प्रधानमन्त्री ओलीको भाषण : १२ कक्षासम्म फ्री !

१४ असार, काठमाडौं । भर्खरै एसईईको नतिजा सार्वजनिक भएको छ । अभिभावकहरु आफ्ना छोराछोरीका लागि ११ कक्षाको महंगो भर्ना शुल्क कसरी जुटाउने भन्ने तनावमा छन् । ठीक यहीबेला विहीबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीमा आयोजित एक कार्यक्रममा भने- ‘आज विश्वव्यापी मान्यता भइसक्यो, १२ कक्षासम्म फ्री !’

महंगो शिक्षाका कारण छोराछोरीको भविष्यप्रति चिन्ता गरिरहेका अभिभावकहरुले प्रधानमन्त्रीको यो भाषणबाट अलिकति पनि हषिर्त नभए हुन्छ । किनभने, प्रधानमन्त्रीले यो भाषण समाजवादी सरकार रहेको नेपालको सन्दर्भमा गरेका होइनन्, केवल समाजवादको बखान गर्ने क्रममा उनले विश्वका पुँजीवादी देशहरुले समेत १२ कक्षासम्म निःशुल्क शिक्षाको व्यवस्था गरेको सुनाएका मात्र हुन् ।

‘पुँजीवादी देशले पनि २५/३० प्रतिशत समाजवाद अपनाउन थालिसके’ मदन भण्डारीको जन्म जयन्तीका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भने-‘अब विस्तारै पुँजीवादी देश टोपीमात्रै उसको हुन्छ, व्यवहार अर्को ।’

प्रधानमन्त्रीले अगाडि भने- ‘अब नेपालको भविश्य उज्वल छ । समाजवादको आधार मजबुद छ । सही बाटो ठम्याएर अगाडि बढ्याछौं । मजबुद पार्टी हामीसँग छ । एक्लै हल्लाउथे, दुईवटा मिलेपछि मजबुद हुन्छ । हामीसँग केन्द्रमा दुईतिहाइ छ । ६ वटा प्रदेशमा दुई तिहाइ छ । २ नम्बर प्रदेशमा पनि हामीसँगै सरकारमा रहनुभएका उपेन्द्र यादवजीको पार्टीले नेतृत्व गरिरहेको छ । हामीले पनि भोट हालेको हो । स्थानीय तहमा हामीले दुई तिहाइ स्थानमा जितेका छौं ।’

उखान टुक्काको वर्षा !

रामायण र महाभारतका कथासमेत हाल्दै करिब पौने घण्टा भाषण गरेका प्रधानमन्त्रीले आफ्नो पुरानो शैलीलाई निरन्तरता दिँदै केही उखान टुक्काहरुको प्रयोग गरेर सहभागीलाई हँसाए ।

भाषणको सुरुमा ओलीले मार्क्सवादको महिमागान गरे । त्यसपछि केहीबेर मदन भण्डारीको प्रशंसा गरे । २० औं शताब्दीमा कार्ल मार्क्सले नेपाललाई समेत काम लाग्ने विचार दिएको र मदन भण्डारीले नेपाललाई करिस्म्याटिक नेतृत्व दिएको बताउँदै प्रधानमन्त्री ओलीले भने-‘विचार भनेको टाउका बाहिर उम्रिने कपालजस्तो होइन !’

तिहारका बेला केटाकेटीले बाटामा डाइस खेल्ने गरेको उदाहरण दिँदै प्रधानमन्त्रीले भने-‘झण्डाबूर्जा खेलेर निस्क्या चिज होइन मार्क्सवाद !

उनलेले अर्को टुक्का जोडे- ‘उहिले पिपलका फेदमा मान्छेले सुगालाई अह्राएर पिँजडाबाट खाम निकाल्थ्यो । त्यस्तो होइन मार्क्सवाद ।’

प्रधानमन्त्रीले मार्क्सलाई उधृत गर्दै भने, संसारको व्याख्यामात्रै गर्नु पर्याप्त छैन, समस्याको समाधान के हो ? सुखको प्राप्ति कसरी हुन्छ ? त्यो भनेको समृद्धि चाहियो । समानता चाहियो । सुशासन चाहियो । न्याय चाहियो ।’

बेलाबखत बुद्धिजीवीहरुमाथि प्रहार गर्ने प्रधानमन्त्रीले विहीबारको भाषणमा ‘मार्क्सवाद बुझिन’ भन्ने बुद्धिजीवीहरुलाई व्यंग्य कसे ।

