अमेरिकाले अब सी जिनपिङलाई चीनको राष्ट्रपति नमान्ने !

अमेरिका र चीनबिच तनाव बढ्दै गएका बेला अब अमेरिकाले सी जिनपिङलाई चीनको राष्ट्रपति नमान्ने भएको छ ।  औपचारिकरुपमा नै सिलाई ‘राष्ट्रपति ’ को मान्यता नदिने तयारीस्वरुप अमेरिकी संसदमा एउटा विधेयक नै दर्ता भएको छ । 

अन्तर्राष्ट्रिय समाचार सस्थाहरुका अनुसार यदि अमेरिकी संसदले सो विधेयक पारित गर्‍यो भने विश्वका यी दुई महाशक्ति राष्ट्रहरूबिचको तनावले नयाँ गति लिनेछ । 

हङकङबाट प्रकाशित हुने साउथ चाइना मनिङ पोस्ट नामक पत्रिकाका अनुसार ‘शत्रुको नामबारेको ऐन’ नामक सो विधेयकमा अमेरिकाले आधिकारिकरुपमा चिनियाँ राष्ट्र प्रमुख सिलाई राष्ट्रपति भन्न प्रतिबन्ध लगाउने कुरा उल्लेख छ । 

यदि, सो विधेयक पारित भएमा चिनियाँ कम्युनिस्ट पाटीका प्रमुख रहेका सी जिनपिङलाई कुनै पनि अमेरिकी सरकारी कागजातमा चीनको राष्ट्रपति भनेर सम्बोधन गर्न पाइने छैन । 

अहिले सी जिनपिङले चीनको राष्ट्र प्रमुख, राष्ट्रिय अध्यक्ष, चिनियाँ कम्युनिस्ट पाटीको अध्यक्ष तथा महासचिव जस्ता पदहरू ग्रहण गरिरहेका छन् । यी मध्ये कुनै पनि पदले उनी चीनको राष्ट्रपति भएको नजनाउने तर्क अमेरिकीहरूको रहेको देखिन्छ । 

त्यसो त अमेरिकीहरूको के पनि भनाई छ भने सी जिनपिङ चीनका निर्वाचित राष्ट्रपति नभएका कारण पनि उनलाई अन्तर्राष्ट्रिय रूपमा सो शब्दद्वारा सम्बोधन गर्न मिल्दैन । 

संसदमा पेस भएको सो विधेयकमा लेखिएको छ, ‘जनवादी गणतन्त्र चीनका राष्ट्रप्रमुखलाई “राष्ट्रपति” शब्दद्वारा सम्बोधन गर्नु गलत हुन्छ । किनकि त्यहाँका जनताहरूले लोकतान्त्रिक र वैधानिक विधिबाट आफूलाई शासन गर्ने शासक छनौट गरेका होइनन् ।’
तर, अमेरिकी यो भनाई पनि किन बलियो छैन भने विश्वमा धेरै अन्य मुलुकहरू पनि छन् जसमा त्यहाँका राष्ट्रपति निर्वाचन प्रक्रियाद्वारा छनौट भएर आएका होइनन् । 

अमेरिकाको पेन्सिभानियाका रिपब्लिकन तर्फका प्रतिनिधि स्कटपेरीले प्रस्तुत गरेको यो कानुनले चीनका राष्ट्रप्रमुखलाई राष्ट्रपति भन्ने सम्बोधन सहित कुनै पनि प्रकारका आधिकारिक र औपचारिक कागजातमा प्रस्तुत गर्न वा सो सम्बोधन सहित सञ्चार गर्न समेत रोक लगाउँछ । 

यसअघि नै अमेरिकी विदेश मन्त्री माइक पम्पिओ लगायत अमेरिकी सरकारका महत्त्वपूर्ण मन्त्रीहरूले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई ‘राष्ट्रपति’को सट्टा ‘महासचिव’ भन्न रुचाउँदै आएका थिए । गत मे महिनामा नै वासिङ्टनले रणनीतिक रूपमा सी लाई उनको पार्टीले दिएको पदको आधारमा सम्बोधन गर्ने काम सुरु गरिसकेको थियो ।   

source :aarthiknews.com

You can share this post!