त्यसपछी अन्धकारले उज्यालो र काकाकुलले पानी पिउन पाउनेछ

लक्ष्मण चौलागाईं विद्रोही

विश्व साम्राज्यवादका दलालका पिछ्लग्गु, विस्तारवादका कान फुकुवा, नेपाल देशको ढुकुटीका लुटेरा, अपराधी र अधर्मी जल्लादका आसेपासेहरुले किन कुलमानको फाइल सदनमा पुर्याएनन् र सम्बोधन गरेनन् ? कारण आजसम्म उर्जा मन्त्रीले यो कार्यकाल बेखबर भएर बितायो तर कुलमानले अन्धकार नेपालमा उज्यालोको दिप निरन्तर जलाइरहे । यसैले मुलुकको अहिलेको बेखबर उर्जामन्त्रीलाई पद बाट राजिनामा गराएर कुलमान जस्ता व्यक्तित्वलाई एक पटक सत्ताको सांचो दिने नवीन निर्णय गरेर हेरौं त ?

कुलमानले सबै भन्दा धनी मन्त्रालय उर्जा तथा खानेपानीको बनाइदिनुहुनेछ । मुलुकको दुईतिहाई सत्ताको आयु सकिन लाग्यो खानेपानी मन्त्रालयका पनि मेलम्चीका भाषण कहिले दसैंसम्म कहिले तिहारसम्म र कहिले चैतसम्मका हुँदै भनाईहरु झुठा र मन्त्रालयको बेरुजुले आकाश छुँदैछ, अहिले त कोरोनालाई निहुँ बनाएर बिना कामको मन्त्रालय र नगर, महानगर, गाउपालिकाहरुमा राज गरेका छन् थुप्रै राजनीतिक आफन्त र दलीय नातेदारहरुले । यस्ता काम नगर्ने मन्त्रालयमा कुर्सी मात्र फटाउने र मन्त्रालयमा कार्पेट भित्ता र सोफाहरु मात्रै बदल्ने कोठाका विकासगर्ने मन्त्री र सरकार भन्दा देशलाई विकसित बनाउने देशलाई उज्यालो बनाउने कुलमानलाई सेवा अवधी सकिएतापनी पुन: कार्यकाल दोहोर्याउने अवसर दिएर थप जिम्मेवारी सहित झनै प्रोत्साहन दिनु त कता कता कुलमानको फाइल नै बेखबर बनाउनेहरुको कुशासन देख्दा नेपाली मन न हो दया र आक्रोश दुवै पैदा हुँदोरहेछ ।

यसैले उर्जा र खानेपानी मन्त्रालय एउटै बनाउँ । बसि खाने जति पनि मन्त्री र सरकारका मान्छेलाई घर पठाउँ र उर्जा अनि खानेपानीमा जनताको मुटुको धड्कन कुलमानलाई ल्याउन राष्ट्रिय सभा सदस्य बनाउन सबै नेपाली मनहरुले एक ढिक्का भै आवाज बुलन्द गरौं । हाम्रो उज्यालो हाम्रो खुसी कुलमानलाई उर्जा र खानेपानी मन्त्रालयको जिम्मा दिउँ । मेलम्ची काठमाडौं पर्सि आइपुग्छ, ७७ जिल्ला झिलिमिली हुन्छ भने मुलुकको आर्थिक उन्नतिका स्तरहरु पनि सगरमाथाको शिखर चुम्न थाल्नेछन् । अझै बसि खाने तत्वहरुलाई राज गर खाउ भन्दै छोड्ने हो भने देशको अर्थतन्त्र झापाको केचना पुग्न बेर छैन !

मुलुकमा थुप्रै कुलमानहरु हुनुहुन्छ तर उहाँहरुले अवसर नपाउनुको कारण थुप्रै कुलमानहरुको नेपाल बनाउने मन र थुप्रै महावीरहरुको बैज्ञानिक क्षमताको सम्मान हुन नसकेको सत्य हो । हामी सबैले एक्यवद्धता जनाउदै आवाज बुलन्द गरौं ! कुलमानले गरेका उल्लेखनीय कार्यलाई सलुट गर्दै अब जनताले कुलमान जस्ता सपुतलाई राष्ट्रिय सभामा मनोनयन गरि नेपाल सरकारको उर्जा तथा खानेपानी मन्त्रीको जिम्मेवारी २ वर्ष दिए पुग्छ। त्यसपछी अन्धकारले उज्यालो र काकाकुलले पानी पिउन पाउनेछ ।

You can share this post!