एमाले सांसदकाे फ्लोर क्रसले मुख्यमन्त्री शाहीको पद जोगियो

सुर्खेत – कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ । एमालेका सांसदले फ्लोर क्रस गरेपछि मुख्यमन्त्री शाहीको पद जोगिएको हो । एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाही अल्पमतमा परेका थिए । शुक्रबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिएका हुन् ।

 मुख्यमन्त्रीको पक्षमा माओवादीका १२, काँग्रेसका ६ र एमालेका ४ जना सांसदले मत दिएका हुन् । एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री शाही अल्पमतमा परेका थिए । तर उनले शुक्रबार विश्वासको मतका लागि आवश्यक पर्ने २० मतमा २२ मत पाएका छन् । ३९ सदस्यीय प्रदेश सभामा एमाले एक्लैका सभामुखसहित २० सांसद छन् । 

शुक्रवारको बैठकमा ३७ सांसद उपस्थित थिए । यस्तै माओवादीका १२, काँग्रेसका ६ र राप्रपाका एक सांसद छन् । प्रदेश सभामा एक्लै बहुमत भएकाले एमालेले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने कसरत गरिरहेको थियो । तर शुक्रबार एमाले नेता माधवकुमार नेपाल पक्षका प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीले फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीलाई साथ दिएपछि एमाले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने प्रयासमा असफल भएको छ । 

You can share this post!