अहिले ज्यान बचाऔँ, अर्को वर्ष मनाउँला तिज

कोरोनाका कारण घरभित्रै बस्नुपर्ने अवस्था आएपछि यस वर्षको तिजमा महिलाहरू न माइती जान पाए, न मन्दिर नै, सामाजिक दूरी कायम गरेर घरमै तिज मनाउँदै 

कोरोना भाइरस (कोभिड–१९) का कारण मुलुक यति बेला आक्रान्त छ । बढ्दो संक्रमणले गर्दा झन्डैझन्डै पूरै देश लकडाउनको अवस्थामा छ । संक्रमितको संख्या साढे २९ हजार नाघिसकेको छ । जसका कारण अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । काठमाडौं उपत्यकामा समेत कडा निषेधाज्ञा छ । अत्यावश्यक कामबाहेक मानिसहरू बाहिर निस्कन पाएका छैनन् । यस्तो अवस्थामा शुक्रबार हिन्दू नारीहरूले तिज पर्व मनाउँदै छन् । 

कोरोनाले गर्दा यस वर्ष तिजको रौनक पहिलाजस्तो छैन । महिलाले माइती, आफन्त, साथीसंगी सबैसँग भेटघाट बन्द गरिदिएको छ । यस वर्ष सबैले घरमै बसेर तिज मनाउने भएका छन् । कोभिडको असर हुँदैन थियो भने आजको दिन तिजको रौनक नै अर्कै हुने थियो । कन्सर्ट, इभेन्ट सबै रोकिएका छन् । पशुपतिनाथ मन्दिरका साथै देशभरका शिवालय सुनसान छन् । यसपटकको तिजमा व्रतालुहरूले मन्दिरमा पूजा गर्न जाने छैनन् । साथीसंगीसँग रमाइलो गर्न पाउने छैनन् । कोरोना महामारीका कारण सामाजिक दूरी कायम गर्नुपर्ने, अनिवार्य मास्क लगाउनुपर्ने अवस्था छ। 

                                                                                         …..

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा धर्ममा निकै आस्था राख्छिन् । उनले तिजमा व्रत बसेको नै २६ वर्ष पुगिसक्यो । सुरुवाती वर्षमा निराहार व्रत बस्ने गरेको उनी बताउँछिन् । तर, अचेल भने साँझ बत्ती बालेपछि फलफूल खाने गर्छिन् । व्रत बस्दा मन्दिर जान्थिन्, पूजाआजा गर्थिन् । घरमै पण्डित बोलाएर पूजा लगाउँथिन् । ‘यसपटक भने कोभिड महामारीले बाहिर निस्कन पाइँदैन । तिजमा परिवार, इष्टमित्र, साथीहरू जमघट भएर दर खाने रमाइलो गर्ने गरिन्थ्यो,’ अघिल्ला वर्षहरू सम्झँदै उनी भन्छिन्, ‘यसपटक सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले कसैलाई पनि बोलाएर जघमट गर्ने कुरा भएन । गत वर्ष अरूले गरेका तिजका कार्यक्रममा पनि गइन्थ्यो र म आफैँले पनि आफन्त र साथीहरू बोलाउँथे ।’

यो वर्षको तिज आफू मात्रै होइन, हिन्दू नारीहरूका लागि खल्लो भएको राणा बताउँछिन् । बाहिर निस्कने अवस्था छैन । घरमै परिवारसँग बस्नुको विकल्प छैन । घरमै बत्ती बालेर, व्रत बसेर शिवजीको पूजा गरेर बस्ने योजनामा छिन् उनी । उनलाई तिजमा आफन्त र साथीहरूबीच ‘गेट टुगेदर’ गरेर रमाइलो गर्न खुब मन पथ्र्यो । तिजमा चुरा, सारी किनेर गिफ्ट दिने पनि गर्थिन् । आफ्ना लागि पूजाका सामग्री किन्थिन् । तर, यस वर्ष केही पनि गर्न पाइनन् । भन्छिन्, ‘त्यो हिसाबले यस वर्षको तिज निकै खल्लो भयो ।’

