काठमाण्डुमा कोरोना संक्रमित बढेको बढ्यै

काठमाण्डु – देशको संघीय राजधानी काठमाण्डुमा बुधबार मात्रै २ सय ३० जना कोरोना संक्रमित थपिएका छन्। केही सातायता औसतमा सयभन्दा माथि संक्रमित थपिने क्रम जारी छ। यहाँ संक्रमितको संख्या ३ हजार १ सय ८५ पुगेको छ।

११ स्थानीय तहमध्ये काठमाण्डु महानगरपालिका, कीर्तिपुर, चन्द्रागिरि नगरपालिका बढी प्रभावित देखिएका छन्। अन्य तहमा पनि कोरोना भने फैलिएकै अवस्था छ। सरकार र नागरिक दुवैका कमजोरीले काठमाण्डु संक्रमणको उच्च जोखिममा गएको विज्ञ बताउँछन्।

शुक्रराज सरुवा रोग तथा ट्रपिकल अस्पतालका डा. शेरबहादुर पुनले लकडाउन खुलेसँगै बाहिरी जिल्लाबाट आउने व्यक्तिको परीक्षण र व्यवस्थापन गर्न नसक्नु मुख्य कारण भएको बताए। ‘लकडाउन खुसेसँगै बाहिरी जिल्लाबाट काठमाडौं आउने बढे’, डा. पुनले भने, ‘जुन बेला ९९ प्रतिशतमा लक्षण देखिएको थिएन। लक्षण नभएकाहरू गाइडलाइनअनुसार क्वारेन्टाइनमा बसेनन्। उनीहरू समुदायमा काम गर्ने व्यक्ति थिए। बिनापरीक्षण काममा गए। यसबाट पनि एक प्रकार जोखिम बढ्यो।’

बाहिरी देशबाट आएकालाई सरकारले क्वारेन्टाइनमा राख्यो। परीक्षण गर्‍यो। तर, बाहिरी जिल्लाबाट आउनेलाई भने काठमाण्डुमा क्वारेन्टाइनमा राखिएन। उनीहरूको परीक्षण पनि गरिएन।

सरकारले लकडाउनको समयको सदुपयोग गर्न नसक्नु अर्को समस्या भएको उनले बताए। ‘लकडाउनको समयमा आवश्यक तयारी गर्नुपथ्र्यो’, उनले भने, ‘सरकारले रणनीति बनाउनुपथ्र्यो त्यो काम भएन। पुरानै तरिकामा चल्यो।’

लकडाउन खुलेसँगै काठमाण्डु उपत्यकामा सार्वजनिक सवारी चले। व्यापार व्यवसाय पनि चलाउन थालियो। मजदुरहरू काममा लागे। तर कोरोनाका लागि अपनाउनुपर्ने सुरक्षाका उपाय अपनाइएन। जुन संक्रमण फैलिनुको अर्को कारण बन्यो।

मास्क नलगाउनु र भीडभाडमा जानु संक्रमण फैलनुको अर्को कारण भएको संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले बताए। ‘काठमाडौंको जनघनत्व एकदमै धेरै छ’, डा. सुवेदीले भने, ‘गल्लीहरू एकदमै साँघुरा छन्, जहाँ नगई हुँदैन। तरकारी किन्न वा अन्य काममा जानुपर्‍यो। यस्तो अवस्थामा स्थानीयले हेलचेक्र्याइँ गरे। सुरक्षामा ध्यान दिएनन। यसले संक्रमण फैलियो।’

उनले सरकारले परीक्षणको दायरा फराकिलो नबनाउनु पनि संक्रमण फैलनुको अर्को कारण भएको बताए। ‘परीक्षणको दायरा साँघुरो भयो’, उनले भने, ‘बिरामीहरू सहज परीक्षण नभएकाले रोग लिएर बसिरहेको अवस्था छ। कन्ट्याक ट्रेसिङ भएको छैन। संक्रमितका परिवारलाई ट्रेसिङ गरिएको छैन।’

यहाँका स्थानीय तहरूले पनि कोरोना नियन्त्रणमा राम्रो भूमिका निभाउन सकेका छैनन्। उपत्यकाका एकाध स्थानीय तहबाहेक अन्यले क्वारेन्टाइनै व्यवस्थापन गर्न सकेका छैनन्।यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।

source : kathmandupati.com

You can share this post!