स्वास्थ्य संस्थालाई राजनैतिक कार्यकर्ता भर्ती केन्द्र नबनाउन डा. केसीको माग

जुम्ला– चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसीले त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा दलीय भागबन्डाका रुपमा कार्यकर्तालाई भर्ती गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

डा केसीले जुम्लाबाट विज्ञप्ति जारी गर्दै सरकारले गरेको उक्त नियुक्ती कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन्। 

दुर्गमका गाउँमा विशेषज्ञ सेवा दिन जुम्ला पुगेका डा केसीले यस अगाडिको डिन नियुक्ती पनि स्थापित वरिष्ठताको आधार भत्काएर गरिएको आरोप लगाएका छन्।

डा केसीले नियुक्ति सच्याउँदै बाँकी सबै पदको नियुक्ति वरिष्ठताका आधारमा गर्न माग राखेका छन्। 

‘यसरी सबै पदमा पार्टी कार्यकर्ताहरु भर्ती गर्दै जाने हो भने त्रिवि शिक्षण अस्पताल जस्तो देशकै अग्रणी स्वास्थ्य र शिक्षण संस्था धराशायी हुने निश्चित छ,’ डा केसीले विज्ञप्तिमा भनेका छन्,‘यसरी नियुक्त भएका मानिसहरु संस्थाप्रति नभई आफूलाई नियुक्त गर्ने पार्टीप्रति वफादार हुने तथा ठेक्कापट्टाको धाँधलीबाट पार्टीलाई धनी बनाउने र संस्थालाई पार्टीको कार्यकर्ता भर्तीकेन्द्र बनाउने बाहेक अरु काम नहुने निश्चित छ । त्यसैले तत्काल यो नियुक्ती सच्याउँन सरकार समक्ष माग गर्दछौँ।’

डा केसीले माग पूरा नगरिएको खण्डमा कुनै पनि बेला स्थगित गरेको सत्याग्रह  शुरु गर्ने चेतावनी समेत दिएका छन्।

डा केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस लगायतका कार्यक्रमहरु संचालन गर्नु पर्ने, प्रधानमन्त्रीले नाजायज रुपमा रोकिराखेको उक्त प्रतिस्ठानको स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नु पर्ने, गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्याएर पठनपाठन शुरू गरिनु पर्ने माग राखेका छन्।

यसैगरी  प्रदेश नं दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइनु पन, २०७५ साउन  १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरिनु पर्ने पनि डा. केसीको माग छ। 

स्वास्थ्य खबर पत्रिकाबाट

You can share this post!