होटेल संघ नेपालकी अध्यक्ष तथा अन्नपूर्ण होटेलकी प्रबन्ध निर्देशक सिर्जना राणा विवाहअघिदेखि नै व्रत बस्दै आएकी थिइन् । पछिल्लो ५–६ वर्षयता भने स्वास्थ्यका कारण व्रत बसेको दिन साँझ फलफूल, पानी, जुस पिउने गरेकी छिन् । राणा तिजको व्रत बस्न थालेकै ३२ वर्ष भइसक्यो । आफूलाई पहिल्यैदेखि व्रत बस्न मन लाग्ने उनी बताउँछिन् । तिजमा शिवको पूजा गर्छिन् । 

अघिल्ला वर्षहरूमा तिज उनलाई खुब रमाइलो लाग्थ्यो । तिजका विभिन्न कार्यक्रममा सरिक हुनु, घरमा आफैँले जमघट कार्यक्रम राख्नु, साथीभाइ, आफन्त बोलाएर रमाइलो गर्नु तिज पर्वमा उनले रमाइलो गर्ने तालिकाजस्तै थियो । तर, यस वर्ष तिज फरक भइदियो । ‘कोभिडका कारण बाहिर निस्कन, जमघट गर्न नहुने भएपछि रमाइलो पर्व तिज अलि खल्लो त भएको छ । तर पनि ज्यानभन्दा ठूलो त केही छैन । ‘पहिला ज्यान जोगाउनुपर्‍यो,’ राणा चित्त बुझाउँदै भन्छिन्, ‘रमाइलो त अर्को वर्ष पनि गरौँला नि । हामी कोही पनि ज्यान जोखिममा राखेर पर्व मनाउन हुँदैन । जमघट गर्न हुँदैन ।’ राणा पूजाआजामा निकै आस्था राख्छिन् । तर, यसपटक पूजा लगाउन पण्डितले आउन नसक्ने बताएका छन् । योपटक तिजमा साथीभाइ, दिदीबहिनी र आफन्तहरू भेटघाट गर्न सकिने अवस्था पनि छैन । ‘सुरक्षा सबैभन्दा जरुरी हो । पछिल्ला वर्षमा तिजमा बिरामी पर्ने गरी खाने चलन बढ्दै थियो । एक महिनादेखि नै दर खाने चलन थियो,’ भन्छिन्, ‘योपटक ग्यादरिङ भएन, हेल्थ पनि स्वस्थ रहने भयो ।’ 

मेगा बैंककी सिइओ अनुपमा खुञ्जेली कोभिडका कारण यस वर्षको तिजको रौनकता हराएको बताउँछिन् । उनी भन्छिन्, ‘अघिल्ला वर्षहरूमा तिजको रौनक नै अर्कै हुन्थ्यो । घरमा फेमिली ग्यादेरिङ हुन्थ्यो । दिदीबहिनी भेट हुन्थ्यो । माइती गइन्थ्यो । म प्रायः तिजको दिनसम्म घरमै हुन्थेँ, घरमै जमघट हुन्थ्यो । मिठो परिकार बनाएर खाने, मन्दिरमा जाने गरिन्थ्यो । तिजको अर्को दिन पञ्चमी मनाउन माइती जान्थेँ ।’

घरमा पण्डित बोलाएर पूजा गर्ने अवस्थासमेत नरहेको उनको भनाइ छ । ‘अझ यही समयमा सरकारले निषेधाज्ञा लगाएको छ । घरभित्रै बस्नुपर्ने हुन्छ । बाहिर निस्कने, जमघट गर्ने कुरा पनि भएन । कोभिडबाट बच्न सामाजिक दूरी कायम गर्नुपर्छ,’ उनी भन्छिन्, ‘म तिजमा व्रत बस्छु । शिवजीको पूजा गर्छु । पहिला निराहार पनि व्रत बसिन्थ्यो । अब उमेरले पनि होला, साँझ पूजा गरिसकेपछि फलफूल र काँडापानी खाने गरेकी छु ।’ गत वर्ष आफैंले घरमा आफन्त बोलाएर दर खुवाएको उनले स्मरण गरिन् । ‘यो पटक जमघट र दर खाने कार्यक्रम गर्न पाइएन ।’

