कति धेरै सपना अनि रहरहरु थिए है आमा । आज हजुरकी छोरी SEE पास भैसक्थी । तपाईंको कति ठुलो रहर थियो नि आमा, कलेज पढाएर छोरीलाई एउटा असल नागरिक बनाउने । बहिनि कति खुसी हुन्थी होला है आमा, म सङ्ग संगै खेल्न, सङ्गै स्कुल जान पाउदा । साच्ची म त्यो साथीको घरमा गएकी थिए नि, त्यति बेला नै मलाई नरपिचासहरुले जिउदो राखेनन् आमा । तपाईंको त्यो न्यानो काखबाट यति छिट्टै खोसेर टाढा पुर्याए आमा । अझै पनि मेरो आत्मा त्यहि उँखुबारीमा नै छट्पट्टिरहेको छ । बहिनिलाई एक्लै कतै नपठाउनुस् है, सधै सङ्गै लिएर हिड्नुस है आमा । म स्वर्गबाट पनि त्यो नर्कमा बेलाबेलामा चिहाइरहन्छु आमा ।
मेरो न्यायको निम्ति धेरै दिदिबहिनीहरु सुनसान सडक तताउन उत्रिनुभयो तर आखाँ भएर पनि यो अन्धो सरकारले देखेन आमा । मेरो रुवाइँ चिच्यावटले सारा संसार गुन्जिरह्यो नेपाल रोइरह्यो तर कान भएर पनि यो बहिरो सरकारले सुनेन् आमा । कति मैनबत्ती जलाइयो मेरै न्यायको निम्ति तर बलात्कारी खुलेयाम हिड्दा, साराले चिन्दा, कसैले अपराधीलाई जलाउन सकेनन् आमा । चर्को आवाजले बाहिर कोलाहल मच्चाइरहदा पनि सरकार सुतिरह्यो आमा, एकचोटि पनि बिउझिएर झ्यालबाट चिहाएन आमा ।
प्रत्येक गल्लिगल्लिमा टासिएका त्यि मेरा फोटाहरुमा म बहिनिको तस्बिर देख्छु अचेल , कतै त्यो देशमा फेरी मेरा बहिनीहरु त असुरक्षित छैनन् ? न्यायको निम्ति लडिरहदा अपराधीले मेरै तस्बिर माथि फुलमाला अनि अबिर चढाएको हेर्न सकिरहेकी छैन आमा । प्रहरी प्रशासन अनि सरकारले हजुर माथि खोक्रो आश्वासन दिलाएर मेरो अपराधीलाई बचाउनको निम्ति भित्र भित्रै कानुन बेचिरहे आमा । मैले न्याय नपाउने त होइन तर मलाई यो असक्त सरकारले न्याय नै दिएन आमा। कतै गएर 2/4 मिनेट ढिला आउदात आत्तिनुहुन्थ्यो आमा, म त्यो घरबाट हिडेको नि आज दुईबर्ष बितिसकेछ ।
मैले यहाँबाट मेरै अपराधीले फुलमाला लगाएर कुर्सीमा बसिरहेको देख्दा आत्मा भड्किरहन्छआमा। न्याय चाहियो भन्दै हजुरले दुई हात जोडी मेरै अपराधीसङ्ग नमस्कार गरेको देख्दा आत्मा रोइरहन्छ आमा । झसङ्ग बिउझिए मन भारी भयो, नयनमा भरिएका त्यि आँसुले परेलीको डिल नाघेरै पोखिए ।स्वर्गीय छोरीको त्यि वाक्यले मुटु चर्कियो, टेबलमा राखिएको पानी समाएर भित्तामा टासिंएको घडि हेरे, मध्यरातको बाह्र बजेको रहेछ । भित्ताभरि टासिएका त्यि निर्मलाका तस्बिर सुम्सुम्याउदै दियो जलाइरहे, बलिरहेको त्यो अगरबत्तीबाट पनि नमिठो गन्ध आइरह्यो ।
सानू बस्याल