चेतना भएका विद्यार्थी वर्ग नै धुम्रपानको कुलतमा

हेमन्त प्रसाद भट्ट :

धुम्रपान सेवन र यसको असरबारे चेतना नभएका व्यक्तिहरूले मात्रै होइन चेतना भएका नागरिक पनि धुम्रपान तथा सुर्तीसेवनजन्य पदार्थ सेवन गरिरहेको हामी सबैले व्याप्तरूपमा देखिरहेकै हो । म विद्यालय पढ्ने बेला एक जना मित्र थिए, धुम्रपान तथा मद्यपान नगरेको कुनै दिन हुदैन्थ्यो । घरबाट कापि, कलम किन्नु छ भनेर बाहना बनाइ झुट बोलेर पैसा मागिरहन्थे । स्कुलको हाफ टाइम मात्रै होइन अरूबेला पनि कक्षा छाडेर धुम्रपान सेवनका लागि अड्डामा गइरहन्थे ।  किन यसरी स्वास्थ्यको लागि हानिकारक सुर्तीजन्य पदार्थ सेवन गरेको भन्दा तिनको एउटै उत्तर हुने गर्दथ्यो,यसको सेवनबाट दिमाग राम्रो हुन्छ, पढाइमा ध्यान जान्छ । त्यतिबेला पढाइमा पनि अलि अब्बल नै थिए । तर कालान्तरमा त्यही स्कुलमा प्लस टू अध्ययन गर्न थालेपछि ति पढाइमा निरन्तर कमजोर हुदै गए । पढाइमा कमजोर भए भनेर सँगै कुलतको मात्रा बढाउदै लगे । हाल तिनले न त अध्ययन नै पुरा गरे न त पहिला भन्ने गरेको दिमाग  नै राम्रो बनाए । हाल अध्ययन छाडेर कामको लागि भारत तिर गएका छन् । कसरी यस्तो सेवन गर्न थालेको भनेर हामीले सोध्ने बेला तिनले गजबको कुरा सुनाउथे, १३ वर्षको उमेरमा गाइ गोरूको गोठालो जादा उनका गाउले काकाले यसको सेवनले मान्छेकाे तनाव कम हुदै जाने र गर्दै रहेकाे काममा राम्राे ध्यान जाने भनेर सिकाएका हुन रे ।  जब उनी कलेज पढ्न थाले  यि कुरा त पक्कै थाहा पाए होलान तनाव कम पनि हुदैन झन तनाव बढाउछ  यसले भनेर तर उनी जानी जानी पनि सेवन गरि नै रहे ।

यो त एक प्रतिनिधि घटना मात्रै हो । यस्ता धरै स्कुल पढ्ने विद्यार्थी कुलतमा छन् हामी भन्न नसक्ने अवस्थामा छाै । लहै लहैमा अरूले सिकाएको वा अफै जानी जानी यस्ता हानीकारक वस्तुको सेवन गरिरहेका छन् । विद्यार्थीहरूमा हेर्ने हो  भने सबै जसोले यसको असर बारे थाहा पाएर पनि मज्जाले सेवन गरि रहेकै हुन्छन । झन ठूला घरानामा स्वागत गर्दा पनि चुरोट पिउने कि भनेर सोध्ने गर्छन । धुम्रपानले  पार्ने मानसिक र शारीरिक असर बारे जानकार भएर पनि गाउ घरमा बाल बच्चाकै अगाडी मज्जाले धुम्रपान सेवन गरिरहेका हुन्छन् । चलचित्रमा देखिने विभिन्न दृष्यहरूमा मज्जाले धुम्रपान गरिरहेका हुन्छन त्यसबाट झन विद्यार्थीमा नाकारात्मक असर परिरहेको हुन्छ । साना बालबालिकाले सानो अक्षरमा लेखिएको धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ देख्दैनन जुन चलचित्रमा धुम्रपान गरिरहेको व्यक्तिले सेवन गरिरहदा रमाइलो गरिरहेको देख्छन् । मद्यपान  सेवनपछि चलचित्रमा जसरी झगडा  र फाइट सिन अउछ तब बालबालिका एवं विद्यार्थीमा यसबाट झन तागत बढने हो की भनेर नाकारात्मक असर परिरहन्छ ।

