नियमित अन्तरराष्ट्रिय उडानको तयारीमा प्राधिकरण

काठमाडौं, भदौ ११ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भदौ १७ देखि अन्तरराष्ट्रिय उडान सञ्चालन तालिका तय गरेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण सुरक्षित उडानका लागि आवश्यक तयारीमा जुटेको छ ।

मन्त्रालयले मंगलवार नियमित तथा चार्टर अन्तरराष्ट्रिय उडान तालिका, उडान सञ्चालन गर्दा पालना गर्नुपर्ने शर्त र यूएन एजेन्सी र विकास साझेदारहरूको सूचीसमेत संलग्न गरी उडान स्वीकृतिका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको थियो ।

मन्त्रालयको निर्देशनसँगै प्राधिकरणले सरोकारवालाहरूसँग समन्वय गरी आवश्यक तयारी शुरू गरेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए । ‘उडान त अहिले पनि भएकै छन् । सरकारले १७ गतेदेखि दैनिक ५०० यात्रु नबढ्नेगरी उडान गर्ने निर्णय गरेको छ ।

त्यसैले एक उडान र अर्को उडानबीचको समय, यात्रुको आवागमन तथा उडान समय सबैलाई ध्यानमा राख्दै विभिन्न प्रोटोकल बनाई उडान गर्न दिइनेछ,’ उनले बताए । क्षेत्रीका अनुसार अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ), विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) तथा प्राधिकरण आफैले बनाएको मार्गनिर्देशनलाई पालना गर्दै उडानको तयारी भएको छ ।

‘वायु सेवा कम्पनीहरूले पनि आ–आफ्नै प्रोटोकल बनाएका छन् । तैपनि विमानस्थलमा अनावश्यक भीड नहोस्, स्वास्थ्य प्रोटोकल पालना होस् भनेर ज्वरो नाप्नेदेखि स्यानिटाइजेशन गर्ने तथा सुरक्षाका सबै उपाय अवलम्बन गरिनेछ,’ उनले बताए ।

मन्त्रालयले प्राधिकरणलाई दिएको निर्देशनमा उडान हुनु ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट भएका यात्रुहरू मात्र ल्याउन पाइने, वायुसेवाले पीसीआर नेगेटिभ भएको सुनिश्चित गरेर मात्र बोर्डिङ पास उपलब्ध गराउनुपर्ने लगायत विभिन्न १२ शर्तहरू छन् ।

यसमा प्राधिकरणले पनि आवश्यक शर्त थपेर वायुसेवा कम्पनीलाई निर्देशन दिन सक्छ । सरकारको निर्णय अनुसार पीसीआर परीक्षण सहज भएका मुलुक तथा शहरबाट मात्रै नियमित उडान हुने आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

source : Reporters nepal


You can share this post!