खराब धानकाे बिउका कारण किसानलाइ ठुलाे मर्का

भक्तपुर – चिनियाँ धानको विउ रोपेका किसानहरु मर्कामा परेका छन् । बेमौसमी वर्षाले तराईका अधिकांश जिल्लाको धानमा ठुलो क्षती पु¥याएका बेला भक्तपुर र ललितपुरका किसानलाई भने फरक पिरलो छ ।

रोपेको धानमा बाला नलागेपछि यहाँका किसान चिन्तित बनेका छन् । ललितपुरको चापागाउँ, लेले र भक्तपुरको चाँगुनारायण क्षेत्रका अधिकांश फाँटमा धानको बाला नै लागेको छैन। ललितपुर र भक्तपुरका किसानले चिनियाँ डिवाई २८ जातको धान रोपेका थिए। धेरैजसो किसानले चाइनिज धानको बिउ रोप्दा फसादमा परेका छन्।

गत वर्ष यही जातको धानले राम्रो उत्पादन दिएको थियो। यो वर्ष पनि किसानले सोही जातको धानको बिउ रोजेका थिए। तर, दुःख गरेर रोपेको धान उपत्पादन हुने वेलामा नफलेपछि किसानहरू मर्कामा परेका हुन्। चाँगुनाराण क्षेत्रमा करिब दुई सय रोपनीमा किसानहरूले यही जातको धान रोपेका थिए। तर, गाँजिएको धान उपत्पादन हुने वेलामा हरियो भएपछि किसानहरू निराश छन्।

सयौँ रोपनी खेतमा रोपेको धानको बिउ नै खराब भएपछि उत्पादन नै नभएको किसानको गुनासो छ। धेरैजसो किसानलाई चाँगुनायारण नगरपालिकाले पनि बिउ वितरण गरेको थियो।

नगरपालिकाले खुमलचार, खुमल दश, एघार र टाइचिन दुई सय ४२ जातको धान चार टन वितरण गरेको थियो। यसबाहेक अन्य धान किसानहरू आफैँले एग्रोभेटहरूबाट खरिद गरेर रोपेका थिए। डिवाई २८ जातको चाइनिज धान रोप्नेहरू मर्कामा परेका हुन्। जिल्लाभरि १५ सय रोपनी खेतमा डिवाई २८ जातको धान रोपिएको थियो।

‘सबैतिर धान पाकेको छ, हामीकहाँ रोपेको धान पनि पाक्ने वेला भएको हो, तर यसपटक खेतमा जान मन लाग्दैन, बिउ खराब पर्नाले उत्पादन नै भएन,’ उनले सुनाए। फलेर पाक्ने वेलामा धान हरियो रहेपछि किसानहरू मर्कामा परेका छन्। किसानहरूका अनुसार ललितपुर लगनखेलस्थित काठमाडौं एग्रोबाट धेरैजसाले धानको बिउ खरिद गरेका थिए। भक्तपुर र ललितपुर किसानले उक्त धानको बिउलाई प्रतिकिलोको नौ रुपैयाँका दरले किनेका थिए। धेरै धान फल्ने आशामा नयाँ जातको धान रोपेका किसानहरूले धान नै नफल्दा दुःख व्यक्त गरेका छन्।

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले किसानले आफूखुसी गलत धानको बिउ रोप्न फसेको बताए। उनले करिब ११ सय रोपनीमा रोपिएको धानले उत्पादन नै नदिएको बताए। ‘नगरपालिकाले गत वर्ष वितरण गरेको, यसपटक हामीले वितरण गरेनौँ,’ उनले भने, ‘त्यसरी नफल्ने धानको बिउ वितरण गर्नेमाथि कारबाही हुन्छ।’

You can share this post!