फ्रान्स र पोर्चुगलको जित

स्टोकहोल्म : विश्वकप विजेता फ्रान्स र पोर्चुगलले यूईएफए नेसन्स लिग फुटबलमा विजयी सुरुआत गरेका छन्। शनिबार राति भएको खेलमा फ्रान्सले स्विडेनलाई उसैको मैदानमा १–० गोलले हरायो। अर्को खेलमा पोर्चुगलले क्रोएसियालाई ४–१ गोलले स्तब्ध बनायो।

प्रतिस्पर्धात्मक खेलमा फ्रान्सलाई जिताउन युवा स्ट्राइकर केइलिन एमबाप्पे नायक बने। एमबाप्पेले ४१औं मिनेटमा गरेको गोल नै फ्रान्सको जितमा निर्णायक बन्यो। एमबाप्पेले डिबक्सभित्र स्विडेनका दुई रक्षकलाई छलाउँदै एकल प्रयासमा गोल गरेका थिए। फ्रान्सले खेलको अन्तिम समयमा पाएको पेनाल्टी पनि गुमाएको थियो। एन्टोइन ग्रिजम्यानले पेनाल्टीको सदुपयोग गर्न सकेका थिएनन्। भिक्टर निल्सन लिन्डेलफले एन्थोनी मार्सियललाई डिबक्सभित्र लडाएपछि प्राप्त पेनाल्टीमा ग्रिजम्यान चुकेका थिए। उनको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो। मध्य भागमा औसत प्रदर्शन गरेको घरेलु टोली स्विडेन अग्रपंक्तिमा भने कमजोर साबित बन्यो। फ्रान्सको रक्षापंक्ति तोड्न स्विडेनलाई हम्मेहम्मे परेको थियो।

यसैगरी अर्को एकपक्षीय खेलमा पोर्चुगललाई जिताउन जोआओ क्यानसेलोले ४१औं मिनेटमा गोलको खाता खोलेका थिए। टोलीका प्रभावशाली स्ट्राइकर क्रिस्टियानो रोनाल्डोबिनै उत्रिएको पोर्चुगलले दोस्रो हाफमा तीन गोल थपेको थियो। ५८औं मिनेटमा डियोगो जोटाले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाएका थिए। त्यसपछि जोआओ फेलिक्सले ७०औं र आन्द्रे सिल्भाले खेलको अन्तिममा गोल गर्दै पोर्चुगललाई सहज जित दिलाएका थिए।

क्रोएसियाका ब्रुनो पेटकोभिकले दोस्रो हाफको इन्जुरी समयमा सान्त्वना गोल फर्काएका थिए। जितसँगै लिग ‘ए’को समूह ३ मा रहेको पोर्चुगल तीन अंकसहित शीर्ष स्थानमा छ। समान तीन अंक बनाएको फ्रान्स गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ। अंकविहीन स्विडेन तेस्रो र क्रोएसिया चौथो स्थानमा छ।

यसैगरी लिग ‘ए’को समूह २ मा इङ्ल्यान्ड र बेल्जियमले जित निकालेका छन्। इङ्ल्यान्डले आइसल्यान्डलाई १–० गोलले हरायो। बेल्जियमले डेनमार्कलाई उसैको मैदानमा २–० गोलले स्तब्ध बनायो। तनावपूर्ण खेलमा इङ्ल्यान्डले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेको थियो। इन्जुरी समयमै आइसल्यान्डले पेनाल्टीको अवसर सदुपयोग गर्न नसक्दा इङ्ल्यान्डको भाग्य खुलेको थियो। दुवै टोली १०-१० खेलाडीमा समेटिएको खेलमा इङ्ल्यान्डका लागि रहिम स्टर्लिङले पेनाल्टीमार्फत गोल गरेका थिए। डिबक्सभित्र आइसल्यान्डका स्भेररिर इन्गी इन्गासनले ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीलाई स्टर्लिङले सदुपयोग गरेका थिए। निर्धारित समयमा ७० प्रतिशत बल नियन्त्रणमा राखे पनि इङ्ल्यान्डलार्ई जित निकाल्न निकै कडा मेहनत गर्नु परेको थियो।

इङ्ल्यान्डलाई खेलको अन्तिमसम्म कडा टक्कर दिएको आइसल्यान्डले इन्जुरी समयमा पुगेर पेनाल्टी खेर फालेको थियो। इङ्ल्यान्डका जोसेप गोमेजले डिबक्सभित्र होल्मबेर्ट आरोनलाई लडाएपछि प्राप्त पेनाल्टीलाई बिर्किर बिजारसनले गोल गर्न सकेनन्। बिर्किरको प्रहार पोस्ट्बाहिर हुइँकिएको थियो।

अर्को खेलमा बेल्जियमलाई जिताउन जासोन डेनायरले नवौं र ड्राइस मार्टेन्सले ७६औं मिनेटमा गोल गरेका थिए। खेलभर बेल्जियमको दबाब झेलेको डेनमार्कले गोल फर्काउन लायक अवसर बनाउन सकेन। जितसँगै समूहमा तीन अंक बनाएको बेल्जियम शीर्ष स्थानमा छ। समान अंक बनाएको इङ्ल्यान्ड गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ। अंकविहीन आइसल्यान्ड तेस्रो र डेनमार्क अन्तिममा छ।

यसैगरी शनिबार राति नै भएकको लिग ‘सी’को समूह १ मा लक्जेमबर्गले अजरबैजानलाई २–१ र मोन्टेनेग्रोले साइप्रसलाई २–० गोलले हराएको छ। लिग ‘सी’को समूह २ को खेलमा नर्थ म्यासेडोनियाले अर्मेनियालमाई २–१ र जर्जियाले इस्टोनियालाई १–० गोलले स्तब्ध बनायो। लिग ‘डी’को समूह २ मा जिब्राल्टारले सान मारिनोलाई १–० गोलले पराजित गरेको छ।

source : annapurnapost.com

You can share this post!