जोशीको घरमा किन चल्यो सिडिओको डोजर ?

लोकेश साउद
बैतडी – प्रमुख जिल्ला अधिकारी (सिडिओ)को निर्देशनमा प्रहरीले मेलौली नगरपालिका–२ सलेनाका लोकराज जोशीको पक्की घर डोजर चलाएर भत्काएको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले सार्वजनिक जग्गा मिचेर घर निर्माण गरेको भन्दै जोशीको घर भत्काउन प्रहरीलाई निर्देशन दिएका थिए ।

सिडिओको निर्देशन लगत्तै मेलौली प्रहरी चौकीबाटा प्रहरी नायब निरीक्षक जनसिंह धामीको नेतृत्वको टोली डोजर लिएर जोशीको घरमा पुग्यो । बिहान ९ नबज्दै पुगेको प्रहरीले ३ घण्टामै घर भत्काएर फर्किएको थियो ।

सिडिओको निर्देशन अनुसार नगरपालिकाको डोजरले ३ घण्टामै सार्वजनिक जग्गामा बनेको जोशीको घर भत्काएर फर्किएको मेलौली प्रहरी चौकी इन्चार्ज धामीले जानकारी दिए ।

यसकारण भत्काइयो जोशीको घर
लोकराज जोशीले सार्वजनिक जग्गामा घर बनाएको विषयमा बेला बेला स्थानीयबीच विवाद हुदै आएको थियो । सोहि विषयमा स्थानीयले २०६९ मा अदालतमा उजुरी पर्यो । स्थानीय र जोशी परिवारको संघर्ष पुनरावेदन अदालत हुँदै सर्वोच्चसम्म पुगेपछि २०७५ माघ २७ गते सर्वोच्च अदालतले घर भत्काउनुपर्ने फैसला गरेको थियो । सोहि फैसला कार्यान्वयन गर्दै बैतडी प्रशासनले उनको घर भत्काएको हो ।

जोही विरुद्ध उजुरी परेको ८ वर्षमा बैतडीमा ११ जना प्रमुख जिल्ला अधिकारी फेरिए । ंतर दुई महिना अघि सुरुवा भएका आएका सिडिओ मोहनराज जोशीले भने ‘एक्सन’मै गएर घर भत्काउने हिम्मत गरेका हुन् । २०६९ मा घर भत्काउन माग गर्दै जोशी विरुद्ध उजुरी दर्ता हुँदा सिसडओमा गोबिन्दमणी भुर्तेल थिए । सर्वोच्चको फैसला आएयता पनि बैतडीले तीन जना सिडिओ पायो । तर अरु सिडियोले जोशीको घर भत्काउने आँट नगरेपनि मोहनराज जोशीले भने आइतबार जोशीको घर भत्काउन निर्देशन दिए ।

यसरी बन्यो सार्वजनिक जग्गामा घर
साबिकको सलेना गाविस–३ मा सार्वजनिक गौचर जमिन तत्कालिन जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति लोकराज जोशीले ६ कोठाको पक्की घर बनाएका थिए । उनले कित्ता नं. ७१ मा २०६५ सार्वजनिक जग्गामा पक्की घर बनाएका हुन । उनको घरलाई सलेना–मेलौली सडक निर्माण गरिरहेको विकेन्द्रित ग्रामिण पूर्वाधार तथा जिविकोपार्जन परियोजना (ड्रिलिप)ले पाँच वर्षका लागि मासिक १० हजार भाडामा लिएको थियो ।

को हुन लोकराज जोशी ?
आइतबार प्रशासनले भत्काएको घरका घरधनी लोकराज धर्मघर मावि सेलेनाका शिक्षक हुन । उनले सार्वजनिक जग्गामा घर बनाएपनि सो घरमा उनका भाई नारायण जोशी बस्दै आएका थिए । तर उनले पनि केहि समय अघि घर छोडेर गएको प्रहरीले जनाएको छ । उनका भाई नारायण पनि धर्मघर माविकै शिक्षक हुन् ।

ज्यान मार्ने धम्की
यता, प्रशासनले घर भत्काएसँगै नारायणले सामाजिक संजाल फेसबुक माफर्त ज्यान मार्ने धम्की दिएका छन् । उनले आफ्नो घर भत्काउने विरुद्ध उजुरी हाल्ने र ६ महिना भित्र मार्ने धम्की दिएको स्थानीय दिपेन्द्र चन्दले बताए । उनले आफूलाई ज्यानमार्ने धम्की आएकाले ज्यानको सुरक्षा गरिपाउँ भन्दै प्रशासनमा निवेदन दिएको बताए । उनले भने ‘६ महिनाभित्र भारतबाट सुटर मगाएर मार्छु । डोजर चलाउने पनि छ महिना मात्र बाँच्नेछ भन्दै सामाजिक संजालमार्फत धम्की दिएको छ ।’

स्थानीय र प्रशासनको घर भत्काउने संघर्ष
सार्वजनिक जग्गा मिचेर घर निर्माण गरेको भन्दै २०६९ जेठ १७ गते स्थानीय दिपेन्द्र चन्द लगायत २६ जनाले जिल्ला प्रशासन कार्यालय बैतडीमा उजुरी गरेका थिए । त्यसपछि २०७१ सालमा तत्कालिन प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले सार्वजनिक जग्गामा बनेको घरलाई भत्काउनुभन्दा प्रहरी चौकी राख्ने निर्णय गरे । प्रशासनको निर्णयपछि २०७१ भदौमा सोहि घरमा प्रहरी चौकी बस्यो । लोकराज जोशी, उनका भाई नारायण जोशी र काका भवानीदत्त जोशीले चौकी बसेको एक हप्तामै पुनराबेदन अदालत महेन्द्रनगरमा रिट दर्ता गराए । अदालतले अन्तरिम आदेश जारी गर्दै चौकी हटाएर निवेदकलाई पुर्नवहाली गर्न परमादेश जारी ग¥यो । साथै, अदालतले तत्कालिन सिडिओलाई १५ दिन भित्र लिखित जवाफ पेश गर्न आदेश दियो । अदालतको आदेशपछि प्रहरी चौकी समेत त्यहाँबाट हटाइयो । तर, अदालतले पठाएको अमिनले सो घर सावर्जनिक जमिनमै परेको निष्कर्ष निकालेसँगै २०७१ चैत ११ गते उक्त रिट खारेज भएको थियो ।

अदालतले रिट खारेज गरेपछि जोशी परिवार सिडिओलाई विपक्षी बनाई सर्वोच्च अदालत पुग्यो । सर्वोच्चले समेत २०७५ माघ २७ मा पुनरावेदनको फैसला सदर गर्दै सिडिओकै पक्षमा फैसला सुनाएको थियो ।

source : mahendranagarpost

You can share this post!