कविता
नमिता दवाडी
मेरी छोरीलाई म,
खुला आकाश मुनिको
बिराट सत्यलाई दर्शक राखेर,
भित्र्याउन चाहन्छु म भित्र,
जसरी एउटी पोथी हरिणले गर्छे,
अनि जसरी गर्नुहुन्थ्यो ढुङे युगकी हजुरआमाले ।।
अन्धकार रातमा, बन्द कोठरीमा,
सृष्टिको चाहना भन्दा बढी,
बासनाको गुलाम भएर
म भित्र्याऊँ
मेरी छोरीलाई म भित्र ? यो हुन सक्दैन !
जीवनले जीवन जन्माउने खुसी नाप्न सकिन्छ र ?
मेरो यो अनुपम प्राप्ति,
म फल जन्माउने रुखमा झुन्डिएर,
नदी जन्माउने हिमाल,
गुराँस जन्माउने पहाड,
यी सबलाई प्रसब र प्राप्तिका साक्षी राखेर,
थाप्न चाहन्छु काख,
अनि टाँस्न चाहन्छु छातीमा मेरो त्यो नबजात !
जीवन र सम्बेदना भन्दा कोशौँ पर,
अस्पतालको चिसो सैयामा
जन्माईरहँदा को होला उनको स्वागतार्थ !
धडक धडक धड्कीरहेको मेरो मुटु बाहेक ।।
किमार्थ स्विकार्य छैन !
यो मुद्दामा कसैले हार्नै पर्छ,
श्रीमान !
कि यी सबलाई अश्लील देख्ने दोषी आँखाहरु
नजरबन्दमा राखियोस् ,
अन्यथा ,
मलाई अराजक र अश्लील बनेको आरोपमा युग
निकाला गरियोस्
र खेदियोस् आलेखमा जिवित ढुङ्गे युगमा ।।
मलाई जंगली आमा हुन मन्जुर छ ।