बालुवाटारमा प्रधानमन्त्रीले भने- लौ हिँड केटा हो, म तिमीहरूलाई राम-सीताका मूर्ति देखाउँछु

माडीका मेयर भन्छन्–चेपाङहरू त्रिपालमुनि सुतिरहँदा रामलाई ल्याएर मन्दिरमा सुताउँदा अन्याय हुन्छ।

माघ २५, काठमान्डौ। आइतबार बिहान नेकपा चितवनका युवा नेता सुदीप रेग्मीले फेसबूकमा लेखे, ‘अयोध्याधामको लागि तयार गरिएको राम-सीताको मूर्ति आफ्नै आँखाले देखेर आइयो। अब माडीलाई मणि बनाउने सम्माननीय प्रम ओलीको सपना पुरा हुने लक्षण देखिँदैछ।’

सँगै उनले दुई वटा फोटो राखेका थिए। एउटामा रेग्मीसहितका व्यक्तिसँग प्रधानमन्त्री केपी शर्मा ओलीले फोटो सेसन गरेका छन्। अर्कोमा राम र सीताको पूर्ण कदको मूर्ति छ।

माघ १७ गते चितवनमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माडीको अयोध्यापुरीमा अयोध्याधाम निर्माण गर्न बृहत् गुरूयोजना बनिरहेको र रामको मूर्ति तयार भइसकेको बताएका थिए।

‘राम मन्दिरको गुरूयोजना तयार हुँदैछ। रामको भव्य मूर्ति तयार भइसकेको छ। सीताको बनिरहेको छ। अब लक्ष्मण र हनुमानको पनि बन्छ। अर्को साल रामनवमीमा हामी रामजन्मभूमि अयोध्यापुरीमा भव्य ढंगले प्राणप्रतिष्ठा गर्नेछौं,’ उनले भनेका थिए। उनले यसको अर्थ महत्वपूर्ण भए पनि सोही क्षेत्रबाट निर्वाचित नेताले बेवास्ता गरेको दाबी गरेका थिए।

‘अयोध्यापुरी अब विश्वभरका हिन्दु, संस्कृतिविद्, पुरातत्वविद्, सभ्यताविद्हरुको गन्तव्यस्थान हुनेछ, पर्यटकीय स्थल हुनेछ। धेरै तिर्थालु भक्तजनको त्यहाँ गन्तव्यस्थल हुनेछ,’ उनले भनेका थिए, ‘हामी रिउ अर्थात सरियू नदी त्यसको व्यवस्थापन, पुलहरूको व्यवस्थापन, नदीहरूको तटबन्धको व्यवस्थापन आदि गर्नेछौं। मैले भनिराख्नुपर्ला जस्तो लाग्दैन यो भूमि असाधारण सम्भावना बोकेको भूमि हो।’

रेग्मीले प्रधानमन्त्रीले चितवनमा सम्बोधन गरेको एक हप्ताभित्रै रामको मात्र नभई सीताको मूर्ति पनि तयार भइसकेको आफ्नै आँखाले देखेको बताए।

‘मन्दिर ढिलो चाँडो बन्ला भन्ने सोचे पनि यति छिटो काम भएको होला भन्ने सोचेकै थिइनँ,’ उनले भने, ‘प्रधानमन्त्री निवास बालुवाटारमै मूर्तिहरू देखेपछि त दंगै परियो।’

शनिबार आफूलाई भेट्न आइपुगेका सहकारी संस्थाका अगुवा कार्यकर्तामध्ये चितवनका युवालाई पनि देखेपछि प्रधानमन्त्रीले ‘लौ हिँड केटा हो, म तिमीहरूलाई मूर्ति देखाउँछु’ भन्दै मूर्ति राखिएको ठाउँमा पुर्‍याएका थिए। सहकारी संस्थाको प्रतिनिधित्व गर्दै प्रधामन्त्रीलाई भेट्न पुगेका नेकपाका नेता रेग्मीले भने, ‘प्रधानमन्त्री त माडीमा राम–सीताको मन्दिर बनाउन असाध्यै दृढ भएर लाग्नुभएको रहेछ।’

नेकपाको ओली समूहकी नेतृ पार्वती रावलले प्रधानमन्त्रीले केही दिन भित्रैमा हनुमान र लक्ष्मणको मूर्ति पनि तयार पार्ने र संस्कृति, पर्यटन मन्त्रालयसँग छलफल गरेर काम अघि बढाउने तयारी गरेको बताइन्।

‘राम मन्दिर बन्न लागेको क्षेत्रका जनप्रतिनिधिसँगै म पनि शनिबार प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेको थिएँ। उहाँ अब द्रूत गतिमा काम अघि बढाउनुपर्छ भन्नेमा हुनुहुन्छ,’ रावलले भनिन्, ‘चितवनको जनसभामा घोषणा गरेअनुरूप नै प्रधानमन्त्री लाग्नुभएको छ।’

रावलकाअनुसार उक्त मूर्ति प्रधानमन्त्रीले आफ्नै खर्चमा तयार पारेका हुन्। राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिसमेत रहेकी रावलले चितवनमा अयोध्याधाम बनाउन लागिएको विषय आफ्नो कार्यक्षेत्रअन्तर्गत पनि पर्ने भएकाले सरोकारवाला निकायसँग छिट्टै छलफलमा जुट्ने तयारी भएको बताइन्।

प्रधानमन्त्रीले राम मन्दिरको गुरुयोजना बनिरहेको दाबी गरे पनि मन्दिर बन्ने क्षेत्र तय नै भइसकेको छैन। माडी नगरपालिकाले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र रहेको १०० बिघा जमिन मन्दिरका लागि उपलब्ध गराउने सिफारिस गरेको भए पनि मन्त्रिपरिषद्ले निर्णय गरिसकेको छैन।

