तीन हप्ता विधालय बन्द गर्ने सीसीएमसीकाे निर्णय

काठमाडाै – कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना भाइरसको संक्रमण बढेको भन्दै तीन साता विद्यालय र शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । शनिबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले देशमा कोरानाको नयाँ भेरिएन्ट (प्रजाति) को संक्रमण देखिन थालेपछि सरकारले विद्यालय बन्दसहितको ११ बुँदे निर्देशिका जारी गर्ने तयारी गरेको छ ।

उपप्रधानमन्त्री एवं सीसीएमसीका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकले पारित गरेको प्रस्ताव अनुमोदनका लागि मन्त्रिपरिषद् बैठकबाट पारित भएपछि लागू हुनेछ । त्यस्तै सीसीएमसीले रात्रिकालीन व्यवसाय राति १० बजेबाट प्रतिबन्ध लगाउने निर्णय गरेको छ । बैठकले जनस्वास्थ्यका मापदण्ड कडाइसाथ पालना गर्न र नयाँ प्रजातिको कोरोनाबाट बच्न आम नागरिकमा अपिल पनि गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालले कोरोनाको संक्रमण बढेको र नयाँ भेरियन्टसमेत देखापरेको भन्दै सतर्कता अपनाउन राष्ट्रिय रूपमा अपिल गर्ने निर्णय गरेको जानकारी दिए । उनले कुनैपनि क्षेत्रबाट स्वास्थ्य मापदण्ड पालना नभई अटेरी रुपमा सञ्‍चालनमा आएको पाइए कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने पनि बताए ।

You can share this post!