धुम्रपानका कारण हुने क्षति न्यूनीकरण र सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने उद्देश्यले विश्व स्वास्थ्य संगठनको अह्वानमा मे ३१ तारिखमा विश्व धुम्रपान तथा सुर्ती रहित दिवस मनाउने गरिन्छ । यहि साता लकडाउनका बाबजुदपनि जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाइयो तर यसको प्रभाव र जनचेतना स्कुले बालबालिका र वैश्यकहरूमा कति परेको छ यो पछि अध्यययनको विषय होला । यदि अहिले प्रतेक विद्यार्थीले म सुर्तीजन्य पदार्थ सेवन गर्दैन भन्यो भने अर्को पुस्तामा सुर्तीजन्य उद्योग नै बन्द हुन सक्छ । विश्वमा हरेक ८ सेकेन्डमा सुर्ती खाने एक जनाको ज्यान जाने गरेको पाइएको छ । नेपालमा भने बर्सेनि सुर्तीजन्य पदार्थकै कारण २५ हजारभन्दा धेरै मानिसको ज्यान जाने गरेको सरकारी तथ्याङ्क छ । चुरोट सुर्तीले, खानेलाई मात्र नभएर यसको आसपासमा बस्नेलाई पनि असर गर्ने डाक्टरले बताउने गरेका छन् । धुम्रपान गर्ने धेरैजसोलाई फोक्सो र मुखको क्यान्सर हुने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तर पछिल्लो तथ्याङकले कलेजोमा पनि असर पर्ने देखाएको छ ।

गर्भवती भएका बेला सूर्ती तथा चुरोट खाँदा पेटमा भएको बच्चाको कलेजो बिगार्ने अनुसन्धानकर्ताले बताएका छन् । तर गाउघरमा गर्भवती महिला भए श्रीमती पनि सँगै बसेर सुर्तीजन्य पदार्थको प्रयोग गरिरहेकै हुन्छन । १८ वर्ष नपुगेका व्यक्तिलाई सुर्तिजन्य पदार्थ खरीद तथा बिक्री गर्न नपाउने कानूनी प्रावधान रहेपनि त्यसको प्रभावकारी कार्यान्वयन त कता हो कता मेरो गाउमा प्रहरीकै अगाडी धेरै बालबालिकाले सुर्तीजन्य पदार्थ किनबेच गरिरहेको देखेको छु । किराना पसल देखि चिया पसलसम्म सूर्तीजन्य पदार्थ खुलारूपमा किनबेच भइरहेकै हुन्छ यो एकदम सोचनिय बिषय हो । १८ वर्ष नपुगेका व्यक्तिलाई सुर्तिजन्य पदार्थ खरीद तथा बिक्री गर्न नपाउने कानूनी प्रावधान कार्यान्वयन प्रभावकारीरूपमा गर्न जनतासँग नजिक रहेको स्थानीय सरकार जागरूक हुन जरूरी छ ।

धुम्रपान तथा सूर्तीजन्य पदार्थको कुलतमा लागेपछि छुटकरा पाउन कठिन हुन्छ । धुम्रपान गर्ने सबैजसो व्यक्तीले यसबाट हुने स्वास्थ्यजन्य समस्याको बारेमा थाहा नपाएका कमै हुन्छन् । धुम्रपान तथा सुर्तीजन्य उत्पादन गर्ने प्रत्येक कम्पनीले यसबाट हुने हानिकारक समस्याको चेतावनी स्पष्टसँग उल्लेख गरिराखेकै हुन्छन् । जस्तै बिडी,चुरोट सुर्ती तथा अन्य सुर्तीजन्य बस्तुको बाहिरी प्याकेटमा यसका असर प्रष्टैसंग हामि देख्न सक्छौं । धुम्रपान गर्ने अधिकांश व्यक्तीहरू यसबाट हुनसक्ने असरबारे अनभिज्ञ हुँदैनन् । तर प्रत्येक बर्ष लाखौंको सङ्ख्यामा बृद्धि भई यसको सिकारबाट भने जोगिन सकेका छैनन् ।

विश्वका वयस्कहरू मध्ये करिब एकतिहाई पुरूषहरूले धुम्रपान गर्ने गरेको अपाइन्छ । यूवा पुस्ता पनि उत्तिकै मात्रामा यस्को सिकार भएको बिभिन्न अध्ययनले देखाएको छ। तर अधिकांश यूवाहरुले यसको प्रयोग लुकिछिपी गर्ने हुदा यसको एकिन तथ्यांक भने नहोला । धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ/हुन्छ भन्ने थाहा नभएको कोहि छैन भन्दा फरक नपर्ला यद्यपि धुम्रपानकै कारणले बर्सेनि लाखौ व्यक्तिको अकालमा  नै मृत्यु भइरहेको छ । यसबाहेक 50%क्यान्सर को सिकार हुन्छन् भने बाकी 50%कुनै न कुनै किसिमको स्वास्थ्य समस्या भोगिरहेका हुन्छन् । धुम्रपानबाट निस्किने विसालु धुवाले वातावरण प्रदुसित पार्ने हुदा धुम्रपान गर्ने व्यक्तीबाट नगर्ने व्यक्ति हरूको स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक उल्लंघन हुने अवस्था सृजना हुन पुगेको छ ।

