विद्युतीय सवारी प्रवर्द्धनमा अग्नि ग्रुपको छलाङ, पहिलोपटक ‘इभी सर्भिस सेन्टर’ खुल्यो

काठमाडौं। अग्नि ग्रुपको सहायक कम्पनी अग्नि इनर्जीले मंगलबारदेखि कुपण्डोलमा चार करोडको लागतमा इलेक्ट्रिक भेहिकल सर्भिस सेन्टर संचालनमा ल्याएको छ।

सर्भिस सेन्टर संचालनसँगै कम्पनीले आठसिटे कार्गो भ्यान इ-सुप्रो प्रदर्शनीमा राखेको छ।   चार रोपनीमा फैलिएको सर्भिस सेन्टर अन्तर्राष्ट्रियस्तरको रहेको  वरिष्ठ प्रबन्धक प्रमोद भण्डारीले बताए।

उनले भने,’नेपालमा इलेक्ट्रिक भेहिकलको सर्भिस सेन्टर छैन। अग्नि ग्रुपले पहिलोपटक नेपालमा इलेक्ट्रिक सर्भिस सेन्टर खोलेको हो। हामीले आगामी दिनमा अरु गाडी कम्पनीले पनि यसरी नै इभीको सर्भिस सेन्टर खोलुन् भन्ने उद्देश्य राखेका छौं।’भण्डारीका अनुसार अन्तर्राष्ट्रिय सर्भिस सेन्टरमा चाहिने सबै मापदण्ड पूरा भएको छ।  सर्भिस सेन्टरले प्रि- डेलिभरी इन्सपेक्सन युनिटको काम पनि गर्ने उनले जानकारी दिए।

सर्भिस सेन्टरमा गाडी मर्मतका लागि गाडी धुने ठाउँ, इक्विपमेन्ट ट्रली सहित तीन वटा बे रहेको छ। सर्भिस सेन्टरमा ग्राहकले महिन्द्राको इलेक्ट्रिक भेहिकलको स्पेयर पार्ट्समात्र नभइ  हाउस केभिन इन्भर्टर्स, कन्सट्यान्ट ब्याट्री, महिन्द्रा पावरल जेनेरेटर को स्पेयर लगायतका सामाग्री खरिद गर्न सक्ने कम्पनीले बताएको छ।

ग्राहकले आधा घण्टाभित्र सामान्य सर्भिसिङ सेवा लिन सक्ने उनले बताए। सर्भिस सेन्टरमा ग्राहकको लागि प्रतिक्षालय, कर्मचारी कक्ष, स्पेयर पार्ट्स कक्ष रहेको छ। ग्राहककालागि फ्रि वाइफाइ र क्याफ्टेरियाको व्यवस्था पनि रहेको उनले जानकारी दिए।सर्भिस सेन्टरको नेपाली टाइम्सका सम्पादक कुन्दा दिक्षीतले उद्घाटन गरे।

कम्पनीले इभी प्रवर्धनलाई दिगो रुपमा लैजान सर्भिस सेन्टर खोलेको जनाएको छ।  कम्पनी आफैँले इभी सर्भिस सेन्टर संचालनकालागि  हालसम्म २५ जना दक्ष जनशक्ति उत्पादन गर्न सुरु गरिसकेको जनाएको छ। कम्पनीका अनुसार कुपण्डोल स्थित सर्भिस सेन्टरमा आठ जना प्राविधिक कार्यरत छन्।
कम्पनीले छ महिना अघिदेखि इ सुप्रो नेपाली बजारमा ल्याउने योजना बनाएको थियो।

यसै अनुसार सर्भिस सेन्टरमा यसको प्रदर्शनी गरिएको जनाएको छ।  स्कुल, कलेज, कर्पोरेट हाउस, ट्राभल एजेन्सी लगायत क्षेत्रकालागि इ सुप्रो उपयुक्त देखिएको भण्डारीले जानकारी दिए।इ सुप्रोले एकपटक फुल चार्ज गरेपछि  एक सय छ किलोमीटर माइलेज दिने बताइएको छ। भण्डारीका अनुसार इ सुप्रो को क्षमता एक सय छ किलोमीटर मात्रै हो।कम्पनीले स्याम्पल देखाउनका लागि इ सुप्रोको प्रदर्शनी गरेको जनाएको छ।

कम्पनीले एक सातामा सरकारबाट अनुमति पत्र लिनेछ भने एक महिनाभित्र इ सुप्रोको परिक्षण गरिने भण्डारीले जानकारी दिए। विभिन्न क्षेत्रबाट इ सुप्रोको माग आइसकेको उनले बताए। इ सुप्रोको मूल्य २४ लाख १५ हजार रुपैयाँ तोकिएको छ। कम्पनीका अनुसार ग्राहकले आफ्नो इच्छा अनुसारको बैंक मार्फत ३५ प्रतिशत डाउन पेमेन्ट र ६५ प्रतिशत फाइनान्स गरि गाडी खरिद गर्न सक्नेछन्।

हाल देशभर महिन्द्राको चार सय भन्दा बढी विद्युतीय सवारी गुडिरहेको कम्पनीले जनाएको छ।

www.Bizmandu.com बाट साभार गरिएको

You can share this post!