संसदमा विश्वासको मत माग्ने प्रधानमन्त्रीको संकेत, विश्वास गुमाए निर्वाचनमा जाने तयारी

काठमाडाै – प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत माग्ने संकेत गरेका छन् । सोमबार बसेको मन्त्रीपरिषद वैठकमा उनले विश्वासको मत माग्ने संकेत गरेका हुन । प्रधानमन्त्री ओलीले सोमबार नै आफुसंग संसदमा बहुमत रहेको भन्दै राजीनामा नदिने बताएका थिए । उनले माओवादीको समर्थन आफुलाई नचाहिएको भन्दै समर्थन फिर्ता लिन माओवादीलाई आग्रह समेत गरेका थिए ।

सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनःस्थापना गरेसंगै मुलुकमा राजनीतिक अस्थिरता बढिरहेको छ । सरकार र सभामुखको कारण संसदले समेत काम गर्न नसकेको अवस्था छ । सोमबारको मन्त्रीपरिषद वैठक कोभिड–१९ विरुद्धको रणनीतिका विषयमा केन्द्रित भएपनि वैठकको अन्त्यमा प्रधानमन्त्रीले विश्वासको मत लिनेतर्फ संकेत गरेको एक मन्त्रीले बताए ।

माओवादी केन्द्र र एमालेकै माधव नेपाल समुहले प्रधानमन्त्रीको राजीनामा मागिरहेका बेला प्रधानमन्त्रीले विश्वासको मत लिने संकेत गरेका हुन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयां सरकार गठनका लागी कांग्रेस र राजपासंग घनिभुत छलफल गरेपनि उनकै दलले भने सरकारलाई दिएको समर्थन कायमै राखेको छ । त्यसको जनस्तरमा आलोचना समेत भएको छ ।

प्रधानमन्त्रीले राजीनमा नदिएको र कांग्रेस र जनता समाजवादी पार्टीले पनि कुनै निर्णय नलिंदा राजनीतिक गतिरोध उत्पन्न भएको छ । प्रधानमन्त्री ओली सबैसंगको विश्वासको मत माग्ने अवस्थामा पुगेको बताइन्छ । ‘प्रधानमन्त्रीले अव विश्वासको मत लिने समय आएको संकेत गर्नुभएको छ । चांडै नै त्यसको लागी उहांले कदम चाल्नुहुन्छ ।’ निकट स्रोतले काठमाण्डुपाटीलाई भन्यो ।

संविधानमा प्रधानमन्त्रीले चाहेको समय विश्वासको मत लिन पाउने प्रावधान छ । प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिएको अवस्थामा र उनलाई संसदले विश्वासको मत दिएको खण्डमा ओली नेतृत्वको सरकारले नै दुई वर्ष काम गर्नेछ । उनले विश्वास गुमाएको अवस्थामा समेत संसदको सबैभन्दा ठुलो दलको हैसियतमा ओलीले नै नयां सरकार गठनको लागी पहल गर्नेछन् । नयां सरकार बन्न नसकेको अवस्थामा पनि फेरी संसद विघठनको बाटोतिर मुलुक जानेछ ।

संसद विघठन भएको अवस्थामा प्रधानमन्त्री ओली, विपक्षी दलका नेता शेरबहादुर देउवा र जसपा अध्यक्ष महन्थ ठाकुर आगामी मंसिरमा दुई चरणमा चुनाव गराउनेमा छलफलमा रहेको स्रोत बताउंछ । माओवादी केन्द्रले प्रधानमन्त्रीका लागी देउवा र ठाकुरलाई आग्रह गरेपनि कुनै निर्णय गर्न नसक्नुको पछाडी यही कारणले काम गरेको धेरैको बुझाई छ ।

You can share this post!