फेरि सेलरोटी पकाउन थालिन् रञ्जु दर्शना

तिहारको रौनक भर्खरै सकियो। तिहारमा बनाएका सेलरोटी भने अझै धेरैका घरमा चियाको साथी बनिरहेका होलान्।

यसको रमाइलो उदाहरण त सामाजिक सञ्जालमा पनि देख्न सकिन्छ- सेलरोटी अहिलेको राष्ट्रिय खाजा!

तिहारपछिका दिनमा पनि चियासँग यही खाजाको स्वाद लिइराख्न पाइयोस् भन्दै युवा राजनीतिज्ञ रञ्जु दर्शनाले सेलरोटी व्यवसाय पुनः सुरू गरेकी छन्। काठमाडौंका सेलरोटी पारखीलाई रञ्जुले घर–घरमै सेल पुर्‍याइदिने व्यवस्था मिलाएको उनले जानकारी दिइन्।

रञ्जुले ०७४ सालमै आफ्नी आमाको सहयोगमा सेलरोटी पकाएर बिक्री गर्न थालेकी थिइन्। बीचमा कारणवश यसलाई निरन्तरता दिन सकिनन्। अहिले आएर फेरि उनी सेलरोटी व्यवसाय र प्रवर्द्धनमा अघि सरेकी हसन्।

‘सेलरोटीसँग हामी धेरैको बालापन जोडिएको छ। मलाई त खुबै मनपर्ने परिकार हो। बनाउन पनि जानेकी छु,’ सेलरोटी व्यवसायबारे रञ्जुले सेतोपाटीसँग भनिन्, ‘आफूले जानेको, मनपर्ने परिकारलाई व्यवसायकै रूपमा अघि बढाउने विचार गरेकी हुँ।’

पछिल्लो समय उनले आफ्नी आमासँग मिलेर सेलरोटी बेचेकी थिइन्। आमाले रोटी बनाएको देखेरै उनी यतातिर आकर्षित भएकी हुन्। पिठो बनाउनेदेखि गोलो रोटी बनाउँदासम्म ध्यान दिनु पर्ने हुँदा उनी यो कामलाई कलात्मक नजरले पनि हेर्छिन्।

‘आफन्तहरू मेरो ममीले राम्रो सेल पकाउन जान्ने भनेर तारिफ गर्नुहुन्थ्यो। मलाई पनि त्यस्तै हुन मन लाग्थ्यो,’ उनी भन्छिन्, ‘सबै प्रक्रिया हेर्दा र बुझ्दा राम्रो, मिठो सेल बनाउनु पनि एक किसिमको कला हो भन्ने बुझेँ।’

यसपटक भने उनले ६ जना साथीहरूसँग मिलेर सेलरोटी व्यवसाय अघि बढाएकी छिन्। एउटा सेलको २५ रुपैयाँ तोकिएको छ। २० वटाभन्दा धेरै अर्डर गर्नेलाई घरमै डेलिभरीको व्यवस्था रहेको रञ्जुले बताइन्।

‘२५ रुपैयाँ महँगो हो जस्तो लाग्दैन। धेरै अर्डर गर्नेलाई डेलिभरी सुविधा पनि छ। विवाह, पार्टी वा अन्य कार्यक्रमका लागि पनि अर्डर गर्न सकिन्छ,’ उनले भनिन्। 

रञ्जुका लागि राजनीति रूचि र सेवाको विषय हो। तर दैनिकी चलाउन व्यवसायमा अघि बढ्नुपर्ने उनको विचार छ। आफैंले जानेको र आफ्नो समुदायमा प्रिय खाजालाई व्यावसायिक रूप दिन आवश्यक रहेको उनी बताउँछिन्।  

‘केही वर्षअघि पनि व्यावसायिक रूपमा अघि बढाउन खोजेको हो। चुनाव र पार्टीलाई समय दिन परेकाले भ्याएकी थिइनँ,’ रञ्जु सुनाउँछिन्, ‘मेरो यो कामलाई जे अर्थ लगाए पनि हुन्छ। आफूले जानेको र स्थानीय खानालाई बजारमा ल्याउँदा यसको महत्व अझै बढ्छ।’

सेलरोटी व्यवसाय पुनः चालू गरेको खबर उनले फेसबुक मार्फत् सार्वजनिक गरेकी हुन्। सञ्जाल प्रयोगकर्ताले मिश्रित प्रतिक्रिया दिइरहेका छन्। धेरैबाट शुभकामना सन्देश पनि आइरहेको छ उनलाई। 

के व्यवसाय गर्ने भनेर अलमलमा परेकाहरूलाई सामान्य भए पनि आफूले जानेकै कामबाट सुरू गर्न उनको सुझाव छ। सानो लगानीमा सजिलै सुरू गर्न सकिने हुँदा काम थालिहालेको उनी बताउँछिन्। 

‘सुरुमा सबै कुरा सामान्य नै हुन्छन्। त्यसलाई कसरी ब्रान्ड बनाउने भन्नेतिर लाग्नुपर्छ,’ उनी भन्छिन्, ‘मैले पनि सामान्य काम थालेकी हुँ। सेलरोटी बनाउनु, बेच्नु ठूलो काम होइन। तर पनि धेरैले शुभकामना दिनुभएको छ। हौसला दिनुभएको छ। भोलिका दिनमा पक्कै राम्रो हुनेछ।’

सेलरोटी व्यापार राम्रो हुँदै जाँदा तिहारमा खाइने अन्य परिकार पनि सदावहार बनाउने रञ्जुको योजना छ। घरमा सजिलै बनाएर खाइने, तर बजारमा सहजै नपाइने परिकार बनाउने उनीहरूको सोच हो।

‘तिहारमा मात्रै खानुपर्छ भन्ने होइन, मनलाग्दा जतिबेला पनि खान सकिन्छ। त्यसैले हामीले पहल गरेका छौं,’ उनी भन्छिन्, ‘ धेरै चाहिएको छ भने तीन दिनअघि खबर गर्नुहोला।’

उनी अगाडि थप्छिन्, ‘खान मिठो र स्वास्थ्यलाई सजिलो बनाउने हाम्रो प्रतिबद्धता छ। बिस्तारै काठमाडौं बाहिर पनि डेलिभर गर्नेछौं।’

(सेलरोटी अर्डर गर्न ९८४३७२३४५७ मा सम्पर्क गर्न सकिन्छ।)

सेतोपाटीबाट

You can share this post!