‘कतिपय पढेलेखेका बुद्धिजीवी नै भन्ने गर्छन्, म मार्क्सवाद मान्दिनँ,’ प्रधानमन्त्री ओलीले भने- ‘पुल बनाउनेले प्लेन चलाउन जानेकै छैन, अनि म प्लेन चलाउँदिन भनेर के गर्नु ? मार्क्सवाद मान्दिनँ भन्नेले बुझेकै छैन अनि मान्दिनँ भन्छ । बुझेको भए पो मान्नु Û’

प्रधानमन्त्रीले अब नेपालको राजनीतिमा ‘अंकलको औंला समातेर हिँड्ने’ जमाना गएको टिप्पणी गरे ।

आफ्नो सरकार म्युजिकल चेयर खेलमा घण्टी लाग्दा आइलागेको कुर्सीजस्तो नभएको जिकिर गर्दै ओलीले यो सरकार आधा शताब्दीको संघर्षबाट प्राप्त उपलब्धि भएको बताए । ‘म्युुजिकल चेयरमा ट्याक्क घण्टी लाग्दा छेउमा आइलागेको कुर्सी होइन,’ प्रधानमन्त्रीले भने, ‘आधा शताब्दीभन्दा अगाडिदेखि संघर्षबाट आएको हो ।’

‘दुर्गममा, असुरक्षित बस्ती, आवास, घर उठाएर एकीकृत बस्ती बनाइन्छ । त्यो कार्यक्रम अब सुरु गरिन्छ, त्यसरी आउँछ समाजवाद ।

पानीजहाज चढ्ने निम्ता छ सरहरुलाई !

सडकको हिलो र खाल्डाखुल्डीका कारण काठमाडौंबासीहरुलाई हिँडडुल गर्नै गाह्रो छ । जोरपाटीका बासिन्दाले शुक्रबार हिलोबाटोको विरोधमा कविता गोष्ठीको आयोजना गर्दैछन् । विद्यार्थीहरुलाई स्कुल जान कठिन छ । तर, यथार्थ जेजस्तो भए पनि चीन भ्रमणबाट फर्केका प्रधानमन्त्री ओलीले आफ्नो भाषणमा समृद्धिका सपनाहरु पस्कन कञ्जुस्याइँ गरेनन् ।

‘सन् २०१८ मा नभए पनि २०१९ मा होला, पानीजहाज चढ्ने निम्ता छ सरहरुलाई’ प्रधानमन्त्रीले भने ‘त्रिवेणीबाट जान्छ । हेर्दाहेर्दै हनुमाननगरबाट जहाज लाग्छ । पूर्व-पश्चिम रेल चल्छ । पानीजहाज, स्टिमर चढेर कोलकाता जान सकिन्छ । अलिकति पैसा कम भएर मात्रै, नभए कोलकाताबाट हाम्रा पानीजहाज चल्थे ।’

चुल्होमा दाउरा बालेर ढुंग्रीले फूँ फूँ गर्दै भात पकाइरहेका बेला आफूले ग्यास पाइप जोडिदिन्छु भन्दा झण्डै नबहुलाएको प्रधानमन्त्रीले टिप्पणी गरे । ‘यस्ता कुरा मान्छेहरुले कहिले कहिले बुझ्दैनन्’ उनले भने, ‘चुल्हो बालेर आँखा मिच्दै भात पकाएर खाइरहेका बेला पाइप लगेर जोडिदिन्छु भनेको, झण्डै बहुलाएनन् ।’

प्रधानमन्त्री ओलीले अब दुर्गममा रहेका बस्ती उठाएर एकीकृत बस्ती बनाउने बताए । ‘दुर्गममा, असुरक्षित बस्ती, आवास, घर उठाएर एकीकृत बस्ती बनाइन्छ । त्यो कार्यक्रम अब सुरु गरिन्छ’ उनले भने, ‘कसरी आउँछ समाजवाद ? त्यसरी आउँछ समाजवाद । त्यस्ता दुर्गम बस्तीमा स्कुल हुन्छन् ? भीरको बाटोमा शिक्षक हिँड्न सक्दैनन् । त्यस्ता बस्तीलाई सुरक्षित स्थानमा सारिन्छ ।’

अहिले देशमा बढिरहेको सवारी दुर्घटनालाई पनि प्रधानमन्त्रीले सम्वोधन गर्न खोजे । उनले भने- दुर्घटनाहरु हुने गरेका छन् । अब बाटामा डिफेण्डर, पिल्लर राखेर बाटा बनाइन्छ । ड्राइभर निदाउँदा पनि गाडी खोलामा नखसोस् । अब एयरपोर्ट विस्तार गर्छौं । बाटाहरु अपग्रेड गर्छौं । भ्रष्टाचार सहँदैनौं ।’

प्रधानमन्त्रीले भने- ‘समाजवाद भनेको समृद्धि हो । समृद्धि कृषिको व्यवसायीकरणबाट आउँछ । मोरङको एकजना कृषकले चितवनमा कुरिलो बेचेर ८ लाख रुपैयाँ कमाउँदैछ ।’

