प्रदेशमा काेराेनाकाे खाेप आज पुग्दै

काठमाडौं,११ माघ, २०७७ ।  भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड-१९ विरुद्धको खोप ‘कोभिसिल्ड’ आजसम्म सबै प्रदेशमा पुग्ने बताईएकाे छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबार नै सातवटै प्रदेशमा पठाएकाे खाेप  आइतबारसम्म पुग्ने जनाएको छ। मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले प्रदेशबाट नै जिल्ला अस्पतालमा खोप आवश्यकताका आधारका वितरण गरिनेछ। पहिलो चरणको उक्त खोप अस्पताललाई नै खोप केन्द्र बनाएर लगाइनेछ। उनले सात प्रदेश र ७७ जिल्लामा गरी करीब ३०० विभिन्न अस्पतालबाट खोप लगाइने बताए। काठमाडौं उपत्यकामा भने १० भन्दा बढी अस्पतालमा खोप वितरण गरिनेछ।

उक्त खोप स्वास्स्थ्य संस्थामा कार्यरत कोभिड–१९ व्यवस्थापनमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीलाई दिइनेछ।

दुई मात्रामा दिइने खोप पहिलोपटक लगाएको एक महिना वा चार हप्तापछि दोस्रो मात्रा दिइने मन्त्रालयका प्रवक्ता गौतमले बताए। खोप लगाउन सुरु गरेको एक हप्ताभित्र सबै खोप लगाइसक्ने मन्त्रालयको तयारी छ।

भारतले नेपाललाई गत माघ ८ गते अनुदानमा १० लाख डोज खोप अनुदानमा उपलब्ध गराएको थियो । 

Source:Aajakokhabar

You can share this post!