एउटा क्रान्तिकारी जोधाहा ढलेको त्यो दिन स्मृतिमा कमरेड संसारसेन

लक्ष्मण चौलागाईं बिद्रोही

“सदियौं देखि थिच्चिएको, पिल्सिएको, उत्पीडित बनाई सामन्ती सत्ताले गुम्स्याएर राखेको, विभिन्न जात र बर्गको नाममा मानवले मानवको बरोबर सम्मान नपाएको ज्युंँदो पृष्ठभुमि विरुद्द विद्रोह गर्नुपर्दछ र जनताका समानता र जनाधिकारले जनता सम्पन्न र शक्तिशाली बनाउनुपर्दछ अनि मात्रै कम्युनिस्ट राज्य स्थापना गर्न सकिन्छ भन्ने विश्वासको जगमा १८ वर्षको उमेरदेखी बामपंथी विचारसँग जोडिनुभएका कमरेड संसारसेन पृथकको जन्म २०३५ साल चैत्र ९ गते जाजरकोट जिल्लाको लहँ गाविस स्थित बुवा नन्ने विक र आमा धनसरिका कोखबाट भयो ।

उहाका एक दिदी एक बहिनी, एक दाजु र उहाँ समेत गरि ४ सन्तान मध्ये संसारसेन कान्छा छोराको रुपमा जन्मनुभएको थियो । महान् सपना र जनताका मुक्तिका उद्देश्य बोकेर दस वर्षे जनयुद्धको बलिभेदीमा होमिएका एक योद्धा कमरेड संसारसेन पृथकको आज जन्मदिन नभएर प्रथम स्मृती तिथि आइपुगेको यो दु:खद घडीमा खै कसरी संस्मरण गरौं, स्तब्ध, मर्माहत र नि:शब्द भएको छ कलम । ९ वर्षको उमेर पुगेपछि बिक्रम सम्बत् २०४४ साल देखि ४९ सालसम्म निर्मलज्योती प्रावि लहँथाप्ला जाजरकोटमा उहाँले प्राथमिक शिक्षा हासिल गर्नुभयो । ५० साल देखि ५५ सालसम्म निमावी तह र मावी तहको शिक्षा भानुभक्त मावीबाट ग्रहण गर्दै गर्दा ०५३ सालदेखी कम्युनिस्ट राजनितिप्रती संसारसेनको आस्था जोडिनुमा उत्पिडित समुदायका विभिन्न ज्यादती देखेका र भोगेका संसारसेनको अन्तर्कथा पनि एक हो ।

तत्पश्चात उहाँ ५६ सालमा पूर्णकालीन भै ०५९ देखि ०६१ सम्म पार्टीको जिल्ला कमिटी सचिवालयमा रहि काम गर्नुभयो । ०६१ बैशाख ७ गते वाइसीएलको जाजरकोट जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेका कमरेड संसारसेनको विवाह पनि उसै साल क्रान्तिकारी जोधाहा एवम् युद्ध मोर्चाकि सहयात्री सहयोद्दा कमरेड प्रतिज्ञा चौलागाईंसँग जनवादी प्रकृयाले भयो । तानसेन, सुनौल, गण्डक र बुटवलका भिडन्तहरुमा कमान्डरको भूमिका निर्वाह गर्नुभएका कमरेड संसारसेन क्रान्तिको प्रकृयामा पार्टीको छैठौं डिभिजन सत्वारीया बृगेडमा सहायक बटालियन कमान्डरको जिम्मेवारी ग्रहण गर्न सफल हुनुभयो । एक इमानदार जनप्रेमी, साहित्य सिर्जनामा अब्बल संसारसेन कमरेड क्रान्तिकारी विचारका अब्बल कलम र जनताको प्रिय योद्धा भएको कारण पार्टीको उपब्युरो सदस्य सम्मको हैसियत प्राप्त गर्न सफल हुनुभयो

पढाईमा तेज भएका संसारसेन जसको उद्देश्य शिक्षक, पत्रकार, डाक्टर, इन्जिनियर र पाइलट बन्ने सपना बनेन बरु बन्यो संसार बदल्ने सपनाको महा अभियान / समाजका बेथितीहरुको अन्त्य गर्दै समाजमा सिस्टम बदल्ने,जनताका दुख, कष्टहरु विस्थापित गरेर जनताका वर्तमानहरु स्थापित गर्ने, मुलुकका जनतालाई स्वतन्त्र बनाउने, सम्पूर्ण विभेद र विद्यमान सामन्ती प्रबृत्तिको जरैदेखि उखेल्ने र जनवादी केन्दृयता स्थापित गर्ने अभियानमा भित्र मनदेखी समर्पित एक योद्दा कमरेड बीरबहादुर विक जो नेपाली कम्युनिस्ट आन्दोलनभित्र संसारसेन पृथकको नामले सुपरिचित हुनुहुन्थ्यो । इतिहासका पन्नापन्नामा, युद्दका डोबहरुमा, बलिभेदीका रणसंग्राम सुनौल, गण्डक, बुटवल र तानसेनका मोर्चाहरुमा कमरेड संसारसेनले गरेका योगदान इतिहासले कहिल्यै नमेटिने गरि जिवित राखोस भन्ने अभिप्रायले उहाँको संस्मरण गर्न क्रान्तिकारी योद्दाको सम्झना र सम्मान स्वरुप संसारसेन स्मृती ग्रन्थ प्रकाशित हुँदै गरेको खबर प्राप्त भएपछी मेरा मनमा उब्जिएका र स्मृतिभरी अटाइरहनुभएका कमरेड पृथकको संस्मरण नलेखी बस्नै सकिएन ।