‘आएर ढुकुटी हेर्दा त बेस्सरी उठाउँदा १० खर्ब राजस्व उठ्छ, साढे ७ खर्ब रुपैयाँ स्रोत नभएको दायित्व रहेछ, कस्तो हालतमा रहेछ देश ? मन्त्रीले साढे ७ अर्ब सुनिश्चित भन्दै दिँदै गरेको छ, त्यो तिर्ने दायित्व छ ।’

प्रधानमन्त्री ओलीले आफ्नो आलोचना र विरोध गर्नेलाई विचार गरेर बोल्न आग्रह गरेका छन् । ‘आलोचना, टिप्पणी र विरोधको स्वागत गर्न चाहन्छु’ प्रधानमन्त्रीले भने- ‘तर के सुझाव दिन चाहन्छु भने तपाईले बोलेको कुरा रेकर्डेड हुन्छ, त्यही कुरालाई लिएर १० वर्षपछि तपाईंको कसैले मजाक नउडाओस् ।

‘कांग्रेसले ढुकुटी रित्याएछ’

प्रधानमन्त्री ओलीले देशको ढुकुटी खोक्रो भएको बताए । चुनाव अगाडिको कांग्रेस सरकारले सरकारले ढुकुटी रित्याएकाले वृद्धभत्ता बढाउन नसकेको प्रधानमन्त्री ओलीले जिकिर गरे ।

प्रधानमन्त्रीले भने ‘आएर ढुकुटी हेर्दा त बेस्सरी उठाउँदा १० खर्ब राजस्व उठ्छ, साढे ७ खर्ब रुपैयाँ स्रोत नभएको दायित्व रहेछ, कस्तो हालतमा रहेछ देश ? मन्त्रीले स्रोत सुनिश्चित भन्दै दिँदै गरेको छ, त्यो तिर्ने दायित्व छ ।’

प्रधानमन्त्री ओलीले अब नेप्से बढ्ने दाबी गरे । उनले भने- चुनावको बेला नेप्से किन तल झरेको रहेछ भनेको त देश खोक्रो भइसकेको रहेछ । अब नेप्से बढ्छ ।’

ओलीले देउवा सरकारका पालामा लागेका ठेक्कापट्टातिर लक्षित गर्दै भने- ‘ठेक्का लिइसक्यो, तिर्नुपर्नेछ । बनाउनुपर्ने समृद्धि, तर देश खोक्रो छ ।

अघिल्लो सरकारले खोक्रो अवस्थामा देश छाडेको प्रधानमन्त्रीको आरोप छ । उनले कांग्रेसमाथि कटाक्ष गर्दै भने ‘गइन्छ भनेपछि देश त के भएछ के भएछ ! सर्‍याक सुरुक गएछ । अब खोक्रो अवस्थालाई पूरा गरिन्छ । विकास निर्माणलाई पूरा गरिन्छ ।’

अर्को वर्ष वृद्धभत्ता बढाउने आश्वासन दिँदै प्रधानमन्त्रीले भने- ‘वृद्ध भत्ता अर्को वर्ष बढाउँछौं । अहिले पैसै छैन त, के बढाउने ?’

कांगेसको जमाना गयो, आयो- नेकपाको पालो !

प्रधानमन्त्री ओलीले हरेकको एकचोटि समय आउने र सकिने बताए । अहिले कांग्रेसको समय सकिएको र अब ऊ ‘आउट डेटेड’ बनेको दाबी गरे ।

‘कुनै चिजको सन्दर्भ हुन्छ, सान्दर्भिकता हुन्छ । जमाना हुन्छ एउटा !’ प्रधानमन्त्रीले भने- ‘राणाको थियो गयो । राजाको थियो, गयो । अब कांग्रेस आउट डेटेड भयो । अब आयो नेकपाको पालो ।’

कांग्रेसको जमाना सकिएको व्याख्या गर्न प्रधानमन्त्री ओलीले रामायण र महाभारतका दुईवटा कथासमेत सुनाए ।

रामचन्द्रले जनक राजाको दरबारमा धनुष उचाल्दा भाँचिएपछि पर्शुरामले रिसाएर उनलाई बञ्चरो हान्न खोजेको तर पर्शुरामको शक्ति रामचन्द्रमा सरेको ओलीले सुनाए । त्यहीँबाट पर्शुरामको समय सकिएको उनले कथा बताए । यसक्रममा ओलीले भोकाएको बाहुन कस्तो हुन्छ भन्ने शास्त्रीय श्लोकसमेत बाचेर सुनाए ।

