चिनुबाली टिप्दै मुगुका किसान

मुगु — जिल्लाको लेकाली बस्तीका किसानहरु चिनुबाली टिप्न थालेका छन् । चैत महिनामा पाखो जमिनमा लगाएको चिनुबाली भदौमा पाकेपछि टिपेर घर भित्र्याउन थालेका छन् । 

सोरु गाउँपालिकाको सोरुकोट, बन्जाह, भीई, धुपीनार्थपु, र मुगुमकार्मारोङ गाउँपालिकाको माग्री, मह गाउँका किसानहरुलाई यति बेला चिनुबाली टिप्न हतारो छ । कोदो, कागुनो, सिमी, फापर, पाखो धान भने कात्तिक अन्तिमतिर टिप्ने गरेका छन् ।

चिनुबाली टिपेर खान सुरु गरेको सोरुकोट गाउाका पदम शाहीले बताए । खाद्य डिपोमा चामल नपाइरहेको अवस्थामा चिनु टिपेर खानु पर्ने अवस्था आएको उनको भनाइ छ ।

सोरुकोट गाउाका करिब ३ सय परिवारले एक साताअघि नै चिनु बाली टिपेर भोकचलनतिर लागेका छन् ।स्थानीय प्रजाति बालीको रुपमा चिनिने चिनु ६ महिना भित्र पाक्ने गरेको किसानको भनाइ छ ।

पाखो बारीबाट चिनु टिपेर ल्याउने र घाममा सुकाएर ओखलमा कुटेर चामल निकालेर बिहान बेलुका किसानले भात पकाएर खाने गरेका छन् । चिनुबालीको भात निकै पोषिलो र सुगर रोगीलाई औषधिको रुपमा काम गर्ने भएको किसानले चिनुबालीलाई प्राथमिकता दिने गरेका छन्  ।

जग्गामा लगाउन र कुटपिन गर्न दु:ख हुने भन्दै अधिकांश बस्तीका किसानले चिनु बाली लगाउन छोडिसकेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

पुख्र्यौली चिनुबाली र कागुनो बाली संरक्षणमा किसानलाई प्रोत्साहन गरिएको सोरु गाउँपालिकाका प्रमुख लोकबहादुर शाहीले बताए ।

source : ekantipur

You can share this post!