संसारमा थुप्रै मान्छेहरु दिनानुदिन जन्मिरहेका हुन्छन् त्यति नै मान्छेहरु दिनानुदिन ढलिरहेका हुन्छन् तर सबै जन्म र सबै मृत्युहरु ऐतिहासिक हुदैनन् कतिपय मृत्युहरु २/४ सालपछी भुल्दै जाने बेखबर हुने किसिमका हुन्छन् भने कतिपय मृत्युहरु वीर भीमसेन थापा बनेर कहिल्यै नमेटिनेगरि जनताका मनमा र इतिहासका पन्नापन्नामा जिवन्त रहन्छन् । त्यस्ता मृत्तुवरण गर्न पाउने मन्छेहरु पृथक हुन्छन् ।तर कमरेड पृथकले थुप्रै मृत्युहरुलाई कुल्चिएर थुप्रै मोर्चा जिते पनि आफैले लडेर ल्याएको परिवर्तनले उहालाई स्वदेशमा विकल्प देखाएन ।मध्यम बर्गीय परिवारमा जन्मेका संसारसेनले मुलुकमा गणतन्त्र ल्याएर खाडीको मलेसियामा ०७२ साल जेठ २५ गते रोजगारको लागि बिमानमा उडे तर संसारसेन घर आउने बाटो कुर्दै बसेका परिवारले ०७७ सालमा संसारसेन मलेसियामा नै ढलेका खबर पाए ।

लामो समयको प्रतिक्षापछी संसारसेन लगायत दर्जनौंका शबहरु बोकेर जहाज बिमानस्थल उत्रीयो । संसारसेनकी जीवन साथी प्रतिज्ञाले उहाको शव रिसिभ गरेर अन्तिम रक्तिम सलाम सहित राप्तीको नदिमा दाहसंस्कार गर्नुभयो । एक छोरा र एक छोरीका बुवाको अन्तिम विदाइ मात्रै थिएन त्यो, एउटा कम्युनिस्ट विचारको योद्धाको समूल भौतिक अवसान चाहिँ थियो । त्यो दिन कमरेड संसारसेनले आफ्नो जीवनकालमा गर्नुपर्ने जति महान कार्य गरिसक्नुभएको अन्तिम दिन थियो भने हामी आम नागरिकको लागि त्यो दिन एउटा आशाको दियो सदाको लागि निभेको दु:खद दिन थियो । युद्धका मोर्चामा नहारेको सिपाही क्रान्तिका मोर्चामा नगलेको सिपाही जीवन सँग संघर्ष गर्दागर्दै हृदयघातले प्रवासको बिरानो शहर मलेसियामा राती सुतिरहेको अवस्थामा हृदयघातले संसारसेनको प्राणपखेरु ढालिदियो तर कमरेड संसारसेनका अमर ईतिहास,बलिदान ,योगदान र त्यागलाई कुनै काल्पनिक ईश्वर र भौतिक अस्त्रले कहिल्यै ढाल्न सक्नेछैन ।

बरु क्रान्तीवीरहरु जन्मेर नंया नंया परिवर्तन र जनताका सपनालाई सार्थक पार्न अभ्यस्त रहन्छन् संसारसेनले छोडेका महानतम विचारहरुको जगमा । अनि त्यतिबेला संसारसेनका विचारहरुले सम्मान पाउन थाल्नेछन्, दिनहिन, उत्पिडित बर्ग र समुदायको नौलो विहानीको अभ्युदय भएपछी हजारौं संसारसेनका योगदानहरुका कदर हुनेछन् र मुक्तिकामी जनताका एजेन्डाहरु संस्थागत हुनेछन् । त्यो दिन हजारौं संसारसेन कमरेडहरुको योगदानले थप महत्व पाउन थाल्नेछ । अन्त्यमा, कमरेड संसारसेन तपाईमा संसार बदल्ने पृथक क्रान्तिकारी विचार, योगदान र मर्म अनि सपना भएतापनि यो तिथि हाम्रो लागि दु:खद छ । मृत्यु मानव चोलाको नटारिने विधान र अकाट्य सत्य भएकोले क. संसारसेन फेरि पनि जनताको अवस्था बदल्न जन्मिरहनुस । लालसलाम कमरेड आज तपाईको पुन्य तिथि हार्दिक श्रद्धासुमन

प्रकाशाेन्मुख कृति संसारसेन स्मृतिग्रन्थबाट

You can share this post!