लण्डन । रेलिगेसनबाट बच्न संघर्षरत हडर्सफिल्डसँग गोलरहित बराबरीमा रोकिए पनि म्यान्चेस्टर सिटीले धुमधामका साथ प्रिमियर लिगको ट्रफी उचालेको छ ।

गार्ड अफ अनरसहित सिटीका खेलाडीहरु मैदानमा प्रवेश गर्दा हजारौँको संख्यामा उपस्थित समर्थकहरुले निलो र सेतो झण्डाले खेलाडीहरुलाई स्वागत गरेका थिए ।

तर, खेलमा भने सिटीले यसअघि प्रदर्शन गर्दै आएको खेल प्रदर्शन गर्न सकेन । यता, रेलिगेसनका लागि संघर्ष गरिरहेको टोलीले निकै उत्कृष्ट खेल प्रदर्शन गर्दै च्याम्पियन टोलीलाई उसैको घरेलु मैदानमा पहिलो पटक गोलरहित बराबरीमा रोक्न सफल भएको छ ।

इतिहास हेर्ने हो भने सिटीले हडर्सफिल्डलाइृ आफ्नो घरेलु मैदानमा सन् १९८७ देखि हराउन सकेको छैन । दुई टोली बीच भएका पछिल्ला चार खेलमा सिटीले २ बराबरी र दुईमा हार बेहोरेको छ ।

बाँकी दुई खेलमा जित हासिल गरे सिटीले प्रिमियर लिगमा १०० सय अंक हासिल गर्ने पहिलो टोली बन्ने छ भने थप एक गोल गरे यसअघि सन् २००९–१० सिजनमा चेल्सी राखेको १०३ गोलको किर्तिमान बराबरी गर्नेछ ।

 

उता, बर्नलीलाई ५–० गोलको विशाल अन्तरले हराउँदै आर्सनल वेंगरले आर्सनलका प्रशिक्षकरुपमा एमिरेट्स स्टेडियमबाट बिदा मागेका छन् ।

उनी ७,८७६ दिन अघि आर्सनलको प्रशिक्षकका रुपमा नियुक्त भएका थिए ।

आर्सनलको जीतमा पिएरे एमेरिक आउबामेयाङले दुई तथा अलेक्सान्डर लाकाजेट, सिएन क्लोस्नियाक र एलेक्स इओबीले १–१ गोल गरे ।

प्रिमियर लिगका ८२६ खेलमा वेंगरको यो ४७५ औँ जित हो ।

यस्तै, चेल्सीले च्याम्पियन्स लिगका फाइनलिस्ट लिभरपुललाई १–० गोलले हराउँदै प्रिमियर लिगमा शीर्ष चार स्थानमा कब्जा जमाउने आशा कायम राखेको छ ।

चेल्सीको जीतमा एक मात्र गोल ओलिभियर जिरुले गरे । भिक्टर मोजेजको पासमा खेलको ३२ औँ मिनेटमा उनले हेडमार्फत गरेको गोल निर्णायक बन्यो ।

जीत पछि चेल्सीको ६९ अंकसहित पाँचौ स्थानमा रहेको छ । चौँथो स्थानमा रहेको टोटनहमको ७१ अंक रहेको छ ।

You can share this post!