दुई वर्षमा कोरोना भाइरसको महामारी नियन्त्रणमा आउने डब्ल्युएचओको विश्वास

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दुई वर्षमा कोरोना भाइरसको महामारी नियन्त्रणमा आउने अपेक्षा गरेको छ ।

डब्ल्युएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले कोरोना भाइरसको महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने आशा बढेको जनाएका छन् ।

सन् १९१८ मा स्पेनिस फ्लूको महामारी नियन्त्रणमा आउन दुई वर्ष लागेको स्मरण गर्दै उनले कोरोना भाइरसको सवालमा पनि सोही अपेक्षा गर्न सकिने बताएका हुन् ।

तर, अहिले रहेको प्राविधिक सक्षमताले कम समयमै भाइरस नियन्त्रणमा लिन पनि सकिने उनले बताएका छन् ।

‘पक्कै पनि भाइरस थप फैलिने सम्भावना छ । तर, हामीसँग प्रविधि छ, जसले भाइरसको संक्रमणलाई रोक्न पनि सकिन्छ,’ जेनेभा भएको पत्रकार सम्मेलनमा उनले भने ।

कोरोना भाइरसविरुद्धको अभियानमा सफलता पाउनका लागि राष्ट्रिय एकता र विश्वव्यापी सहकार्य अत्यावश्यक रहेको उनले बताए ।

You can share this post!