३ दिनपछि सूचक हरियो, ८३ कम्पनीका लगानीकर्ताले कमाए, बैंकबाट लघुवित्त हुँदै बीमामा सर्यो झुकाव

कात्तिक १८, काठमाडौं । लगातार तीन दिन घटेको सेयर बजार चौथो दिनमा समान्य वृद्धि भएपछि सूचकमा हरियो रंग देखिएको छ । मंगलवार सेयर बजार ५.४० अंक बढेर १६४३.०३ विन्दुमा उक्लिएको हो ।

मंगलवार प्रि-ओपन सेसनमा मै घटेको सेयर बजार नियमित कारोबार सुरु भएको ४५ मिनेटमा बढेर १६४४.६२ विन्दुसम्म पुगेको थियो । तर त्यसपछि पुनः ओरालो लागेको बजार उतारचढावपूर्ण रह्यो ।

बैंकहरुपछि लघुवित्तको सेयरमा आकर्षित भएका लगानीकर्ता निर्जीवन बीमा समूहको सेयरतर्फ सरेको देखिएको छ । मंगलबार कारोबार भएका १२ उपसमूहमध्ये वाणिज्य र विकास बैंकबाहेक अन्य सबै समूहको सूचक बढेको छ । 

विशाल बजार कम्पनीको सेयर मूल्य ९.९६ प्रतिशत बढेर २३४१ रुपैयाँ पुगेसँगै व्यापार समूहको सूचक पनि ४.८ प्रतिशतले सुधार भएको छ । 

सोमबारको तुलनामा मंगलबार कारोबार रकम भने घटेको छ । सोमबार २ अर्ब ४५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो भने मंगलवार यो रकम २ अर्ब २३ करोड ७९ लाख हाराहारीमा रह्यो । 

यस दिन १९८ कम्पनीको ७७ लाख ५७ हजार ३५३ कित्ता सेयर खरीद बिक्री भएको छ । कारोबार भएकामध्ये ८३ कम्पनीका लगानीकर्ताहरुले नाफा कमाए भने ७० कम्पनीकाले  गुमाए । यस्तै, १९ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

कारोबार रकमका आधारमा नेपाल दुरसञ्चार कम्पनी सबैभन्दा अगाडि रह्यो । कम्पनीको १० करोड ३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । दोस्रोमा एनआईसी एशिया र प्राइम कर्मसियल बैंकको ८ करोड हाराहारीको सेयर किनबेच भयो ।

मंगलबार धेरै कमाउने सेयरहरुमा विशाल बजार कम्पनीपछि समिट माइक्रोफाइनान्स, पाँचथर पावर कम्पनी, शिवश्री हाइडोपावर र राष्ट्रिय बीमा कम्पनी रहे । यिनको सेयर मूल्य पनि ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

Source: bizmandu.com
 

You can share this post!