नेपाल पुनर्बीमा कम्पनीले सार्वजनिक गर्‍याे दोस्रो त्रैमासिक वित्तीय विवरण

काठमाडौं – नेपाल पुनर्बीमा कम्पनीले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको कुल बीमाशुल्क आर्जन गत आवको दोस्रो त्रैमासभन्दा चालू आवको सोही अवधिमा १५ दशमलव २९ प्रतिशतले वृद्धि भएको छ। गत आवको दोस्रो त्रैमासमा ३ अर्ब ५८ करोड रुपैयाँ कुल बीमाशूल्क आर्जन गरेको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि भएर ४ अर्ब १२ करोड ८२ हजार रुपैयाँ पुर्‍याएको छ। चालू आवको दोस्रो त्रैमासमा कम्पनीले निर्जीवन बीमा व्यवसायबाट ४५ करोड ४३ लाख रुपैयाँ र जीवन बीमा व्यवसायबाट ८ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

कम्पनीले गत आवको दोस्रो त्रैमासमा निर्जीवन बीमा व्यवसायबाट ५६ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो। यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा यस आवमा १९ प्रतिशतले कमि आएको हो। त्यसैगरी कम्पनीले गत आवको दोस्रो त्रैमासमा जीवन बीमा व्यवसायबाट ६ करोड १ लाख रुपैयाँ नाफा कमाएको थियो। यो नाफा गत आवको तुलनामा यस आवमा ३७ प्रतिशतले वृद्धि हो। त्यस्तै कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा पुनर्बीमा कमिशनबापत १ करोड ६३ लाख ४९ हजार, लगानी कर्जा तथा अन्यबाट १२ करोड ८३ लाख रुपैयाँ आम्दानी गरेको छ भने पुनर्बीमा कमिशनबापत ९९ करोड ८ लाख रुपैयाँ खर्च गरेको छ। चुक्तापूँजी १० अर्ब रुपैयाँ रहेको उक्त कम्पनीले उक्त अवधिसम्ममा जगेडा कोषमा २ अर्ब ८७ करोड १० लाख रुपैयाँ र बीमा कोषमा २ अर्ब ३ करोड रुपैयाँ सञ्चित गरेको छ। चालू आव दोस्रो त्रैमाससम्मा कम्पनीले १ अर्ब २८ करोड ८५ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने १ अर्ब ८२ करोड ५९ हजार रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ।

सोही अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १० दशमलव ७४(वार्षिकीकरण), मूल्य आम्दानी अनुपात ७८ दशमलव ९७ र प्रतिशेयर नेटवर्थ  १५५ दशमलव २६ रुपैयाँ रहेको छ। कम्पनीले गुणस्तरीय सेवा कारण जीवन तथा निर्जीवन बीमा कम्पनी, पुनर्बीमामा दलाल र अन्तरराष्ट्रिय पुनर्बीमकहरुको विश्वास हासिल गर्न सक्षम भएको वित्तीय विवरणमा उल्लेख गरेको छ। अगामी दिनमा सबै कार्यक्षेत्रमा अझ बढी सेवा विस्तार गर्दै जाने रणनीति लिएको कम्पनीले बताएको छ। कम्पनीको शेयर मूल्य दोस्रो बजारमा गत बिहीवारसम्म प्रतिकित्ता १ हजार ४४८ रुपैयाँ कायम रहेको छ।

You can share this post!