अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा उक्लिए शेष घले

11 जेठ, काठमाडाैं ।

गैरआवासीय नेपाली शेष घले र उनकी पत्नी जमुना गुरुङ अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा उक्लिएका छन् ।

एक वर्षमै थपियो २३ करोड डलर सम्पत्ति

गत वर्ष १०१ औं स्थानमा रहेका घले यो वर्ष ठूलो फड्को मार्दै ८१ औँ नम्बरमा उक्लिन सफल भएका हुन्

अष्ट्रेलियाका धनाढ्यहरुको सूची प्रकाशन गर्ने बिजनेस रिभ्यु विक्लीले हिजो सार्वजनिक गरेको सन् २०१८ का सबैभन्दा धनी २ सय व्यक्तिको सूचीमा घले दम्पत्ति ८७ करोड ६० लाख डलर सम्पत्तिसहित ८१ औँ स्थानमा परेका हुन् । अब उनीहरु डलर अर्बपतिको नजिक पुगेका छन् ।

घले दम्पतीको पछिल्लो एक वर्षमा कुल सम्पत्तिमा झण्डै २३ करोड डलर वृद्धि भएको देखिएको छ । गत वर्ष उनीहरुको कुल सम्पत्ति ६४ करोड ७० लाख डलर थियो । एक वर्षमै उनीहरुको सम्पत्ति झण्डै ३५ प्रतिशतले बढेको छ ।

अष्ट्रेलियाकाे मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजीका संस्थापकसमेत रहेका घलेको शिक्षा तथा रियल स्टेटलगायतका उद्योगमा लगानी छ ।

सन् १९९० को दशकको सुरुतिर अध्ययनका लागि अष्ट्रेलियाका पुगेका घलेले एकाउन्टिङ तथा प्राविधिक विषय पढाइ हुने मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजीको स्थापना गरे । अहिले एमआइटीमा झण्डै ३ हजार विद्यार्थी अध्ययनरत छन् । घले उक्त इन्स्टिच्युटका म्यानेजिङ डाइरेक्टर हुन् भने गुरुङले बिजनेस र मार्केटिङ विभाग सम्हाल्दै आएकी छिन् ।

घलेले झण्डै चार वर्षसम्म गैरआवासीय नेपाली संघको नेतृत्व सम्हालेका थिए । गैरआवासीय नेपाली संघका पहिलोपटक निर्वाचनमार्फत् नेतृत्वमा पुगेका उनले संस्थाको उचाइ र विश्वसनियता बढाउन निकै मेहेनत गरेका थिए । ०७२ को महाभूकम्पपछि उनीहरुले राहत वितरण र वस्ती निर्माणको जोखिमपूर्ण कामको नेतृत्व गरेका थिए ।

पछिल्ला वर्षहरुमा नेपाल र नेपाली समुदायको सेवामा सक्रिय घलेले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्नेगरी एक अर्ब रुपैयाँको परोपकारी कोष स्थापना गरेका छन् । यो नै नेपालमा अहिलेसम्मको सबैभन्दा ठूलो निजी क्षेत्रको परोपकारी कोष हो ।

You can share this post!