बदलियो व्यवस्था /बदलिएन अवस्था –

आभाष चौलागाईं प्रसन्न

मरणासन्न अवस्थामा पुगेर

मृत्युलाई जितेर फर्केको क्षण

हजारौं जोधाहा जस्तै म प्रसन्न

थोरै पक्ती कोर्न गैरहेको छु

बुवाको अन्तिम अवस्था थियो

जब म जनयुद्धमा सहभागी भएं

खाल्डेबाट सिन्धु खोला तर्फ

बुवाको पार्थिव शरिर

एकोहोरो शंखनादमा

मलामीको तातीसंगै झर्दा

मेरो निभिरहेको आधा आकाश

मेरो निम्ति टन्टलापुर घाममा रोइरहेको थियो

सानो १४ वर्षीय अवोध

तर क्रान्तिकारी बालक

बुवाको निधन भएको केही महिनामा नै सेनाको

नियन्त्रणमा म

र बन्धक मेरो जिन्दगी

सम्झिदा किन लडिएछ

मुक्तिको नाममा किन ढाटिएछ

बग्रेल्ती प्रश्नहरुले मेरा घाउ चहर्याउछन

सैन्य हिरासत र यातनाले रगताम्य भएर लडेको

मान्छे

हरेक दिन होस गुमाइरहेको हुन्थें

पुस माघको चिसो पानीको ड्रममा

उधोमुन्टो पारे डुबाउदा

मरें मरें झै लाग्थ्यो

सम्झन्छु आज पनि

इलेक्ट्रोनिक हिटरमा

पिसाव फेर्न बाध्य पारिन्थ्यो

नत्र अर्को मृत्युको स्वाद

चाख्न विवश हुनुपर्थ्यो

तर के पाए ती सास्तीहरुले

के पाए ती भोगाईहरुले

मात्र धरपकड र दमन

गणतन्त्रमा हावी भएको प्रतिगमन

जसले माइला लामाहरु

खोरमा कोचिरहेको अवस्थामा

अराजकताको गन्धले

योद्दाका मनहरु पोल्ने गर्दछन

मुलुकले अशान्तिको श्वासप्रश्वास गर्न विवश

यो गणतन्त्रमा घाइतेहरु रोइरहेका छन

सवलांग शासक भाषण दिइरहेका छन

भाषण अनुरुपको शासन नदेखेर होला

हिजोका पिडाहरु आज आक्रोशित भएका छन

मुठीभर मान्छे राजा हुने यो व्यवस्था

नाम मात्रै बदलिएको संसदीय अवस्था भएर नै होला

कुमार पौडेलले गणतन्त्रको गोली पिउनुपर्यो

अन्याय,अत्याचार र शोषणको बिरुद्द लड्नेहरुले

धरौटी राज्यलाई तिर्नुपर्यो

हो व्यवस्था यसैगरी बदलिएको छ

अनि विरोधाभास गद्दार र दलालको

नोट अफ डिसेन्ट अगेंस्ट पार्लियामेन्टरी सिस्टम

आएका हुन

गणतन्त्रको विघटनको हैन सम्मान र सुरक्षाको

तर बुझेर बुझ पचाउनेको शैली

अराजक र अराजकता

यसै यस्तै विधि झैं चल्दैछ

भोकाहरु मरिहत्ते गरि चिच्याउदैछन

अघाएकाहरु बर्दिलाई उचाल्दै

बधाई दिंदैछन

अनि शक्तिको ब्याकफोर्समा

आफ्नै मुलुकमा आफ्नै राज्यको

सिकार हुन विवश

तिर्थ घिमिरे,कुमार पौडेलहरु

गणतन्त्रका बाहक गणतन्त्र विरोधीको निशानामा

लोकतान्त्रिक गोली पिउनुपरेको विडम्बनाले

कताकता मन पोल्दै गणतन्त्रलाई

प्रश्न गर्न मन लाग्छ

अनुत्तरित प्रश्नहरु धेरै बासी भए

अब नौलो बिहानीले नया आयाम ल्याउला त भन्ने

आशामा आगो सल्केको छ

हो अवस्था उस्तै कोहि कसैको विरासत पूर्ण हुदैछ

जय देश जय जनता जय नेपाली ।।

You can share this post!