देशभर रगत सकियो, रक्तदान गर्न आउनुस्ः रेडक्रस

काठमाडौं, भदौं ७ । लामो समयको बन्दाबन्दी र निषेधाज्ञा जस्ता कारणले गर्दा देशैभर रगत अभाव भएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।

कोरोना भाइरसका कारण गरिएको लकडाउनले रक्तदान हुन नसक्दा रगत अभाव भएको रेडक्रसले जनाएको हो ।

केन्द्रीय रक्तसञ्चार सेवालगायत धेरैजसो रक्तसञ्चार केन्द्रहरुमा न्यून मात्रामा रगत मौज्दात रहेको भन्दै रेडक्रसले रक्तदानका लागि सम्पूर्णमा अपील गरेको छ ।

केन्द्रीय रक्तसञ्चार सेवाकाअनुसार रक्तदानका लागि बुक गरिएका अधिकांश क्याम्पहरु निषेधाज्ञाका कारण स्थगित भएका छन् ।

रगतको अभाव हुँदा दुर्घटनामा पर्ने, रक्तश्राव भएका, प्रसूति, मुटु, क्यान्सर तथा मिर्गौला विरामी, थालसेमिया, हेमोफिलिया, आकस्मिक शल्यक्रिया गर्नुपर्ने विरामीहरु मर्कामा परेका छन् ।

रगत खोज्दै केन्द्रीय रक्तसञ्चार केन्द्रमा मानिसहरु पुगे पनि पर्याप्त रगत आपूर्ति गर्न नसकिएको सेवाका निर्देशक पवन गुप्ताले सञ्चारमाध्यमलाई जानकारी दिनुभएको छ ।

काठमाडौंका अतिरिक्त धरान, विराटनगर, चितवनलगायत स्थानमा पनि रगत अभाव भएको रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताउनुभयो ।

अधिकांश ठाउँमा निषेधाज्ञा लागेको र आसपासका जिल्लाहरुबाट पहिलेजस्तो सहयोग हुनसक्ने परिस्थिति नरहेको पनि बताइएको छ ।

सुरक्षित तवरले रक्तदान गर्दा वा गराउँदा कोभिड–१९ को जोखिम नरहने विश्व स्वास्थ्य संगठनले यसअघि नै स्पष्ट पारिसकेको भन्दै रेडक्रसले रक्तदानका लागि आह्वान गरेको छ ।

source : imagekhabar.com

You can share this post!