हप्ता दिनमा १६ अंक बढ्यो नेप्से

काठमाडाै – विगत केही साता ओरालो लागेको नेप्से परिसूचक, यस साता भने उकालो लागेको छ।

गत साताको अन्तिम कारोबार दिन २५४८.४८ विन्दुमा बन्द भएको नेप्से, यस साता १६.६१ अंक अर्थात ०.६८ अंक बढेर २४७५.०९ विन्दुमा पुगेको छ। यस साता सेन्सेटिभ इण्डेक्स भने सामान्य घटेको छ। समीक्षा अवधिमा यो इण्डेक्स १.०८ अंक घटेर ४४४.१५ विन्दुमा पुगेको छ।

यस साता फ्लोट इण्डेक्स १.१२ अंक बढेर १७०.०७ विन्दुमा पुगेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३५ अंक बढेर १४४.२७ विन्दुमा पुगेको छ।

नेप्सेसँगै यस साता कारोबार रकममा पनि सुधार भएको छ। यद्यपि, औषत कारोबार रकम भने घटेको छ। गत साता १३ अर्ब ८५ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो। यस साता २० अर्ब ६१ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। गत साता ३ कारोबार दिन मात्र बजार खुलेका कारण कारोबार रकम कम देखिएको थियो।

यस साता नेप्सेको कुल बजार पूँजीकरण ३० अर्ब रुपैयाँ बढेको छ। गत साताको अन्तिम कारोबार दिन ३३ खर्ब ८७ अर्ब रुपैयाँ रहेको पूँजीकरण यस साता बढेर ३४ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ।

यस साता पनि होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १९.२८ प्रतिशत बढेको छ। गत साताको बिहीबार २४०४.६६ विन्दुमा रहेको यस उपसमूहको परिसूचक यस साता ४६३.६२ अंक बढेर २८६८.२८ विन्दुमा पुगेको छ। त्यसैगरी, यस साता उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूच्क ३ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबारमा आएका म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहका परिसूचक यस साता घटेका छन्। जसमध्ये सबैभन्दा बढी व्यापार उपसमूहको सर्वाधिक ५.७७ प्रतिशत घटेको छ।

यस साताको मोस्ट पपुलर बाइ स्टकको सूचीमा चन्द्रागिरी हिल्स, रैराङ्ग हाइड्रोपावर, पाँचथर पावर कम्पनी, पञ्चकन्या माइ हाइड्रोपावर, लगायतका कम्पनीहरु परेका छन्।

त्यसैगरी, साताको मोस्ट पपुलर सेल स्टकको सूचीमा पोखरा फाइनान्स, आशा लघुवित्त, एनएमबी ५० लगायतका स्टकहरु परेका छन्।

You can share this post!