निभा शाह
ओ पुष्पक विमानका बडाहजुर
हजारौं वर्षदेखि
हजुरको छलशास्त्रले हामीलाई
छलेको छल्यै छ ।
बडाहजुर
अब नछलेर मर्जी होला
देशको नागरिक
मान्छे हुन्छ कि कुकुर ?
बडाहजुरले
नछ्लेरै पुष्पक विमानबाट मर्जी भो
ए पाखेहरु हो
देशका असली नागरिक
सेफड र आलसिसन कुकुर
बाकी सब
विना दातका भुक्ने
गल्लीका भुस्याहा कुकुर
बाकी सब
गल्लीका शरणार्थी कुकुर ।
सुन पाखेहरु हो
यो देशका असली नागरिक
सेफड र आलसिसन कुकुर
बाकी सब
अछुत नटोक्ने भुस्याहा कुकुर ।
यो देशका असली नागरिक
सेफड र आलसिसन कुकुर
बाकी सब
गल्लीका बलात्कृत हुने
छाउडी कुकुर
जसोकी कि माधवी
जसोकी आम्रपाली ।
दम छ
कार्वाही गर्ने
पाखे
रैतीका खजानाहरु
दम छ
म मालिकको व्यवस्था फेर
होइन भने
हजारौं वर्षदेखिको तेरो दशा के हो
त्यही दशाको जन्मकुन्डली हेर ।
पाखे रैतीका खजाना
तेरो दशा हेर त
मेरो कुकुर
बुबु माम खान्छ
तेरो चेलो
मेरो पाल्या कुकुरको
कलो चाट्न नपाई कुपोषणले मर्छ ।
दम छ
म पुष्पक विमानलाई कार्वाही गर्ने ?
दम छ हजुर दम छ
इतिहासमा हजुरको पुष्पक विमान झारेकै हो
उठ हे जनता उठ
मु पाखे दमाई
युद्धको शंखघोष गरे उठ ।
हजारौं वर्ष देखिको
लाखे सत्ताको
लाखे अनुहार छोप्ने
जिर्ण मुखुण्डो
अब धुजा धुजा भएर च्यात्ति सक्यो ।
सत्ताका लाखे राता हुन कि सेता
मुखुण्डो धुजा धुजा भै च्यात्ति सक्यो
उठ जनता उठ
मालिक हैन व्यवस्था फेर्न उठ
इतिहासमा बारबार
मालिक फेर्ने जनता
अब व्यवस्था फेर्न उठ
लालपुर्जाको सत्ता
आगो लाउन उठ ।
उठ जनता उठ
यो देश ?
एउटा देशमा दुइटा देश
एउटा पुष्पक विमानको देश
अर्को भुइँ मान्छेको देश ।
पुष्पक विमानको देश
फुलका बर्षातहरुमा नुहाउछ
भुईको देश
भोकका आसुहरुमा नुहाउछ
उठ जनता उठ
मालिक हैन व्यवस्था फेर्न उठ ।