सरस्वती चौलागाईं
ए हजुर !
सुनिदिनुस् न ।
बर्षौदेखी गुम्सिएको कुरा बोल्न मन छ आज ।
रहस्य र जालझेल बिचको सत्य ओकल्न
मन छ आज ।
कुरा केही बर्षदेखिको थियो यो ।
ऊ पटकपटक मेरो बाटो कुरिरह्यो ।
ऊ गल्लि गल्लीमा पर्खी बस्यो मलाई ।
ऊ कलेजको बाटो धाइरह्यो ।
उसले बारम्बार साथीसँग सोधिरह्यो
…कि कस्तो छ उनलाई ?
आखिर यो सब किन ?
ऊ एकतर्फी प्रेम गर्थ्यो अरे मलाई
मेरो सुन्दरतामा फिदा थियो अरे ऊ ।
उसले मलाई प्रेम प्रस्ताव नराखेको पनि होइन ।
एकदिन उसले `Surprise´ छ भन्दै बोलायो ।
सधैं खिस्स हाँस्दै आउने ऊ
आज नयाँ तरिकाले आयो ।
एउटा हातमा रातो गुलाफ अनि अर्कोमा
झट्ट हेर्दा पानी जस्तै देखिने तरल लिएर आयो ।
त्यो फूल मलाई दिदै,
उसले पुनः प्रेम प्रस्ताव राख्यो ।
उसले कहिल्यै मायाको महसुस दिलाएन ।
केवल प्रस्ताव मात्र गरिरह्यो ।
प्रस्ताव पश्चात् हुने त सम्झौता न हो ।
सायद ऊ सम्झौता चाहन्थ्यो म बाट ।
तर
तर मैले सहजै अस्विकार गरेँ ।
मेरो इन्कार देखेर ।
उसले त्यो भरिएको बोतलको बिर्को खोल्यो
र मेरो मुखमा छ्यापिदियो ।
आगोले पोले जस्तै डाह भयो र म चिच्याएँ ।
अनायसै ममाथी आकश खसेझैँ लाग्यो,
म बेहोसिएँ ।
पछि हातले अनुहार स्पर्श गरेँ ।
अनुहार त एउटै थुप्रो पो भएछ ।
अनि थाहा पाएँ त्यो भरी बोतल एसिडको रहेछ ।
यो दु:खद समाचारले मेरि आमा ढलिन्
बुबाको सपनाहरू ढले ।
मेरो हालत देखेर ऊ यति खुसी थियो ।
सायद त्यति खुसी उसको पहिलो आगमनमा
ती आमा पनि थिइनन् होला ।
अचेल कसैले सोध्दा चिन्दिनँ भन्छ रे ऊ
अरे ! चिनेनौ मलाई ?
म तिनै सिमा र संगीता,
जसलाई प्रेम प्रस्ताव अस्वीकारेकै कारण
तेजाबको सिकार बनायौ तिमीले ।
म त्यही मुस्कान,
जसको मुस्कान लुटिदियौ तिमीले ।
अनि म त्यही पवित्रा,
जसको मुहारमा कहिल्यै नामेट नहुने
दाग लगायौ तिमीले ।
ए हजुर! कतिन्जेल चल्छ यसरी ?
कतिको मुहार जलाउछौ ?
अब त अत्ति भो !
बरु सट्टामा त्यो नारी दिवस पनि तिमीलाई ।
तिमिलाई बाबू बन्ने श्रेय दिएकोमा घमण्ड गर्दिन
म ।
बरु त्यो प्रसवा पीडा पनि सहजै स्वीकार्छु म ।
तर मेरो मुहार नजलाइदेऊ ।
मलाई यो सुन्दर अनुहारको खुब माया लाग्छ ।
त्यसैले,
तिमी सबैको प्रेम प्रस्ताव स्विकार गर्छु अब ।
अनुहार बचाउनैको लागी भए पनि
सयौंको प्रेमिका बन्न तयार छु म ।
तर मलाई `Play Girl´ को संज्ञा नदेऊ ।
ए हजुर !
सुन्दरता रुचाउन्नन् ती नयन भने
परेली बन्द गर ।
तर बिन्ती छ
कसैको सुन्दरतामा एसिड नछर ।