२१ अाैँ शताब्दीमा युवा नेतृत्वको महत्व

बेद बोहरा

बिश्वमा जति पनि क्रान्तिकारी र युगान्तकारी परिवर्तनहरु भए सबैमा युवाको भुमिका रहेको कुरालाई कसैले नकार्न सक्दैन । चाहे फ्रान्सेली क्रान्ति होस या अमेरिकी स्वतन्त्रता सङ्राम या भारतको अजादिको आन्दोलन या २००७ सालको राणा शासन बिरुद्धको आन्दोलन किन नहोस । हरेक क्रान्तिमा युवाले अग्रनी मोर्चा रहेर ठुला ठुला क्रान्ति सफल पारेका हुन । यति ठुला ठुला आन्दोलन हाकेका युवाहरु अहिले कसरी राजनैतिक प्रणालीको सिकार हुँदै गएको छ । युवाहरु उर्जावान हुनुको साथै इमानदार पनि भएकोले युवालाइ परिवर्तनको सम्बाहक मानिन्छ । तर त्यही युवा जब भ्रष्ट राजनीतिको सिकार हुन पुग्छ अनि देश र समाजको समृद्धिको पथ अबरुध हुन जान्छ।आज नेपालको अवस्था यस्तै छ ।

ठुला ठुला आन्दोलनको सफल पश्चात् जब युवाहरु देशको बाग्डोर सम्हाल्न पुग्छ त्यति खेर युवाहरुको नैतिकता र इमानदारीताको असली परिक्षा सुरु हुन्छ । त्यो अवस्थामा युवाले देश र समाजप्रतीको जवाफदेहिता बिर्सियो भने देशले काचुली फेर्न सक्दैन । त्यही युवाहरु जब सत्ता र शक्ति आफ्नो ब्यक्ती हितको लागि उपयोग गर्न तिर लाग्छ । त्यतिखेर क्रान्तीबाट प्राप्त उप्लब्धी सस्थागत नहुनुको साथै देशलाई थप नयाँ चुनौतिको सामना गर्नु पर्दो रहेछ । कतिपय अवस्थामा देशमा प्रतिक्रान्तीको अवस्था सिर्जना हुन पुग्दछ । २०४६ सालको जन आन्दोलन पश्चात् देशले नया सम्बिधान पाउँदा समृद्धिको बाटो खुलेको अपेक्षा नेपाली जन्ताले राखेकै हुन तर त्यो सपना निराशामा परिणत हुन समय लागेन ।

देशमा प्रजान्त्र सस्थागत हुन नपाउदै अर्को क्रान्तिको शुरूवात भएको यथार्थ हाम्रो सामु छदैछ । त्यसको पछाडिको कारण खोज्दा देशको हित र जन्ताको मुलभुत समस्याहरुलाइ प्राथमिकता दिनुको साटो ब्यक्तीवादी चरित्र, सत्ता र शक्तिको चलखेलमा राजनैतिक पार्टीको सन्लग्नता आदि इत्यादि देख्न सकिन्छ । २०५२ फागुन १ गते देशमा माओवादी जनयुद्धको शुरुवात हुदा अधिकान्स युवाहरु गरिबी, भोकमरी, बेरोजगारी, बेथिती र भ्रस्टाचारबाट देशलाइ मुक्त गर्न जनयुद्धमा होमिन पुग्यो । देश परिवर्तनको सपना बोकेर जनयुद्धमा होमिएका मध्य १७००० युवाले आफ्नो ज्यानको आहुती समेत दिए ताकी देशको अवस्था एक दिन सुध्रिने छ । देशमा शिक्षा, स्वास्थ्य, रोजगारी, बिकास, शान्ती र सुशासनको सुनिश्चितता हुनेछ । माओवादी जनयुद्धले विभिन्न आरोह अबरोह र चुनौतिको सामना गरेर देशमा गणतन्त्रको स्थापना गर्न सफलता प्राप्त गरे ।