त्यसैगरी महाभारतको कथा सुनाउँदै प्रधानमन्त्री ओलीले महाभारतको युद्ध सकिएपछि द्वारकाबाट अर्जुन र कृष्णले यदुबंशका महिलाहरुलाई उद्धार गरेर हस्तिनापुर ल्याउँदा बाटामा ‘भिल्ल’हरुले गुलेली हानेर आक्रमण गरेको बताए । त्यहाँ धनुर्धर अर्जुन र चक्रधर कृष्णलाई भिल्लहरुले बाँधेर लडाएको बताउँदै ओलीले कृष्णजी र अर्जुनको समय सकिएपछि उनीहरु लहराले बाँधिएको बताए ।

दुईवटा कथा सुनाइसकेपछि ओलीले कांग्रेस पार्टीको नाम लिँदै भने- ‘अब लहराले.. पाता पछाडि… ।’

‘राष्ट्रियताको सवालमा नेपाल बल्ल साँच्चैको सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्रको हैसियतमा उभिएको छ, नत्र भए भन्न हुँदैन, बोल्न हुँदैन जस्तो गरेर हीन ग्रन्थीले बसिरहेका थियौं ।’

कांगेस नेतृ सुजाता कोइरालासमेत सहभागी रहेको कार्यक्रममा ओलीले ओलीले थपे ‘इतिहासको नियममात्रै भनेको हुँ, मैले कसैलाई घोचपेच गरेको होइन । मैले ५० वर्ष भनें भने कठैबरी भन्दा हुन्छ । १० वर्ष, कठैबरी ! समय गतिशील छ ।’

मदन भण्डारी फाउन्डेसनले विभिन्न कार्यक्रम गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले आउँदो असार २९ गते भानुजयन्ती मनाउने र ३०-३१ गते हिमवत साहित्य सम्मिलन हुने सूचना सुनाए । यसो भनिरहँदा प्रधानमन्त्री कार्यक्रममा उदघोषकजस्तै प्रतीत भए ।

चन्दागिरीमा साहित्यिक सम्मेलन हुने र आफू पनि भ्याएमा जाने र डाँडामा कविता लेख्ने प्रधानमन्त्री ओलीले जानकारी दिए ।

नेपाल बल्ल सार्वभौम र स्वतन्त्र भयो !

प्रधानमन्त्री ओलीले नेपाल बल्ल साँच्चैको सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्रको हैसियतमा उभिएको बताए । यसअघि नेपालीहरु हीन ग्रन्थी लिएर बसिरहेको भन्दै उनले त्यसै कारणले नेपालमा नाकाबन्दी लागेको जिकिर गरे ।

‘राष्ट्रियताको सवालमा नेपाल बल्ल साँच्चैको सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्रको हैसियतमा उभिएको छ’ उनले भने ‘नत्र भए भन्न हुँदैन, बोल्न हुँदैन जस्तो गरेर हीन ग्रन्थीले बसिरहेका थियौं । हामीमाथि नाकाबन्दी लाग्यो, किनभने त्यही हीन ग्रन्थीले ।’

प्रधानमन्त्रीले नेपालमा अब बाहृय हस्तक्षेप पनि अन्त्य भएको दाबी गरे । ‘नेपालमाथि बाहृय हस्तक्षेप अन्त्य भयो । बराबरीको हैसियत भयो’ उनले भने ‘पहिले पहिले मान्छेले पत्याउँदैनथे । अहिले बल्ल देखे । भिन्न-भिन्न राष्ट्रबीच बराबरीको सम्बन्ध कसरी राख्न सकिन्छ ? मान्छेले थाहा पाए ।’

सीमानामा भारतले बाँध बाँध्दा विगतमा सरकार थियो कि थिएन भन्ने अवस्था रहेको भन्दै ओलीले अहिलेको सरकारले सर्वे टोली पठाएर बाँध खोलेको जिकिर गरे । ‘सीमानामा बाँध बाँधेर तराईका खेत डुब्दा सरकार थियो कि थिएन ? अहिले सर्वे टोली पठाएर बाँध खोलिएको छ ।’

अधिनायकवादको चर्चा गर्नेहरुको खण्डन गर्दै प्रधानमन्त्री ओलीले आफूहरुले कसैले ल्याइदिएको लोकतन्त्रको नभई आफैंले ल्याएको लोकतन्त्रको उपयोग गरेको बताए । उनले भने ‘हामी कसैले ल्याइदिएको डेमोक्रेसीमा आएर त्यसको उपयोग गरेका छैनौं । हामीले ल्याएको डेमोक्रेसीको उपयोग गरेका हौं । हामी जेल बसेका छौं । हामीलाई आरोपित गर्नुअघि अलिकति इतिहास सम्झिन आग्रह गर्दछु ।’

You can share this post!