‘डिपिआर तयार गर्नुअघिका धेरै प्रकृया हुन्छन् ती सुरू भएकै छैनन्,’ राम मन्दिर निर्माणका लागि बनेको अयोध्याधाम खोज तथा अनुसन्धान समितिका संयोजक नारदमणि पौडेल भन्छन्, ‘गुरूयोजना, डिपिआर बनिसक्यो भन्ने खालका समाचार पनि आए, त्यो सत्य होइन।’

माडीबासी अयोध्याधाम निर्माणको काम छिटो सुरू होस् भन्ने पक्षमा रहेको उनले बताए।

‘पार्टीमा एउटै लाइनमा नभए पनि हामी माडी क्षेत्रको विकासका लागि मन्दिर बन्नुपर्छ भनेर लागेका छौं,’ पौडेलले भने, ‘प्रधानमन्त्रीको सक्रियताले हामीलाई खुसी बनाएको छ। हामी पनि औपचारिक रूपमै उहाँलाई भेटेर आफ्ना कुरा राख्न चाहन्छौं।’

माडी नगरपालिकाका मेयर ठाकुर ढकालले पछिल्ला दिनमा मन्दिरको विषयमा प्रधानमन्त्रीसँग कुनै संवाद नभएको बताए।

‘राम मन्दिर बनाउन सिफारिस गरिएको वडाका अध्यक्षलाई प्रधानमन्त्रीले मूर्ति देखाउनुभएको जानकारी मैले पाएँ,’ उनले भने, ‘तर अब के कसरी काम अघि बढ्ने भन्ने जानकारी पाएको छैन।’

नगरपालिकाले राम मन्दिरसँगै माडीको बाँदरझुलाका सुकुम्बासी र कुशुमखोलाका चेपाङलाई बासको व्यवस्था मिलाउने निर्णय सँगै गर्न प्रधानमन्त्रीलाई पटक-पटक अनुरोध गरेको भन्दै मेयर ढकालले राम मन्दिरको मात्रै निर्णय गरिए मान्य नहुने बताए।

‘माडीमा भव्य राम मन्दिर बन्नु सौभाग्यको कुरा हो तर चेपाङहरू त्रिपालमुनि सुतिरहँदा रामलाई ल्याएर मन्दिरमा सुताउँदा अन्याय हुन्छ भनेर हामीले भनिराखेका छौं,’ उनले भने, ‘सुकुम्बासी र चेपाङको बसोबासबारे उचित व्यवस्थापनसँगै मात्र राम मन्दिरको निर्णयलाई स्वागत गर्न सकिन्छ।’

उनले नगरपालिकाले सिफारिस गरेको ऐलानी जमिनलाई मन्त्रिपरिषद्ले निर्णय गरेपछि राम मन्दिर निर्माणको बाटो खुल्ने भए पनि अहिलेसम्म निर्णय नभएको बताए। गुरूयोजना बनाउन एउटा संस्थाले नगरपालिकासँग बजेट मागेको भए पनि बजेट नभएका कारण दिन नसकिएको उनले बताए।

‘उनीहरूले निःशुल्क रूपमा गुरुयोजना बनाएका छन् रे भन्ने सुनेको छु तर डिपिआरको काम त सुरू भएकै छैन,’ उनले भने।

नेपाल कम्युनिष्ट पार्टी विभाजनको संघारमा पुग्दै गर्दा अध्यक्ष ओलीले राम-सीताको मूर्ति सार्वजनिक गरेर अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ को निर्वाचन क्षेत्रमा अयोध्याधाम निर्माणको कामलाई तिव्रता दिएको संकेत गरेका हुन्।

गत वर्षको भानु जयन्तीमा भगवान रामको जन्मभूमि भारत नभई नेपालकै अयोध्यापुरी रहेको दाबी गरेका प्रधानमन्त्रीले त्यसयता पनि पटक–पटक यहीँ कुरालाई दोहोर्‍याउँदै आएका छन्। प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको भारत तथा नेपालमै पनि आलोचना हुँदै आएको थियो।

प्रचण्डले भने अहिलेसम्म यस विषयमा मुख खोलेका छैनन्। 

चितवनको जनसभालाई सम्बोधन गर्दै ओलीले यहीँ जिल्लाबाट, त्यहीँ निर्वाचन क्षेत्रबाट छानिएका सांसद राम जन्मभूमि अयोध्यापुरीमा राम मन्दिर बनाउने कुरा चुईंक्क बोल्न किन सक्नुहुन्न, कसका डरले भन्दै प्रचण्डलाई प्रश्न गरेका थिए।

स्थानीय तह र अयोध्याधाम खोज तथा अनुसन्धान समितिको नेतृत्वमा प्रचण्ड समूहका नेताहरू रहेकाले प्रधानमन्त्रीले अयोध्याधाम निर्माणका लागि अधिकारसम्पन्न छुट्टै समिति निर्माण गर्ने तयारी गरेको स्रोतले बतायो।

‘तत्कालका लागि एक करोड रुपैयाँ बजेट छुट्टाएर समितिलाई काम गर्ने अधिकार प्रदान गर्ने तयारी प्रधानमन्त्रीले गर्नुभएको छ,’ स्रोतले भन्यो।

केही दिन अघिमात्रै पशुपतिनाथको मन्दिर पुगेर सवा लाख दीप प्रज्ज्वलनसहित विशेष पूजा गरेका ओलीले पछिल्ला दिनमा धार्मिक गतिविधिलाई प्राथमिकतामा राख्दै आएका छन्।

Source:Setopati

You can share this post!