एमाले महाधिवेशनमा १२ सय सुरक्षाकर्मी परिचालन गरिने

काठमाण्डौ – नेकपा एमालेको दशौं महाधिवेशनका लागि १२ सय बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ । जिल्ला सुरक्षा समितिको बैठकले १० मंसिरबाट सुरु हुने महाधिवेशनलाई ध्यानमा राख्दै चितवनमा विशेष सुरक्षा योजना बनाएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी ओमप्रसाद अधिकारीले महाधिवेशनलाई मात्रै केन्द्रीत गरेर नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली संयुक्त रुपमा खटिने बताए । महाधिवेशनमा झण्डै पाँच लाख जनसहभागीता गराउने एमालेको तयारी छ । महाधिवेशनको उद्घाटन स्थलदेखि बन्दसत्र सम्मको क्षेत्रमा ८ सय २१ नेपाल प्रहरी, ४४९ सशस्त्र प्रहरी परिचालन गर्न लागिएको एसपी अधिकारीले जानकारी दिए ।

यस्तै महाधिवेशनमा राष्ट्रिय अनुसन्धानका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका तर्फबाट सादा पोशाकमा पनि प्रहरी कर्मचारीहरु खटिने छन् । जिल्ला सुरक्षा समितिले महाधिवेशन उद्घाटनको दिन मुख्य बजारक्षेत्र, कार्यक्रम स्थल लगायतका क्षेत्रहरुमा सवारी साधन सञ्चालन निषेध गर्ने निर्णय यसअघि नै गरिसकेको छ । चितवन बजार क्षेत्र, केन्द्रीय बसपार्क र आपटारी क्षेत्रमा अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा बिहान ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म रोक लगाइने भएको छ । व्यवस्थापन चुनौती पूर्ण भएपनि सकेसम्म सुरक्षा निकायले सहज बनाउन प्रयास गर्ने उनको भनाइ छ ।

You can share this post!