खाल्डोमा डुबेर दुई बालकको मृत्यु

पानी जमेको खाल्डोमा डुबेर दुई बालकको मृत्यु भएको छ । जिल्लाको देहीमान्डौं -गिरेगडा सडकखण्डअन्तर्गत दशरथचन्द नगरपालिका २ सुन्दरखालीमा ह्युम पाइप राख्नका लागि बनाइएको खाल्डोमा डुबेर देहीमान्डौका १४ वर्षीय अंकित लाबड र ११ वर्षीय सन्दीप लावडको मृत्यु भएको हो । 

खेल्ने क्रममा सोमबार दिउँसो साढे चार बजेतिर खाल्डोमा डुबेर दुवैजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खेल्नका लागि सडकमा जम्मा भएका ५÷६ जनामध्ये एकजना पहिला खाल्डोमा गएको र उसलाई निकाल्न अर्कोले पनि हाम फाल्दा दुवैजना खाल्डोमा डुबेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । 

दुवैजना खाल्डोमा डुबेपछि अन्य बालबालिकाले घरपरिवारलाई खबर गरेपछि घटनाका बारेमा थाहा भएको उनले बताए ।  घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

सडकमा ह्युम पाइप राख्नका लागि बनाइएको खाल्डोमा दुईजना बालकको डुबेर ज्यान गएपछि प्रहरीले सो खाल्डो तत्काल पुर्न निर्माण व्यवसायीलाई आग्रह गरेको छ । देहीमान्डौं -गिरेगडा सडक स्तरोन्नतीको काम भइरहेकाले चाँडो पाइप राख्न आग्रह गरिएको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए । 

एकै गाउँका दुई बालकको खाल्डोमा डुबेर ज्यान गएपछि पुरै गाउँ शोकमग्न भएको दशरथचन्द नगरपालिका २ का वडा अध्यक्ष रनबहादुर बोहराले जानकारी दिए।

source : annapurnapost

You can share this post!