छ लाखभन्दा बढी नेपाली फर्किने,स्वदेशमा २३ प्रतिशतको रोजगारी गुम्यो

काठमाण्डु –  कोभिड–१९का कारण एक वर्षमा छ लाखभन्दा बढी नेपाली स्वदेश फर्किने एक अध्ययनले देखाएको छ । त्यसरी फर्कनेमा विभिन्न देशबाट रोजगारी, व्यापार, व्यवसाय गुमाउने रहेको राष्ट्रिय योजना आयोगको अध्ययनले देखाएको हो ।

कोभिड–१९ ले श्रम बजार (स्वदेश वा विदेश)मा पार्ने असर विषयमा अध्ययन गर्न राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालको संयोजकत्वमा गठित कार्यदलको अध्ययन प्रतिवेदनमा पाइएको जनाइएको छ । प्रतिवेदनमा समेटिएको त्यो सङ्ख्या कोभिड–१९ का कारण छ महिनादेखि रोजगारी, व्यापार, व्यवसाय बन्द भएर समस्यामा परेकाको रहेको उल्लेख छ । भारतबाहेक विभिन्न देशमा वैदेशिक रोजगारीमा ३२ लाख आठ हजारभन्दा बढी नेपाली रहेको पनि अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

कार्यदलका संयोजक डा. फुयालले त्यसरी फर्किनेमध्ये ४० प्रतिशतलाई रोजगारी दिनुपर्ने अवस्था हुने भएकाले त्यसलाई समेत ध्यानमा राखेर कार्ययोजना अघि सारेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विदेशबाट आएका सबैले रोजगारी नै चाहेका हुन्छन् भन्ने हुँदैन ।

स्वदेशमा २३ प्रतिशतको रोजगारी गुम्यो
कोभिड–१९ को बढ्दो जोखिमले स्वदेशमा व्यापार, व्यवसाय तथा उद्योग–कलकारखाना बन्द हुँदा २३ प्रतिशतको पूर्ण रूपमा रोजगारी गुमेको पनि प्रतिवेदनमा उल्लेख छ ।

चालू आर्थिक वर्ष २०७७÷७८ मा सरकारले थप ३० प्रतिशत रोजगारी सिर्जना गर्ने योजना अघि सारेको डा. फुयालले जानकारी दिनुभयो । उहाँले सिर्जना गरिएका थप ३० प्रतिशत रोजगारीमा विदेशबाट रोजगारी गुमाएर रित्तै फर्किएका ४० प्रतिशत, स्वदेशमा रोजगारी गुमाएर बेरोजगार बनेका ४० प्रतिशत र नयाँ २० प्रतिशतलाई प्राथमिकताका आधारमा रोजगारी उपलब्ध गराइने योजना सरकारको रहेको पनि जानकारी दिनुभयो ।

डा. फुयालले श्रमिक बलियो नभएसम्म उत्पादन राम्रो हुन नसक्ने भएकाले श्रमिक वर्गको सुरक्षालाई ध्यानमा राखेर चालू आवका योजना बनाइएको बताउनुभयो । अध्ययन प्रतिवेदनमा श्रमिकले कस्तो रोजगारी गुमाए, उनीहरूका लागि भोलिका सम्भावित रोजगारका क्षेत्र के कस्ता हुन सक्छन् भन्ने विषय समेटिएको उल्लेख छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

You can share this post!