८ जेठ, काठमाडौं । साढे ३३ किलो सुन र सनम शाक्यको हत्याबाट सुरु भएको छानबिन मुद्दा दर्तासम्म आइपुग्दा ३८ क्वीन्टल सुन तस्करीको निष्कर्षमा पुगिसकेको थियो । र, यो सबैको केन्द्रमा थिए, चुडामणि उप्रेती ‘गोरे’ ।
अनुसन्धानका दायरमा आएकाहरुले पनि प्रकरणका नाइके गोरे हुन् भने । प्रहरीले पनि उनलाई नै मुख्य अभियुक्त बनाएर मोरङ जिल्ला अदालतमा मुद्दा चलाएको छ ।
तर, यो मुद्दामा वादी प्रतिवादीको बहस सकिएर आदेश हुने दिन नै अनपेक्षित रुपमा गोरे पक्राउ गरे । बिहान ११ बजेतिर गृह मन्त्रालयबाट सुन तस्करीबाट छानबिन गरिरहेको समितिले पत्रकार सम्मेलन अायोजना गरेको खबर आयो ।
तर, त्यस अघि नै गोरे पक्राउ परेको सूचना चुहियो । गोरे मंगलबार बिहान करिब ५ः३४ बजेतिर काठमाडौं गौरीघाट क्षेत्रबाट पक्राउ गरेको छानविन समितिका संयोजक गृहका सह-सचिव ईश्वरप्रसाद पौडेलले बताएका छन् ।
मारिने डरले आत्मसमर्पण गर्न चाहन्थे गोरे
जब ९ माघमा नेपाल भित्रिएको ३३ किलो तस्करीको सुन हरायो, लगानीकर्ताले गोरेमाथि प्रश्न उठाए । यो सुनको लगानीकर्ता मोहनकुमार अग्रवालसहितको समूह भएको गोरेको दाबी छ । ‘सुन गायब भएपछि खोज्नलाई उसलाई चर्को दबाव दिइएको देखिन्छ’, छानबिन समितिका एक सदस्यले अनलाइनखबरलाई भने, ‘त्यसपछि उनलाई कि साढे ३३ केजी सुन बराबरको रकम तिर्नु पर्ने कि सुन लुट्ने समूह पत्ता लगाउनु पर्ने दबाव पर्यो । त्यसैले उनले भरियाहरुलाई यातना दिइएको भेटिएको छ ।’
यातनाकै क्रममा गोरेको आर्थिक कारोबारका व्यवस्थापक एवं भरिया सनम शाक्यको मृत्यु भयो । उनले शव व्यवस्थापन गरिदिन महागरीय अपराध महाशाखाका प्रहरी समक्ष प्रस्ताव राखे । र, महाशाखाका अधिकारी गोरेलाई पक्राउ पर्ने दाबीसहित धरान पुर्यो ।
तर, प्रहरी त्यहाँ पुग्दासम्म गोरे भागिसकेका थिए ।
१९ फागुनमा गोरे भागेर भारत पुगे । उनी कोलकाता, नयाँ दिल्ली लगायतका ठाउँमा लुकेर बसे । तर, पछिल्लो समय उनलाई आफू कुनै पनि बेला मारिने डरले सताउन थालेको अनुसन्धानबाट देखिएको छ ।
उनी नेपालमा प्रहरीको खोजी सूचीमा थिए । उनको नाममा डिफ्युजन नोटिस पनि जारी भएको थियो । त्यति मात्र होइन, हिजो सुन तस्करीमा साथ दिएका अन्य प्रहरी अधिकारीहरू नै अाफ्नो पोल खुल्ने डरले कुनै पनि वेला अाफूलार्इ इन्काउन्टर गर्न सक्ने डर गोरेलार्इ थियो । ‘छानबिन समितिले प्रहरी अधिकारीहरुलाई धमाधम पक्राउ गरिरहेका थियो’, समितिका एक अधिकारी भन्छन्, ‘घटनामा अन्य प्रहरी पनि संलग्न थिए । उनीहरुको नेक्सस खुल्ने डरले प्रहरीबाट इन्काउन्टरमा पर्ने त्रास पनि उसमा थियो ।’
यस्तै, उनी जसका लागि सुन तस्करी गर्थे, उनीहरुबाट पनि गोरेले खतरा महसुस गरेका थिए । पक्राउ परेको अवस्थामा पोल खुल्छ भनेर आफूलाई कुनै पनि बेला मार्न सक्ने डर उनमा थियो ।
पूर्वप्रहरी समेत रहेका उनका बाबुले पनि त्यो खतरा देखेको थिए ।
त्यसैले परिवारले पनि गोरेको जीवन रक्षाका लागि पनि पक्राउ गराउन चाहेको थियो । गोरेका बावुले विभिन्न च्यानल प्रयोग गरेर यो खबर कहिले सुन तस्करीको रिपोर्टिङ गरिरहेका पत्रकारलाई पुर्याउँथे त कहिले अनुसन्धान टोलीका सदस्य निकटलाई ।
यो थाहा पाएपछि अनुसन्धान टोलीले नेपाल र भारतका विभिन्न स्थानमा खोजी पनि गर्यो । तर, गोरे भेटिएनन् ।
मानवअधिकार संठगनमा पुगेको थियो परिवार
गोरेको परिवारले जीवनरक्षासहित आत्मासमर्पण गर्न ‘नेपाल मानवअधिकार संगठन’ सँग सहयोग मागेको थियो ।
संगठनका प्रदेश १ का संयोजक केपी सुवेदीले आफन्तले आफूलाई सम्पर्क गरेको स्वीकार गरे । उनले भने, ‘आत्मसमर्पण गर्ने हो कि भनेर कुरा भएको हो । त्यसबारे आफूले संगठनलाई जानकारी गराएको तर, प्रक्रिया अघि नबढेको उनले बताए । सुवेदी भन्छन्, ‘गोरेलाई म चिन्दिनँ । उहाँहरुको आफन्तबाट कुरा आएपछि यस्तो यस्तो छ है भनेर केन्द्रलाई भनेको थिए तर, माहोल बनेन ।’
गोरेले मानवअधिकार संगठनलाई लेखेको पत्र भनेर सार्वजनिक पनि भएको छ । तर, संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्याल र प्रदेश संयोजक सुवेदी दुबैले त्यसलाई अस्वीकार गरे ।
गोरेको परिवारसँग सम्पर्कमा थियो प्रहरी
अनुसन्धानका क्रममा छानबिन समितिले गोरेको परिवारलाई विश्वास लिने प्रयास गरेको थियो । समितिका एक सदस्यले गोरेकी श्रीमती नर्वदा उप्रेतीलाई पटकपटक फोन सम्पर्क गरेका थिए ।
स्रोत भन्छ, ‘प्रहरी र गोरेकी श्रीमतीबीच १९ पटकसम्म संवाद भयो । यो गोरे नमारिने विश्वास दिलाउने प्रयास हो ।’
त्यसपछि गोरे मंगलबार नेपाल अाए । त्यही मौकामा समितिमा संलग्न प्रहरी अधिकारीले गोरेलार्इ बिहान उनकै घरबाट पक्राउ गर्न सफल भयो ।