राष्ट्रियसभा सदस्य चयन गर्न मतदान सुरु, भर्चुअल माध्यमबाट नतिजा

हेटौंडा –  बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य चयनका लागि मतदान सुरु भएको छ। बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढङ्गबाट सम्पन्न गर्न निर्वाचन आयोग प्रतिबद्ध र क्रियाशील रहेको जानकारी दिइएको छ ।

हेटौंडा महानगरपालिका वडा नम्बर ४, भुटनदेवी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान सुरु भएको हो। राष्ट्रियसभा सदस्यको रिक्त एक पदका लागि रामबहादुर थापा ‘बादल’, डा. खिमलाल देवकोटा र कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।

बादल एमालेका उम्मेदवार हुन् भने देवकोटा एमालेकै खनाल–नेपाल पक्षसहित काँग्रेस, माओवादी केन्द्रसहितका दलका साझा उम्मेदवार हुन् । तामाङ भने नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवार बनेका हुन् । प्रदेशसभा सदस्य, स्थानीय तहका प्रतिनिधि र कोभिड संक्रमित मतदाताका लागि छुट्टाछुट्टै मतदानको व्यवस्था मिलाइएको छ ।

उपनिर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य ११० र वाग्मती प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ कायम गरिएको छ । मतदातामध्ये प्रदेशसभा सदस्य पशुपति चौलागाईंको भने केही दिनअघि निधन भएको छ ।

राष्ट्रियसभा उपनिर्वाचनको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन मिलाइएको छ । प्रमुख निर्वाचन अधिकृत न्यायाधीश डिल्लीरत्न श्रेष्ठका अनुसार मतगणनाको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन गरिएको हो ।मतदान स्थल भुटनदेवी माविमै मतगणना गरी सोको नतिजा भर्चुअल माध्यम (जुम) मार्फत सार्वजनिक गर्ने योजना बनाइएको छ । मतगणना साँझ ५ बजेदेखि शुरु गरिने छ । आजै बेलुकासम्ममा नतिजा आइसक्ने जनाइएको छ ।

You can share this post!