अस्ताए नेपालका चाउचाउ ‘पायोनियर’

कात्तिक १८ , काठमाडौं । नेपालमा एकताका चाउचाउ भनेकै ‘रारा’ थियो । नेपाली बजारमा ‘रारा चाउचाउ’को युग थियो । कालान्तरमा अन्य अनेक ब्राण्डका चाउचाउ आए, बजारमा स्थापित भए । यद्यपि, राराको ‘स्पेस’ अद्यापी कायम छ ।

दक्षिण एशियामै चाउचाउ नौलो कुरा रहेको बेला नेपालमा यो तयारी खाजा भित्र्याउने पायोनियर सूर्यबहादुर केसी थिए, जो मंगलबार दिबंगत भएका छन् ।

नेपाली खाजामा तयारी आइटम भित्र्याएका केसीले नेपाली उद्योग-व्यवसायमा छुट्टै पहिचान बनाए । उनी माछापुच्छ्रे बैंकका संस्थापक अध्यक्ष समेत रहे । उनले रारा चाउचाउ र बैंकिङ व्यवसाय मोफसल अर्थात्, राजधानी बाहिर खोलेर स्थापित गराए अनि दुवै ब्राण्डलाई देशव्यापी बनाएर आफु अस्ताए ।

हाइड्रोपावर, शिक्षा र निर्माण व्यवसायमा समेत केसीको लगानी छ । उनी निर्माण व्यवसायबाट उदाएका थिए । उनी रारा चाउचाउको उत्पादक हिमश्री फुड्स प्रालि र माछापुच्छ्रे बैंकबाहेक युनाइटेड इदि मर्दी एण्ड आरबी हाइड्रोपार, भगवती हाइड्रोपावर, तास हाइड्रोपावर, गण्डकी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी प्रालि लगायतका संस्थापक हुन् ।

केसीलाई नजिकबाट चिन्नेहरु उनलाई हिम्मतवाला उद्योगी भन्छन् । उनीहरुका अनुसार, केसीमा सही समयमा सहि निर्णय लिने क्षमता थियो । पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक पालिखे केसीलाई अरुसँग मिलेर काम गर्नसक्ने क्षमता र दुरगामी सोच भएका उद्योगीको रुपमा सम्झन्छन् ।

उनले केसीसँग मिलेर नेपालकै पहिलो होटल म्यानेजमेन्ट कलेज स्थापना गरेको सुनाए । पलिखेका अनुसार, भक्तपुरको दुवाकोटमा इन्जिनियरिङ क्याम्पस र नेपाल मेडिकल कलेज स्थापनामा पनि स्वर्गीय सूर्यबहादुर केसीको महत्वपूर्ण भूमिका थियो ।

माछापुच्छ्रे बैंकका पूर्ब प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा नेपाली उद्योग-व्यवसायको क्षेत्रमा केसीलाई एउटा चम्किलो नक्षत्रको रुपमा सम्झन्छन् ।

सूर्यबहादुर केसीले बुवा किर्तिबहादुर केसीबाट उद्यम-व्यवसाय सिकेका थिए । पछिल्लो समय स्वास्थ्यमा समस्या भएपछि उनले आफ्ना सबै व्यवसाय छोराहरुलाई जिम्मा दिएका थिए ।

पुरानो जमानाका उद्यमी किर्तिबहादुर केसीबाट प्रशिक्षित सूर्यबहादुरले पोखराकै भूपु ब्रिटिस लाहुरे र अन्य उद्यमी गरि ३० जनाको समूह बनाएर २०२३ असारमा रारा चाउचाउ उत्पादन गरेका थिए ।

रारा चाउचाउ बजार पुगेपछि यसको माग आकासियो । परिणाम्, समूहले उत्पादन क्षमता बढाउँदै गयो । अहिले पनि राराको बजार हिस्सा राम्रै छ ।

केसीका तीन छोरा र श्रीमती छन् ।

अनलाइनखबरबाट

You can share this post!