चुरोट तथा सुर्तीजन्य बस्तुमा बिभिन्न प्रकारका रसायनहरू मिसाइएको हुन्छ ।  आजकाल चुरोट नपिउने युवा सायद बिरलै भेटिन्छन् । विद्यालय उमेरदेखिनै बालबालिका पनि आजभोलि चुरोटका अम्मली भएका छन्। चुरोटमा हुने निकोटिन तत्वका कारणले तलतलि लाग्ने भएकाले चुरोटको लत बस्छ यहि तत्वको कारणले यसप्रतिको लगाब झनै आकर्षित भएका हुन्छन् । यस लगायत चुरोट तथा सुर्तीजन्य पदार्थमा बिभिन्न हानिकारक तत्वहरू निकोटिन, आर्सेनिक, बेन्जिन, अलकत्रा, एसिटोन,कार्बन मोनोअक्साइड, फर्माल्डिहाइड,क्याड्मियम नाइट्रोजन अक्साइड, क्रोमियम,कपूर,एमोनिया,हाइड्रोजन साइनाइड, तथा सिसा जन्य बिभिन्न पदार्थको मिश्रण गरिएको हुन्छ । त्येही भएर यस्ता धुम्रपान तथा सुर्तीजन्य बस्तुबाट क्यान्सरको उच्च जोखिम हुन्छ ।

हामी कुनै पनि सार्वजनिक स्थल विद्यालय, अस्पताल, शौचालय, खेलमैदान लगायतका बिभिन्न स्थानमा “धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ” भन्ने नारा नभएको/नलेखिएको ठाउँ बिरलै भेट्छौ, तैपनि शिक्षित तथा सो संम्बन्धि विज्ञ व्यक्तिबाट पनि यसप्रति ध्यान नदिइएको या नगएको जस्तो देखिन्छ । धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनबाट दीर्घकालिन रोगको बढि खतरा हुने हुँदा यसबाट रोगसंग लड्ने प्रतिरोधात्मक क्षमता न्यून भई अन्य रोग समेत छिट्टै लाग्ने र ज्यान जाने खतरा अत्याधिक हुन्छ, उदाहरणका लागि बिश्वमा माहामारीको रूपमा फैलिएको कोरोना भाइरसले पनि बिशेषत: दिर्घकालिन रोग जस्तै मुटु,फोक्सो सम्बन्धी समस्या परेका व्यक्तिमा तुलनात्मक रूपमा बढी देखिने र सो व्यक्तिमा कोरोनाको कारणले हुने मृत्यु समेत उल्लेखनीय रहेको अध्ययन ले देखाएको छ ।

नेपाली समाजमा विकृति, विसंगती र कुलतमा फसेर आर्थिक र सामाजिक समस्या समेत निम्ताइरहेका छन् । नेपालको ग्रामिण भेगमा गरिबीको रेखामुनिको जनसंख्या उच्च भएतापनि आफ्नो कमाईको 10%  देखि 15% खर्च धुम्रपान तथा सुर्तीजन्य क्षेत्रमा खर्च गरि आर्थिक उपार्जन नहुदा नहुदै पनि बिलासिता गरिरहेका छन् । शिक्षा, स्वास्थ र आर्थिक रूपले उकरान्त सामाजमा यसै बस्तुहरूमा खर्च बढोत्तरी भएर समाज सृदृढीकरण हुन सकेको छैन्,  ग्रामिण भेगमा त कयौँ मानिसहरू धुम्रपानजन्य क्रियाकलापलाई धार्मिक रूपमै सेवन गराइरहेका छन यानकी आफैलाई आफैले नक्कलि शिवभक्त संज्ञा दिएर बसेका छन् । कैयौ मानिस जनचेतनाको अभाव त कैयौ मानिस अरूको लहलहैमा लागेर पनि यस्को सिकार भोग्न बाध्य भएका छन्। नेपाली समाजका अभिभावकहरू नै आफ्ना बालबालिकालाई किन्न लगाउने र अन्य यसै क्रियाकलापमा लगाएर झनै बिकराल रूपतर्फ केन्द्रित गराइराखेका छन, यसले झनै यो समस्या चुलिदै गइराखेको छ । मान्छेलाई नुनको पैसा समेत तिर्न धौ धौ भैरहँदा पनि धुम्रपान सेवन गर्नमा भने कुनै पनि किसिमले कम हुन दिएका छैनन् उसो त प्रत्येक वर्षको वजेट भाषणमा यस्ता धुम्रपान तथा सूर्तीजन्य बस्तुमा करको दायरा बढाइरहेका हुन्छन् । जति महंगो भएपनि सूर्तीजन्य पदार्थको किनबेचमा भने कुनै तात्विक फरक परेको छैन । हामी जस्ता युवा विद्यार्थीले सूर्तीजन्य पदार्थको प्रयोग नगरी यसको असरबारे जनचेतना फैलाउनु अपरिहार्य भएको छ ।

लेखक सगरमाथा मल्टिपल कलेज डिल्लिबजारमा बिबिए प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थी हुन ।

You can share this post!