नयाँ बन्यो टीआइएको ‘अराइभल,’ आइएमएस एयरपोर्ट सर्भिसेजको ९९ प्रतिशत सेवा सुरु

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विदेश आउजाउ गर्नुभएको छ भने अब तपाइँले यहाँका पूर्वाधारमा नौलोपना पाउनु हुनेछ। जथाभावी भीड, ट्याक्सी, चालकहरूको तानातानका दृश्य अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट ओझेल परेका छन्।

यात्रु ‘आगमन’ कक्षसम्म आउजाउका पूर्वाधार अन्तर्राष्ट्रिय स्तरको भएपछि पुरानो प्रणाली सबै नै फेरिएको छ। बिभिन्न उडानबाट उत्रिएका यात्रुले टर्मिनल कक्ष पार गरेपछि स्कालेटर, लिफ्ट, ट्रली, विदेशी मुद्रा सटही केन्द्र, सिमकार्ड वितरण कक्ष, ट्राभल एजेन्सी, गिफ्ट सप, सफा शौचालय र ट्याक्सी सेवा लगायतका विभिन्न कक्षमार्फत आवश्यक सेवा उपलब्ध छन्। सफा, शान्त र यात्रुले आउजाउ गर्दा आनन्द लाग्ने बनेको छ टीआइएको ‘अराइभल।’

विमानस्थलमा निजी क्षेत्रको सहभागिताले यो परिवर्तन आएको हो। यसको व्यवस्थापन आइएमएस एयरपोर्ट सर्भिसेजले गरेको छ। ‘अत्याधुनिक पूर्वाधारको निर्माण तथा व्यवस्थापन गरिएपछि अब हाम्रो एयरपोर्टमा आइपुग्ने यात्रुले विदेशका सुविधा सम्पन्न एयरपोर्ट सरहको अनुभव गर्न सक्ने भएको छ,’ व्यवस्थापन कम्पनीका महाप्रबन्धक जगतमान श्रेष्ठले भन्छन्, ‘टीआएका लागि यो जरूरी नै थियो।’ मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल अब बल्ल पर्यटकको स्वागतमा इज्जत धान्ने बनेको उनले बताए। 

‘सबै तयार भएर हामीले दुई सातादेखि अन्तर्राष्ट्रिय स्तरको अराइभल सेवा सुचारु गरिसकेका छौं। यात्रुले अब नेपाल उत्रिँदा विदेशका आधुनिक सुविधायुक्त एयरपोर्टकै जस्तो सेवा पाउँछन्,’ उनले भने, ‘बनोट र डिजाइनसँगै ‘वाक वे’ मा यात्रुले भिन्न र अन्तर्राष्ट्रिय स्तरको अनुभूति गरेको प्रतिक्रिया आएको छ।’  

कम्पनीले यात्रु सेवा सहजतालाई मध्यनजर गर्दै तीनवटा लिफ्ट, एउटा स्कालेटर, एउटा भर्‍याङ लगायतको सेवा सुचारु गरिएको उनले जानकारी दिए। यात्रुको आगमनको मागलाई मध्यनजर गर्दे कम्पनीले एउटा ट्राभलेटर एक महिनाभित्रै जडान गर्ने योजना छ। ‘अराइभल वे’ बाट पार्किङ क्षेत्रमा सहजै जान सकिने गरी एउटा भर्याङ, एउटा लिफ्ट र एउटा स्कालेटर जडान गरिएको छ। ‘एउटा ट्राभलेटर थप्दैछौं,’ उनले भने, ‘अक्टोबरभित्रै ल्याएर संचालनमा ल्याउने योजना छ।’  

उनका अनुसार ‘अराइभल वाक वे’ भित्र र बाहिर यात्रुका लागि एसी र कुर्सीसहितको प्रतीक्षालय बनाइएको छ। ६ सय वटाभन्दा बढी सवारीसाधन क्षमता भएको स्मार्ट पार्किङ आगामी १० वर्षसम्मको चाप थेक्ने हिसाबले सञ्चालनमा ल्याइएको उनले बताए। हाल पार्किङमा दुईपाङ्ग्रे सवारीसाधनका लागि पाँच रुपैयाँ र चारपाङ्ग्रे सवारीसाधनका लागि २० रुपैयाँ शुल्क लिन थालिएको छ। 

पार्किङस्थलबाट केही प्रति ५५०० स्क्वायरफिटमा निर्माण गरिएको सपिङ कम्प्लेक्सको भुइँतला फुड कोर्टका लागि प्रयोग गरिएको छ। एक सय ५० वटा कोठा रहेको कम्प्लेक्समा भुइँतला बाहेकका कोठाहरु कार्यालय प्रयोजनका लागि बनाइएको उनले जानकारी दिए।

५० रोपनी क्षेत्रफलमा रहेको यो आयोजना विसं. २०६९ मा नागरिक उड्डयन प्राधिकरणसँगको सम्झौतापछि सुरु भएको थियो। भुइँचालो, नाकाबन्दी लगायतका विभिन्न समस्याका कारण निर्माण सम्पन्न भइ सञ्चालनमा आउन ढिलाइ भएको उनले जानकारी दिए। आइएमएस एयरपोर्ट सर्भिसमा हाल एक सय २० जना कर्मचारी छन्।  

नागरिक उड्डयन प्राधिकरण र आइएमएस एयरपोर्ट सर्भिसबीच भएको सम्झौता अनुसार कम्पनीलाई यो आयोजना ३० वर्षका लागि लिजमा दिइएको छ। कम्पनीले निर्माण गरेको भौतिक संरचना र व्यवस्थापन वापत विमानस्थलले वार्षिक करिब दुई करोड रुपैयाँ बुझाउने सम्झौता रहेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए। 

उनका अनुसार कम्पनीले गरेको कुल आम्दानीबाट पहिलो १० वर्षमा १० प्रतिशत, दोस्रो १० वर्षमा १५ प्रतिशत र तेस्रो १० वर्ष २५ प्रतिशत राजस्व बुझाउने छ।

हाल टीआइएबाट मासिक करिब सय वटा अन्तर्राष्ट्रिय उडान भइरहेको छ। कोरोना महामारीले लामो समय बन्द रहेर खुलेको उडानबाट नेपालीहरू स्वदेश फर्किरहेका छन्। विमानस्थलका अनुसार हाल दिनमा बढीमा करिब १२ वटासम्म उडान भइरहेको छ। दिनमा करिब हजार जनाभन्दा नेपालबाट बाहिर जाने यात्रु हुने गरेका छन् भने करिब १२ सय जनाको आगमन भइरहेको छ। 

विमानस्थलको आगमन क्षेत्रमा सुरू गरिएको नयाँ सेवालाई यात्रुले उपयोग गर्ने क्रम पनि क्रमिक बढिरहेको छ।

Source: bizmandu.com

You can share this post!