आईजिपी खनालले भने–‘गुण्डागर्दी र साईबर अपराधविरुद्ध सशक्त कारवाही गर्छौ’

काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गुण्डागर्दी र साईबर अपराधविरुद्ध सशक्त कारवाही गरिने बताएका छन् । प्रहरी महानिरीक्षक नियुक्त भएको करिब साढे दुई महिनापछि बिहिबार प्रहरी हेड्क्वार्टरमा पहिलो पत्रकार सम्मेलन गर्दै खनालले आफुले १० वटा प्राथमिकता निर्धारण गरेर काम शुरु गरेको बताए ।

‘गुण्डागर्दी र साईबर अपराधविरुद्ध सशक्त कारबाही अगाडि बढाउँछौं’ उनले भने, ‘साईबर अपराधका कारण समाजमा धेरै असर पुगेको छ ।’ साईबर अपराध नियन्त्रणका लागि प्रहरीभित्र छुट्टै संरचना निर्माण गर्न लागिएको खनालले बताए । उनले भने, ‘साईबर अपराध नियन्त्रणका लागी साईबर सेल र मानव बेचविखन नियन्त्रणका लागी छुट्टै एन्टी ट्राफिक सेल स्थापना गर्ने काम शुरु भैसकेको छ ।’

नेपाल प्रहरीलाई संघीय संरचनामा लैजानका लागी संघीय प्रहरी ऐन र प्रादेशिक प्रहरी ऐनको ड्राफ्ट निर्माण कार्य भइरहेको उल्लेख गर्दै खनालले लागूऔषध विरुद्ध आक्रामक कार्यकम तय गरिने बताए । आफु प्रहरी महानिरीक्षक नियुक्त भएपछि प्रहरीले गरेका कामहको फेहरिस्ता सुनाउँदै खनालले ६ जना विदेशी नागरिकलाई डिपोर्ट गरिएको बताए । उनले भने, ‘अपराधीविरुद्ध निर्मम रुपमा प्रस्तुत हुने क्रममा काठमाडौंमा दुईपटक गोली चलाएका छौं, फिल्म बनाउने नाममा नक्कली नेपाली नोटको कारोबार गर्नेलाई कानुनी दायरामा ल्याएका छौं ।’

३३ किलो सुन र सनम हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय मोरङले प्रहरीका ८ जना अधिकारीसहित ६६ जनालाई प्रतिवादी बनाएर मुद्धा चलाएको प्रसंग उल्लेख गर्दै उनले अनुसन्धानको अन्य पाटोमा अफुले बोल्न नमिल्ने बताए । उनले भने, ‘सरकारले गठन गरेको छानविन समितिले गरेको अनुसन्धानमा मैले बोल्न मिल्दैन, प्रहरीका केही अफिसरलाई मुद्धा लगाईएको सन्दर्भमा हस्तक्षेप गर्ने मलाई कानुनी अधिकार छैन् ।’

‘अपराधिकरण निर्मुल हुनैपर्छ’ खनालले भने, ‘मैले सुन तस्करी छानविन गर्न गठित समितिलाई फलानो–फलानोलाई मात्र अनुसन्धान गर्नुस् भन्न मिल्दैन् ।’ आफु प्रहरी प्रमुख भएपछि लामो समयदेखि जाम भएर बसेको प्रहरी नायव निरीक्षक (सई) देखी प्राविधिकतर्फ बर्षौंदेखि रोकिएको बढुवा सूचि निकालेको खनालले बताए ।

पछिल्लो समय जिल्ला प्रमुखको रुपमा सरुवा भएका एसपी र डिएसपीको कार्यक्षमताबारे पत्रकारले सोधेको प्रश्नको उत्तर दिँदै खनालले केही अफिसरलाई एक पटक अवसर दिएको बताए । उनले भने, ‘केहीलाई अवसर दिइएको छ, काम नगरे फिर्ता बोलाउँछु ।’

You can share this post!