धेरै नया नेतृत्वहरु देशले पाए तर देशको काचुली फेर्ने सपना अधुरै रह्यो । जनताले परिवर्तनको अनुभुति पाउन सकेन । हिजो राजनीति र कर्मचारीतन्त्रमा अवसर नपाएका युवाहरु अवसर त पाए तर ब्यक्तिगत स्वार्थ, सत्ता लिप्सा र भोग बिलासमै रुमलिए । यस्तोमा प्रश्न उठ्छ कि क्रान्ती र परिवर्तनका हिमायती मानिने युवाहरु किन फेरि भ्रस्टाचारमा रुमलिए ? युवाहरु किन देश र समाजको वास्तविक परिवर्तनको लागि आट, साहस र इच्छाशक्ति देखाउन सकेन ..? यसको लागि कसलाइ जिम्मेवार मान्नेस् राजनैतिक प्रणाली, उदारवादि लोकतन्त्र, पुजीवादी अर्थतन्त्र या सामाजिक सस्कार .. ? राजनैतिक प्रणालीलाई दोश दिने हो पूंजीवादि अर्थतन्त्र तथा उदारवादी लोकतान्त्रिक शासन ब्यवस्था भएको मुलुक अमेरिका सन्सारकै शक्ति सम्पन्न देश मानिन्छ ।

समाजवादी शासन ब्यवस्थामा समस्या भएको भए जर्मनी र रसिया जस्ता युरोपियन युनियनका देशहरु आज शक्ति सम्पन्न र बिकसित देशको सुचिमा आउने थिएन।साम्यवादी शासन ब्यवस्था र नियंत्रित अर्थब्यबस्थामा समस्या भएको भए आज चीन जस्ता मुलुकहरुमा आर्थिक सम्पन्नता आउने थिएन । त्यसैले कुनै शासन प्रणाली देश बिकासको बाटोमा अवरोध हैन । शासन ब्यवस्था जस्तो सुकै होस त्यसलाइ चलाउने ब्यक्तिमा देश र समाजलाई बदल्ने इच्छा र साहस देखिए देशको मुहार फेर्न समय लाग्दैन । दोस्रो बिश्वयुद्ध पश्चात् धेरै जसो मुलुकहरू औपनिबेशिक शासनबाट मुक्त भएर बिकासको मामिलामा धेरै ठूलो छलाङ लगाएको देखिन्छ तर खासगरी तेस्रो बिश्वका देशहरू अझै पनि राजनैतिक चलखेल, सत्तालिप्सा, भोगबिलास र परिवारवादमा अल्झिएर देश र जन्तालाई भ्रमित पार्दै राजनीतिलाई गरिखाने भाडो बनाएर लुट्नमा माहिर देखिन्छ ।

त्यसैको सिकार आजको युवा पुस्ता भएको यथार्थ हाम्रो सामु छ । जहाँ यस्तो अवस्था हुन्छ, त्यहाँ लोकतन्त्र, मानव अधिकार, शान्ती, सुशासन, जनताको मौकिक अधिकार, शिक्षा, स्वास्थ्य, गरिबी र बेरोजगार जस्ता बिषयमा बहस र छलफलले प्राथमिकता पाउदैन । बहस हुन्छ त मात्र सत्ता प्राप्ती र भोटको राजनीति जस्ता बिषयले । त्यसैको लागि युवाहरूलाई सबैभन्दा बढी प्रयोग गरिन्छ । युवाहरूलाई उपयोग गर्ने सबभन्दा उतम तरिका हो देशमा बेरोजगारी, अशिक्षा, गरिबी, हत्या हिंसा, असमानता, छाडातन्त्र, अराजकता र भ्रष्टाचार जस्ता कुराहरुलाई बढावा दिनु । जहाँ यो बिषयबस्तुले प्रमुखता पाउछ । त्यहाँको युवाहरुलाई बिरोजगार बनाएर सजिलै उपयोग गर्न सकिन्छ । आज युवाहरूको जोश जागर र उर्जालाइ करियर बनाउने भन्दा राजनिती र कमिशन खोरिमा तान्ने प्रयास गरिदैछ । देशको अर्थतन्त्र र समाजिक ब्यवस्थालाई यसरी तवाह गरेको छ कि इमानदार नागरिकको जन्म हुन मुश्किल छ ।