                                                                                   ……

गत वर्ष गायिका सुनिता दुलाल तिजको अवसरमा जापान गएकी थिइन् । त्यहाँ कन्सर्ट थियो, खुबै रमाइलो गरिन् । सुनिताले जापानमा बस्ने नेपाली दिदीबहिनीसँग बसेर तिज मनाइन् । तर, यस वर्ष त्यसको ठीकविपरीत भइदियो । यसपटक घरमै बसेर तिज मनाउने योजनामा छिन् उनी । काठमाडौं उपत्यकामा निषेधाज्ञा छ । बाहिर निस्कने सम्भावना पनि छैन । पशुपतिनाथ मन्दिर बन्द छ । विदेशमा रहेका दर्शक श्रोतासँग जुममार्फत जोडिँदै छिन् । यसपटक तिजमा उनले ‘जुममा हेरेर…’ बोलको गीत पनि ल्याएकी छिन् । भन्छिन्, ‘एक तरिकाले कन्सर्टजस्तै नै हो यो ।’ प्रायः हरेक तिजमा व्रत पनि बस्ने गर्थिन् उनी । यसपटक पनि व्रत बस्ने योजना रहेको उनले सुनाइन् । आफ्नै स्वास्थ्यको कामना गर्दै सुरक्षित ढंगले व्रत बस्ने योजना रहेको उनी बताउँछिन् ।

अभिनेत्री बेनिशा हमालको पनि अवस्था उस्तै नै छ । सरकारको आदेशको आज्ञापालन गरेर बस्नुको विकल्पै नरहेको बताउँछिन् । तिजका दिन आफन्तसँग भर्चुअल कुराकानी गर्ने, साथीभाइलाई ग्रुपच्याटतिर या व्यक्तिगत रूपमा शुभकामना दिने योजनामा छिन् उनी । ‘तिज मात्र होइन, दसैँको पनि अवस्था उस्तै होला । कत्तिलाई बुबालाई भेट्ने अवसर पनि मिलेन होला,’ बेनिशा भन्छिन्, ‘यसपटक तिज मान्न पाइएनभन्दा पनि यो समय कसरी सुरक्षित रहने भन्ने कुरा नै ठूलो हो । घरमै बसेर पूजाआजा गरिन्छ । जति सकिन्छ घरमै बसेर रमाइलो गर्नुबाहेक अरू विकल्प छैन ।’

बेनिशाले अहिलेसम्म एकपटक मात्र व्रत बसेकी छिन तिजको । त्यो पनि साथीभाइको लहैलहैमा लागेर । तर, उनलाई साँचो मनले भगवान्लाई पुुकारेपछि व्रतै बसिरहनुपर्छ भन्ने लाग्दैन । यसपटक उनी गत वर्षको तिज खुब सम्झिरहेकी छिन् । गत वर्ष दर खाने कार्यक्रम भएका थिए । पशुपतिनाथ मन्दिर पनि गएकी थिइन् । तर, लाइनमा बसिनन्, बाहिरैबाट पशुपतिको दर्शन गरेर घर फर्किन् । नायिका रिमा विश्वकर्माले दरखाने कार्यक्रम राखेकी थिइन् । रिमाकहाँ गएर खुबै रमाइलो गरेको उनले सुनाइन् । भन्छिन्, ‘यसपटक त अवस्था त्यस्तो छैन । गत वर्षको तिजलाई खुब मिस गरिरहेकी छु ।’

गायिका मेलिना राई हरेक वर्ष तिज गीत गाउँछिन् । विशेष गरेर सुगम संगीतमा जमेकी यी गायिकालाई तिज गीत गाउने अफर आइरहन्छन् । यस वर्ष पनि तीनवटा गीत गाइन् । दुईवटा रिलिज भइसके, एउटा भएको छैन । मेलिनालाई तिज गीत गाउँदा छुट्टै किसिमको मीठो अनुभूति हुने गर्छ । तिज गीतमा हुने कथाहरूले उनलाई खुब तान्छन् । ‘तर, तिजैचाहिँ मनाउने गरेकी छैन । सानैदेखि मनाइएन, त्यही भएर पनि होला,’ उनी भन्छिन्, ‘घरमै बसेर साथीभाइ, आफन्तसँग रमाइलो गर्ने गरेकी छु ।’

source : nayapatrikadaily

You can share this post!