एकीकृत जनक्रान्तिको मैदानबाट छोरा हार्दिकलाई चिट्ठी

प्रिय छोरा हार्दिक, न्यानो माया सहित मिठो सम्झना ।

म यता आरामै छु त्यता तिमी पनि आरामै हौला भन्ने आशा लिएकी छु । छोरा हार्दिक यो पुस माघको चिसोमा पनि तिमी सँगै रहन नपाउँदा मलाई निकै दुःख लागिरहेको छ । यस्तो बेलामा आमाको न्यानो काख नपाउँदा तिमीलाई झन् नराम्रो लाग्नु स्वभाविकै हो छोरा । तर के गर्नु समय र परिस्थिती यस्तै छ । यो देशमा दलालहरुको राज छ । आज तिमी जस्ता लाखौं बलबचाहरु आमा बाबु को न्यानो काख र मायाबाट वञ्चित भएका छन् । कोही रोजगारीको सिलसिामा विदेश गएर बिछोडिएका छन् भने कोही क्रान्तिको दौरानमा वञ्चित भएका छन् ।

बाबु हार्दिक तिम्रो र मेरो बिछोड कुनै व्यक्तिगत स्वार्थमा नभई देश र जनताको मुक्तिको निम्ति भएको छ । तिमीले जन्मदै कठिन सङ्घर्ष गर्नु परेको छ । कैयौँ कुपोषण र अभावको सामना गर्न परेको छ । तर पनि तिमी सौभाग्यशली छौ छोरा, किनकी तिमी पार्टी कार्यालय मै जनमियौ र अहिले पनि पार्टी क्रान्ति कै आन्दोलनमा जनताको बीचमा छौ ।

सानो उमरदेखि नै दलाल सत्ता र पुँजीवादी संसार बुझ्ने मौका पाएका छौ । कहिले ग्रामीण जीवन त कहिले सहरिया उत्पीडन पनि भोगेका छौ । कहिले आमा गिरफ्तार हुँदा काठमाडौंका पुलिस हिरासत, सर्वोच्च अदालतको कठघरा हुँदै कैलाली सम्मका पुलिस हिरासत र अदालत धाएका छौ भने कहिले तिम्रो बुबा गिरफ्तार हुँदा दर्जनौं जिल्लाका अड्डा अदालत र पुलीस कार्यालय पुगेका छौ । कैयौँ रात र दिन तिमीले एक्लै पनि बिताएका छौ । अहिले पनि तिम्रो बाबा दलाल सामाजिक फासीवादी सत्ताको जेलमा हुनुहुन्छ भने म एकीकृत जनक्रान्तिको मैदानमा छु । छ वर्षको यति सानो उम्मेरमा तिमीले यती धेरै सङ्घर्ष गर्नु पनि देश र जनताको लागि ठूलो गर्वको कुरा हो छोरा । अहिले तिमी संगैका दौतरीहरु सहरका महंगा बोर्डिङ स्कुलमा पढिरहेको बेला तिमी भने जनताकै बीचमा दुर्गम गाउँको सरकारी स्कुलमा पढिरहेका छौ ।

हामी भन्दा धेरै माया गर्ने आमा, बाबु, दाज भाइ तथा दिदि बहिनी पाएका छौ । याे पनि तिम्रो बुबा आमाको निम्ति ठुलो आदर्श र गौरवको कुरा हो । याे कुनै देखावटी नभएर तिम्रो बुबा आमाको क्रान्तिकारी स्प्रिट र कम्युनिस्ट जीवन शैलीको परिणाम हो । छोरा हार्दिक अहिले देशमा क्रान्ति र प्रतिक्रान्तिको भिषण टकराव चलेको छ । तिम्रो बुबा क्रान्तिको दौरानमा दुस्मनको कालकोठरीमा कठोर संघर्ष गरिरहनु भएको छ भने म क्रान्तिको रणमैदानबाट दुस्मणलाई हाँक दिरहेकी छु । यो देशमा अब छिट्टै जनताको स्वराज आउँदै छ । तिमी जस्ता लाखौं लाख बच्चाहरूले कहिलै पनि आमा बाबु को न्यानो माया बाट वञ्चित हुन नपर्ने व्यवस्था वैज्ञानिक समाजवाद आउँदै छ । तिमीले विप्लव ठुलो बुबाको सेनाले हाम्रो बाबालाई छुटाउँछ भने झै अब जनमुक्ति सेनाको फ्रमेशन सहित जनक्रान्तिको लहर गाउँ सहर चल्दैछ ।

दलाल सामाजिक फासीवादी सत्ताका विरुद्ध चौतर्फी क्रान्तिको ज्वारभाटा उठ्दै छ । मजदूर,किसान र सहरिया माध्यम वर्ग एकीकृत जनक्रान्तिको वरिपरि गोलवन्द हुँदै गएको छ । हो छोरा तिम्रो यो बालो उम्मरमा धेरै इच्छा र चाहना होलान । अरूका बुबा आमा सँगै भएको देख्दा तिम्रो मन पनि छिया छिया हुन्छ होला । तर छोरा तिमी महान छौ र धेरै कुरा बुझेका छौं । बुबा आमाको क्रान्तिकारी लक्ष्य र जीवनलाई पनि बुझेका छौं। त्यसैले छोरा हार्दिक तिमी कहिल्यै पनि निरास नहुनु र दुखी पनि नहुनु ल । मेरो मुटुको टुक्रा तिमीलाई भेट्न म छिट्टै आउनेछु ।

उही तिम्रो माया गर्ने आमा – पूर्णिमा

– अनजान बस्तीबाट

You can share this post!