ।

कहाँ–कहाँ तोकियो विरोध प्रदर्शनस्थल ?

गृहमन्त्रालयले काठमाडौंको खुल्लामञ्च, तिनकुनेस्थित खाली चउर, स्वयम्भुको भगवानपाउस्थित खुल्ला जमिन, पेप्सिकोला खेल मैदान, सानो गौचरण, लैनचौरस्थित खाली जमिन र गौशालाको सिफल चउरमा मात्र विरोध प्रदर्शन गर्न पाउने जनाएको छ ।

यसैगरी ललितपुरको च्यासल खेल मैदान, गोदावरी बसपार्कसँगै रहेको खुल्ला जमिन, भैंसेपाटीको छ्यासिकोट, बज्रबाराही मन्दिर नजिकैको खाली जमिन, लुभुको ससमु चौर र घोविघाट नजिकै रहेको खुल्ला जमिनमा मात्र अब प्रदर्शन गर्न पाइनेछ ।

भक्तपुर जिल्लामा भने सरकारले एक स्थानमा मात्र विरोध प्रदर्शन गर्न पाउने स्थानको रुपमा तोकेको छ । भक्तपुरको सल्लाघारीमा रहेको नेपाल ट्रस्टको ९९ रोपनी जग्गामा मात्र विरोध प्रदर्शन गर्न पाउने गृह मन्त्रालयले जनाएको छ ।

सरकारले तोकेको स्थानभन्दा बाहेक अन्यत्र विरोध प्रदर्शन गरेमा साउन एक गतेदेखि स्थानीय प्रशासनले हस्तक्षेप गर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले बताए । उनले भने, ‘गृह प्रशासन सुधार कार्ययोजना अनुसार तोकिएको स्थानभन्दा बाहेक अन्यत्र विरोध प्रदर्शन गरेमा कानुनी कारवाही गर्छौं ।’

You can share this post!