कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने चार जना एमाले सांसद पदमुक्त

काठमाडाैँ – नेकपा एमालेले कर्णाली प्रदेशका चार जना सांसदलाई पदमुक्त गरेको पत्र प्रदेशसभामा पेश गरेको छ । माधव नेपला समूहका चार जना सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पक्षमा मतदान गरेका थिए । आइतबार एमाले संसदीय दलका नेता यमलाल कँडेलले चार जना सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढालाई प्रदेशसभा सदस्य पदबाट मुक्त गराइएको पत्र प्रदेशसभामा दर्ता गरेका हुन् ।

उनीहरुलाई प्रदेश संसदीय दल वैशाख ३ र एमाले केन्द्रीय कमिटीको ६ गते बसेको बैठक स्पष्टिकरण सोधेको थियो ।गैरजिम्मेवार, असंसदीय र लज्जास्पद गतिविधिबाट संसदीय लोकतन्त्र र दलीय पद्धतिमाथि आँच आउने काम गरेकाले उनीहरुलाई प्रदेशसभा संसदीय दलको सदस्य, प्रदेशसभा सदस्य र पार्टीको साधारण सदस्य समेतबाट निष्काशन गरेको पत्रमा उल्लेख छ । सभामुखले पदमुक्त भएको सूचना जारी गरेपछि उनीहरु औपचारिक रुपमा पदमुक्त हुनेछन् ।

You can share this post!