त्यसैको परिणामस्वरूप आज इमानदार युवा नेतृत्वको बिकास हुन सकेको देखिदैन । हरेक पार्टिमा आफुलाइ हनुमान वा भक्तको माध्यमले राजनीतिमा स्थापित हुने युवाको होडबाजी छ । यस्तो राजनैतिक संरचना निर्माण गरेको छ कि युवा या त दलाल बन्छ या भ्रष्ट राजनीतिकर्मी । देशमा न रोजगार छ न आत्म सम्मानपुर्वक बाच्न पाउने बाताबरण । त्यसैले आजको युवा सङ धेरै बिकल्प छैन । चाटुकारी वा हनुमान बनेर जुन युवाहरु राजनीतिमा मौका पाउछन । तिनिहरु पनि देशको मुलभुत समस्यामा अधारित भएर आफ्नो कुरा राख्न सक्दैन । तिनीहरु पनि त्यही भ्रष्टतन्त्रको एउटा हिस्सा बन्न पुग्दछ। देशमा शान्ति, सुब्यवस्था, सुशासन, शिक्षा, स्वास्थ्य, महङाइ नियन्त्रण जस्ता कुराहरुमा सरकारको ध्यान केन्द्रीकृत नभएको देख्दा कर्मचारितन्त्रमा अवसर पाएका युवाहरु पनि भ्रस्टाचार र कमिशनखोरिको चक्करमा लागेर आफ्नो र परिवारको भविष्य सुरक्षित गर्न रातारात करोडपति बन्ने सपना देख्न लागेका छन ।

देशमा अवसर वा रोजगारी पाउन नसकेका ४५ लाख युवा पारिश्रमिक गर्न खाडि लगायत युरोप बिदेशिन बाध्य छन् बाकी युवाहरु आफ्नो परिवारिक जिम्मेवारी पूरा गर्न दलाली र कमिशनखोरी जस्ता कार्यहरुमा सन्लग्न हुन्छन । यदि यस्तै काममा युवाहरु सन्लग्न भए देशको बिकास कसरी सम्भव होला । सधै आफू र देशलाइ असुरक्षित राखेर कसरी बस्न सकिन्छ । देशमा सबैखाले असमानता, अन्याय, अत्याचार, बेथिति र कुरितीको बारेमा हामी नबोले । कसले बोल्ने ? हामी अहिले नबोले कहिले बोल्ने ? सन्सारमा हामी भन्दा कमजोर अर्थतन्त्र भएका देशहरु आज समृद्धिको बाटोमा लम्कीसक्यो । हामी कहिले सम्म भ्रष्ट राजनीतिको सिकार भएर गोटिको रुपमा उपयोग हुने ? हाम्रो समाज बनाउने जिम्मा अहिलेको युवा पुस्ताको हो ।

देशलाई समृद्धि बनाउनको लागि कुनै न कुनै पुस्ताले जोखिम लिएर पनि देशको हितमा उभ्नै पर्छ । त्यसैले आज देशलाइ अगाडि लिएर जाने युवा नेतृत्वको खाचो छ, न कि दलाल र भ्रष्ट युवाको । देशमा भैरहेको सबैखाले अन्याय र अत्याचारको बिरुद्धमा बोल्ने युवा नेतृत्वको खाचो छ । देशमा ब्याप्त भ्रष्टाचार र अनियमितताको बिरुध बोल्ने युवा नेतृत्वको खाचो छ । देशमा पार्टी, गुट उपगुट, जात, धर्म, भासा र क्षेत्रीयताको सोचबाट माथी उठेर देशको समृद्धिको सपना साकार पार्ने युवाको खाचो छ । यदि आजको युवा पुस्ताले यो जिम्मेवारी बहन गर्न सकेन भने आउने भावी पुस्ताले हामिलाई नै धिकारने छ ।

You can share this post!